arthik abhiyan
ad banner

तरकारी संकलन केन्द्र प्रयोगविहीन

Oct 23, 2019 
प्रदेश ०५
Image Not Found


प्यूठान (अस) । प्यूठानको मल्लरानी गाउँपालिका–४, खलंगामा रहेको तरकारी संकलन केन्द्र प्रयोगविहीन भएको छ । पहिले प्यूठान नगरपालिकाले सञ्चालन गर्दै आएको उक्त केन्द्र अहिले स्थानीय तहको गठनसँगै गाउँपालिकामा परेपछि सञ्चालनमा आउन नसकेको हो । 

साबिकको जिल्ला कृषि विकास कार्यालय प्यूठानले लाखौं रुपैयाँ लगानीमा केन्द्रको निर्माण गरेको थियो । केन्द्रका लागि एउटा भवन र तरकारी राख्ने टहरा निर्माण गर्नुका साथै नापतौलका लागि आवश्यक पर्ने सामग्री व्यवस्था गरिएको थियो । केन्द्र सञ्चालन हुँदा स्थानीय कृषकलाई आफ्नो कृषि उपज बजारीकरण गर्न सहज भएको थियो । प्रयोग नभएपछि केन्द्रको संरचना जीर्ण बन्दै गएको छ भने भवनमा रहेका फर्निचर लगायतका सामग्री काम नलाग्ने अवस्थामा पुगेका छन् । 

अहिले तरकारी र फलफूल लगायतका कृषि उपज बजारीकरणमा समस्या भएको स्थानीय कृषक दामोदर बञ्जाडेले बताए । सरकारी निकायले पनि केन्द्र सञ्चालनमा कुनै चासो नदिएको स्थानीयको आरोप छ । ‘केन्द्र सञ्चालनमा नआउने हो भने लाखौं लगानी बालुवामा पानी हालेसरह हुन्छ । किसानलाई पनि कृषि उपज बजारीकरणमा समस्या भएको छ । त्यसैले केन्द्र सञ्चालन गर्नु आवश्यक छ,’ स्थानीय बञ्जाडेले भने ।  

मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले केन्द्र सञ्चालनका विषयमा गाउँपालिकाले अध्ययन गरिरहेको बताए । ‘संकलन केन्द्र केके कारणले बन्द भएको हो, अध्ययन गरेपछि पालिका एउटा निर्णयमा पुग्छ’ उनले भने । त्यसपछि पुनः केन्द्र सञ्चालन गरिने उनको भनाइ छ । तरकारी संकलन केन्द्र स्थानीय तह आउनुभन्दा पहिला बन्द भएकाले त्यसबारे बुझेर काम अगाडि बढाउने रिजालले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्