arthik abhiyan
ad banner

मध्यपश्चिमाञ्चल विश्वविद्यालय : कृषि तथा वन विज्ञान संकाय सञ्चालनको तयारी

Oct 24, 2019 
शिक्षा
Image Not Found


सुर्खेत (अस) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कृषि तथा वन विज्ञान संकाय सञ्चालनका लागि तयारी शुरू गरेको छ । विश्वविद्यालयले सभाबाटै नीतिगत तथा कानूनीरूपमा निर्णय भइसकेकाले आउँदो शैक्षिक सत्रदेखि सो विषयको अध्ययन–अध्यापन शुरू गर्ने योजना बनाएको हो । स्नातक तहको कृषि पाठ्यक्रम निर्माण भइसकेकाले यसै वर्ष भौतिक संरचना निर्माण गरी आउँदो शैक्षिक सत्रदेखि पढाइ थाल्ने योजनामा विश्वविद्यालय छ ।

चौकुनेमा कृषि तथा वन विज्ञान विषयको प्रयोगात्मक अध्ययनका लागि उपयुक्त जग्गा–जमीन रहेको विश्वविद्यालय स्रोतको दाबी छ । मप विश्वविद्यालयले स्थापना गर्न लागेको आफ्नो पहिलो कृषि तथा वन विज्ञान संकायलाई आफ्नो आधारभूत अध्ययन संस्थानको रूपमा विकास गर्ने योजना बनाएको छ । ‘सरकारी स्तरबाट समेत कर्णाली प्रदेशकै पहिलो कृषि तथा वन विज्ञान अध्ययन संस्थान भएकाले राष्ट्रिय स्तरको बनाउनेतर्फ सबैको जोड देखिन्छ,’ पश्चिम सुर्खेत समाजसेवी काशीराम देवकोटाले भने । 

प्राविधिक धारको उक्त संकाय सञ्चालनका लागि छिटोभन्दा छिटो जग्गा उपलब्ध गराउन विश्वविद्यालयले स्थानीय सरकारलाई अनुरोध गरेको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । ‘कृषि तथा वन विज्ञान अध्ययन केन्द्र प्राप्तिका लागि यहाँका जनता, राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज, वुद्धिजीवी, प्राध्यापक, विद्यार्थी सबैको योगदान र भूमिका उत्तिकै महत्त्वपूर्ण रहनेछ,’ उनले भने । पूर्वाधारको आधारभूत कामका लागि केही कानूनी एवं व्यावहारिक अफ्ठ्याराहरू तत्काल समाधान गर्न आवश्यक रहेको उनले औंल्याए । 

पूर्वाधार निर्माणका लागि महायज्ञ
चौकुनेको गुटुमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि कात्तिक २२ देखि २९ गतेसम्म महायज्ञ सञ्चालन गरिने भएको छ । ‘प्राविधिक शिक्षाको पूर्वाधार, समृद्ध चौकुनेको आधार’ मूल नाराका साथ चौकुने गाउँपालिका–८, गुटुमा धार्मिक महायज्ञ सञ्चालन गर्न लागिएको हो । कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि करीब ५ करोड आर्थिक संकलन जुटाउने उद्देश्यले धार्मिक महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए । उनले आइतवार सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि यथाशक्य छिटो भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले सर्वसाधारणबाट आर्थिक सहयोग जुटाउन महायज्ञ गर्नुपरेको उनले बताए । ‘भौतिक संरचना निर्माणका लागि ८ बिगाहा जग्गा आवश्यक पर्ने भएकाले तत्काल जग्गा प्राप्तिका लागि रकम जुटाउनुपर्ने देखियो,’ उनले भने, ‘क्याम्पस निर्माणका लागि गुटुका स्थानीयद्वारा उपलब्ध ४० बिगाहा ऐलानी जग्गामा सरकारी संरचना बनाउन कानूनी चड्चन रहेकाले लालपुर्जा भएको जग्गा खरीद गर्नुको विकल्प छैन ।’ अहिले आफूहरूको ध्यान भौतिक पूर्वाधार निर्माणको काम शुरू गराउन लालपूर्जा भएको जग्गा खरीदका लागि आवश्यक स्रोतको खोजीमा रहेको उनको भनाइ छ । पहिलो चरणमा महायज्ञबाट ४० लाख रुपैयाँ विभिन्न दाता तथा संघसंस्थाबाट प्राप्त गर्ने सहमति भएको उनले बताए । ‘महायज्ञमा ५ हजार रुपैयाँभन्दा बढी दान गर्नेहरूको नाम शिलापत्रमा लेखिनेछ,’ उनले भने । महायज्ञ सफल बनाउन मूल समितिसहित २१ ओटा विभिन्न उपसमिति गठन गरिएको प्रचारप्रसार उप–समितिका संयोजक गोरखबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्