arthik abhiyan
ad banner

तिहार विशेष : खाताबहीका देवता चित्रगुप्त

Oct 25, 2019 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar ओमप्रकाश खनाल

यमपञ्चकको अन्तिम दिन (भाइटीका)मा कायस्थ समुदायले भगवान् चित्रगुप्तको विशेष पूजाआराधना गर्छन् । सृष्टिकर्ता ब्रह्माले सृष्टिको रचना गरेपछि सम्पूर्ण सृष्टिका प्राणीहरूको कर्मको लेखाजोखा राख्ने कामका लागि आफ्नो कायाबाट भगवान् चित्रगुप्ताको उत्पत्ति गरेको धार्मिक विश्वास रहिआएको पाइन्छ । चित्रगुप्तले राखेको पापधर्मको खाताबहीकै आधारमा कुनै पनि प्राणीको मृत्युपछि यमराजले स्वर्ग वा नर्क कता पठाउने भन्ने निर्णय गर्ने विश्वास रहिआएको छ । 

नेपालको तराई क्षेत्रमा भगवान् चित्रगुप्ताको विशेष पूजा गरिन्छ । वीरगञ्ज, जनकपुर, गौर, राजविराज, जनकपुरलगायत स्थानमा चित्रगुप्तको मन्दिर निर्माण गरिएको छ । भाइटीकाको दिनमा ठाउँ ठाउँमा चित्रगुप्तको मूर्ति बनाएर पूजा गर्ने र पूजा समापन भएपछि मूर्ति विसर्जन पनि गर्ने गरिएको पाइन्छ ।

भाइटीकाको दिन कायस्थ समुदायले कलम र मसीको भाँडो विशेष रूपले पूजाआराधना गर्छन् । पूजाको दिन उनीहरूले लेखापढीको काम गर्दैनन् । कायस्थ समुदायले चित्रगुप्तलाई आफ्ना पूर्वजको रूपमा भक्तिभावपूर्वक पूजाआराधना गर्ने चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष महेश दासले बताए । वीरगञ्जको चित्रगुप्त मन्दिरमा प्रत्येक वर्ष झैं यसपटक पनि पूजाको तयारी भएको अध्यक्ष दासले जानकारी दिए । 

ब्रह्माजीको कायाबाट चित्रगुप्तको उत्पत्ति भएको र कालान्तरमा चित्रगुप्तका सन्ततिहरूलाई कायस्थ भनिएको विश्वास छ । श्रीवास्तव, कर्ण, बर्मा, मल्लिक, निधि, लाल दास, लाभ, अम्बष्ट, बच्चन, निगमलगायत समुदायले चित्रगुप्तलाई आफ्नो पूर्वजको रूपमा भक्तिभावपूर्वक स्मरण गर्छन् । 

सृष्टिकालमा प्राणीहरूको कर्मको लेखाजोखा राख्ने जिम्मेवारी पाएका चित्रगुप्तलाई खाताबहीका मालिकको रूपमा पूजाआराधना गर्ने प्रचलन छ । चित्रगुप्ताका सन्तान मानिने कायस्थ लेखापढीमा अब्बल समुदायको रूपमा चिनिन्छन् । नेवार समुदायमा चित्रगुप्तप्रति भक्तिभाव पाइन्छ । भक्तपुरका कतिपय नेवार समुदायमा अहिले पनि विद्यापतिको गीत गाइने र उनीहरूले काली भगवतीलाई कुलको रूपमा पूजा गर्ने प्रचलन रहेको अध्यक्ष दासले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्