arthik abhiyan
ad banner

४२ वर्ष पुरानो कार : १० सेकेन्डमै प्रतिघण्टा १ सय ९५ किमीको गति

Oct 22, 2019 
यातायात
Image Not Found

 

तस्वीरमा देखाइएको कार ४२ वर्ष पुरानो हो । हुन त अहिले यो कार ब्याट्रीमार्फत चल्छ । तर यसको शक्ति र कार्यक्षमता भने निशान जीटी आर, लेम्बर्गिनी एबन्ताडोर, म्याकलारन ६५० जस्ता फुर्तिला कारलाई पछि पार्ने रहेको छ । यो कारको नाम फ्लक्स क्यापासिटर राखिएको छ । 

वास्तवमा फ्लक्स क्यापासिटर नाम दिइएको यो कार पुरानो विद्युतीय कार एनफिल्ड ८०० लाई पुनः निर्माण गरी बनाइएको हो । यसको वास्तविक निर्माण एक ब्रिटिश कम्पनीले शहरी यातायातलाई दृष्टिगत गर्दै गरिएको थियो । यो सानो आकारको टू सीटर (दुईजना चढ्न मिल्ने) कार हो । पछिल्लो समयमा कम्पनीले यसमा ८ पीएससम्म शक्ति उत्पन्न गर्ने क्षमतासहितको ६ किलोवाटको मोटर जडान गरेको थियो । सो समयमा कारको अधिकतम गतिक्षमता ७७ किलोमिटर प्रतिघण्टा थियो । उक्त समयमा यस मोडलको जम्मा १२० ओटा कारको निर्माण मात्र गरिएको थियो । 

अहिले परिमार्जित रूपमा सार्वजनिक गरिएको नयाँ फ्लक्स क्यापासिटरको कुरा गर्दा यो कार चर्चित अटो पत्रकार तथा टीभी प्रस्तोता जोन स्मिथको हो । उनको यो कार बाढीको कारण बिग्रिएको थियो । उनले पछि कारको वास्तविक रूपलाई निरन्तरता दिँदै कारलाई पुनर्जीवन दिएको बताइएको छ । 

समाचारका अनुसार कारमा रहेको विद्युतीय सर्किट बोर्डलाई नयाँ प्रविधिसहितको सर्किट बोर्डमार्फत परिवर्तन गरियो । कारको बडीको निर्माणका लागि फाइबर ग्लासको प्रयोग गरियो । त्यसैगरी शक्ति उत्पन्न गर्नका लागि कारमा १८८ लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ । यो ब्याट्रीले २ हजार एम्पियरको शक्ति उत्पन्न गर्ने क्षमता राख्छ । कारमा पछिल्ला पांग्रालाई शक्ति दिन ९ इन्चको मोटर जडान गरिएको छ । 

सबै परिमार्जनसहित नयाँ कारले पछिल्लो कारको तुलनामा झन्डै सय गुणा धेरै अर्थात् ८ सय पीएस शक्ति र १ हजार ६२७ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । कारले जम्मा ६ सेकेन्डमै शून्यबाट १६१ किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । 

अझ कार विद्युतीय शक्तिमा आधारित भएकाले टर्क डलिभरी एकनास रहने समेत बताइएको छ । यी सबै कारणले जोनको प्mलक्स क्यापासिटर सडकमा गुड्ने विद्युतीय कारमध्येकै सर्वाधिक गतिको कार हो । मात्र ९ दशमलव ८६ सेकेन्डमा  १९५ किलोमिटर प्रतिघण्टाको गति रेकर्ड यही कारको नाममा छ । (एजेन्सी)
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्