arthik abhiyan
ad banner

नेपालमा सुरुङमार्गको युग 

Oct 22, 2019 
सम्पादकीय
NA

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । ‘नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजना’ को शिलान्यास गर्दै प्रधानमन्त्रीले समयमा नै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । योजना अनुसार काम सम्पन्न भए यो नेपालको पहिलो सुरुङ मार्ग हुनेछ किनभने हेटौंडामा राणा कालमा बनेको शुरू मार्ग धेरै दशकदेखि बन्द छ । 

सोमवार शिलान्यास भए पनि नागढुंगा–नौबीसे सुरुङ मार्ग बनाउने काम भने मङ्सिरदेखि मात्र शुरू हुने आयोजनाले जनाएको छ । अहिले ठेकेदार कम्पनीले क्याम्प बनाउने, उपकरणहरू जुटाउने आदि काम गर्न थालेको छ । चिनिया राष्ट्रपति सी चिनफिङको भ्रमणका बेलामा रसुवागढी–काठमाडौंको सडक यातायातलाई छोट्याउन सुरुङ मार्ग बनाउनेबारे सम्झौता भएको छ । त्यस्तै सरकारले पोखराको हेम्जा–नयाँ पुल, नवलपरासीको दाउन्ने, बीपी रागमार्गमा पर्ने खुर्कोट–सिन्धुली बजार, सिद्धार्थ राजमार्गको सिद्धबाबा आदि स्थानमा पनि सुरुङ मार्ग बनाउने बारेमा अध्ययन शुरू गरेको छ । प्रधानमन्त्रीले भनेझैं फटाफट काम हुने हो भने नेपालमा थुप्रै सुरुङ मार्ग बन्ने सम्भावना बढेको छ । 

चीनका राष्ट्रपतिले सुरुङमार्ग विषयको अध्ययन र तालीमका लागि सहयोग गर्ने बताएका छन् । त्यस्तै उच्च प्रविधिको सुरुङ खन्ने मेशिन समेत नेपाल भित्रिइसकेको छ । यसरी नेपालको प्राविधिक क्षमता बढ्दै गएको देखिन्छ ।

हुन त ७ वर्षअगाडि पनि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले नागढुंगा–नौबीसे सुरुङ मार्ग निर्माणको शिलान्यास गरिसकेका थिए । तर, अहिलेसम्म निर्माणको काम थालनी भएन । अब भने ठेक्का पनि लागिसकेको र अन्य आयोजनामा राम्रो काम गरेको हाज्मा कम्पनीले कामको जिम्मा लिएकाले निर्धारित समय अर्थात् साढे ३ वर्षमा यो निर्माण सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ । हो, जग्गा अधिग्रहण लगायत केही सानातिना समस्या अझै पनि नभएका भने होइनन्  । 

नेपालजस्तो अग्ला र भिराला पहाड भएको मुलुकमा सुरुङ मार्गको आवश्यकता बढी नै छ । सुरुङ मार्ग दिगो हुन्छ । सतहको सडकभन्दा यो छोटो हुन्छ । त्यस्तै सुरुङ मार्गले वातावरण प्रदूषण कम गराउन मद्दत पुर्‍याउँछ । पहिरोको जोखिम पनि हुँदैन । साथै भूकम्पीय तरङगहरुको असर सतहमा भन्दा सुरुङभित्र कम हुन्छ भन्ने  भूगर्भविद्हरूको भनाइ पाइन्छ । मानव बस्ती भएको ठाउँमा हुने भीडभाडले हुने अवरोध सुरुङ मार्गमा हुँदैन । पेट्रोलिमयको खपत कम गराउनुका साथै गाडीको इन्जिन पनि टिकाउ हुन्छ । त्यतिमात्र होइन, जग्गा अधिग्रहणमा आउने समस्या पनि यसमा कम हुन्छ । पुरातात्विक र संरक्षित क्षेत्रमा यसले कुनै असर पार्दैन । दूरी घटाएर समयको बचत पनि गर्छ ।

यी सबै भए पनि नेपालमा सुरुङ मार्ग बनाउन निकै चुनौती छ भन्ने कुरा त हेटौंडा–काठमाडौं सुरुङ मार्ग निर्माणमा देखिएको अन्योलले नै बताउँछ । निजीक्षेत्रले निर्माण गर्न आँटेको यस सुरुङ मार्गको पनि शिलान्यास गरिएको थियो तर लगानी जुटाउन सकेन । अहिले प्रदेश सरकारले यसको निर्माणमा चासो दिएको छ । 

पछिल्लो समय थोरै भए पनि सुरुङमार्ग निर्माणका लागि आवश्यक इन्जिनीयर तथा भूगर्भविद्हरू उत्पादन हुन थालेका छन् । चीनका राष्ट्रपतिले सुरुङ मार्ग विषयको अध्ययन र तालीमका लागि सहयोग गर्ने बताएका छन् । त्यस्तै उच्च प्रविधिको सुरुङ खन्ने मेशिन समेत नेपाल भित्रिइसकेको छ । यसरी नेपालको प्राविधिक क्षमता बढ्दै गएको देखिन्छ ।

सुरुङ मार्ग बनाउन थुप्रै चुनौती नभएका होइनन् । नेपालमा सुरुङ मार्ग निर्माणका लागि न त प्रविधि छ न त विशेषज्ञ नै छन् । नेपाली इन्जिनीयरहरूसँग यस्को अनुभव छैन । विश्वकै कान्छो पहाड भएकाले यहाँको भौगोलिक बनोट निकै कमजोर रहेको छ । अर्को, नागढुंगा–नौबीसे सुरुङबाट हावाको थप मुस्लो पनि काठमाडौं छिर्ने सम्भावना छ । धादिङमा थुप्रै सिमेन्ट कारखाना खुलिरहेको र भारतबाट आएको प्रदूषित हावा नागढुंगाबाट काठमाडौं छिरिरहेको छ । सुरुङमार्गले त्यसलाई थप बढाउन सक्छ । काठमाडौंको चारैतिर अग्ला पहाड भएकाले त्यो प्रदूषित हावा उपत्यकाका लागि समस्या बन्न सक्छ । त्यसैले वातावरणीय समस्यालाई न्यून गर्ने उपायहरू पनि अहिलेदेखि नै अपनाउन थालिएन भने भोलिका दिनमा सुरुङ मार्ग बन्द गर्ने आवाज पनि उठ्न सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्