arthik abhiyan
ad banner

विद्यालयको नयाँ भवनले विद्यार्थीमा ल्याएको उत्साह

Oct 24, 2019 
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । त्रिपालको अस्थायी टहरामा वर्षौं बिताएका गोरखा आरुबोट  धारापानी माविका विद्यार्थी नयाँ भवनमा पढ्न पाउदा उत्साहित छन् । यस पटकको दशैंसँगै उनीहरूलाई भूकम्परहित भवनमा अध्ययन गर्न जुरेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा), गोरखाले हालै उक्त विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरिसकेको छ ।

विद्यार्थीहरू नयाँ भवनमा पढ्न पाएपछि निकै उत्साहित देखिन्छन् । २०७२ सालको विनाशकारी भूकम्पले विद्यालयका भवन भत्काएपछि विद्यार्थी टिनले छाएको र त्रिपालले बारेको अस्थायी टहरामा पढ्न बाध्य थिए । भूकम्पले भवन ध्वस्त बनाएपछि विद्यालयले अर्कैको जग्गा भाडामा लिएर अस्थायी टहरामा पठनपाठन गराउँदै आएको थियो ।  

उक्त विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्र विनम्र खनालले नयाँ भवनमा पढ्न पाउँदा भूकम्पको डर समेत हराएको बताए । ‘छाप्रामा पढ्दा भूकम्पको याद आइरहन्थ्यो,’ उनले भने, ‘अब नयाँ भवन देख्दा भूकम्प र यसपछि अस्थायी टहराको बसाइ नै बिर्सिएको छु ।’ विद्यालयकी छात्रा सपना गुरुङले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको अनुभव सुनाइन् । तर अब पक्की भवनमा त्यो समस्या नआउने भएकाले ढुक्कसँग पढ्न पाइने उनको आशा छ । ‘पानी पर्दा बाछिटाले पूरै रुझिन्थ्यो, हिलोमा कति साथीहरू लड्थे,’ उनले भनिन्, ‘नयाँ भवन पाएसँगै अब यस्तो समस्या हुँदैन ।’ यस्तै अर्की छात्रा अमृता विकले त्रिपालको छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइमा बाधा पुग्ने गरेकोमा अब यसमा सुधार हुने बताइन् ।

उक्त भवनको पुनर्निर्माण करीब डेढ वर्षमा सक्ने गरी गतवर्ष असोज ५ गतेदेखि काम थालिएको थियो । सो अवधि तोकेर भवन बनाउन शुरू गरे पनि १३ महीनामै निर्माण सम्पन्न भएको आयोजना एकाइ प्रमुख विष्णुप्रसाद मिश्रले बताए । नयाँ भवन गत असोज १५ गते एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शोभित निर्माण सेवाका प्रमुख बुद्धिप्रसाद श्रेष्ठले भवनको साँचो जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख विष्णुप्रसाद मिश्र र इन्जिनीयर बाबुराम देवकोटालाई हस्तान्तरण गरेका थिए । यसलगत्तै मिश्रले उक्त भवन आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई हस्तान्तरण गरेका थिए ।

भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवं आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले एकाइले बनाइदिएको नयाँ भवनमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने जिम्मा गाउँपालिकाले लिने प्रतिबद्धता गरेका थिए । भौतिक पूर्वाधारको समस्या समाधानपछि अब विद्यालयलाई नमूना बनाउनेतर्फ आफूहरूको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो । गाउँपालिकाबाट विद्यालयलाई सबै खाले सहयोग गर्न आफू तयार रहेको दाहालले आश्वासन दिए । स्थानीय अभिभावकलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पठाउन उनले आग्रह गरेका थिए । 

यसैगरी विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्दै आयोजना एकाइ प्रमुख मिश्रले भवनको पुनर्निर्माणसँगै विद्यार्थी, शिक्षक र अभिभावकहरू पुनर्जागृत हुने धारणा राखे । ‘अब नयाँ बनेको भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको हो । गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रतगतिमा अगाडि बढिरहेको छ,’ उनले भने, ‘सार्वजनिक शिक्षाको सबलीकरणमा सबै पक्ष एक भएर लाग्नुपर्छ ।’  

विद्यालयकी प्रधानाध्यापक शान्ता सापकोटा खनालले नयाँ भवनको प्राप्तिले आफूहरूको भूकम्पको पीडा बिर्साएको बताइन् । ‘भौतिक सुधारसँगै अब विद्यालयको पूरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुनेछ,’ उनले भनिन्, ‘नयाँ भवन जति सुन्दर छ, अब त्यसमा शिक्षण सिकाइ पनि त्यति नै सुन्दर हुनेछ ।’ उनका अनुसार भूकम्प अगाडि साढे २०० बढी विद्यार्थी रहेको विद्यालयमा भूकम्पपछि बसाइसराइ र अस्थायी टहराका कारण विद्यार्थी घटेर १७० मा आएका छन् । नयाँ भवनसँगै विद्यार्थीको संख्या बढ्ने अपेक्षा उनले गरिन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्