arthik abhiyan
ad banner

९०% बिरामीमा उच्च रक्तचापको लक्षण नै देखिँदैन

Oct 25, 2019 
अन्तरवार्ता स्वास्थ्य र जीवन शैली
Image Not Found

अस्वस्थ र तनावयुक्त जीवनशैली, शारीरिक व्यायामको कमी लगायत कारण नेपालमा उच्च रक्तचापका बिरामी बढ्दै गएका छन् । अधिकांश बिरामीमा उच्च रक्तचापको कारण र लक्षण नै नदेखिने हुँदा जाँच नै नगरेका रक्तचापका बिरामीको संख्या पनि अधिक हुन सक्ने स्वास्थ्यविद्हरू बताउँछन् । समयमै उच्च रक्तचापको उपचार नहुँदा यसैका कारण हृदयाघात, पक्षाघात, मिर्गौला रोग लागेर मृत्यु हुनेको संख्या पनि अधिक छ । यसै सन्दर्भमा हृदयरोग विशेषज्ञ डा. लव नरसिंह जोशीसँग अभियान दैनिकका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

उच्च रक्तचाप भनेको के हो ?
मुटुले रगतका साथ रक्त नलीहरूबाट शरीरका सबै कोषमा अक्सिजन, खाद्यपदार्थ, भिटामिन उपलब्ध गराउँछ । त्यस्तै कोषबाट उत्पन्न बेकार रगत मुटु हुँदै फोक्सोसम्म पुग्छ र फोक्सोले रगत शुद्धीकरण गर्छ । यसरी हाम्रो मुटुले रगत पम्प गरेर सबै अंग र कोषहरूमा प्रवाह गरिरहेको हुन्छ । रगत प्रवाह हुँदा रक्तनली हुँदै शरीरका अन्य अंगबाट मुटुमा र मुटुबाट बाहिरिने रगतका कारण रक्तनलीमा परेको चाप रक्तचाप हो । यसमा बढीमा १२० र कममा ८० आवश्यक रक्तचाप हो । सामान्यभन्दा बढी रक्तचापलाई उच्च रक्तचाप मानिन्छ ।
 
उच्च रक्तचाप किन हुन्छ ?
बढीमा १२० देखि १३० र कममा ७० देखि ८० सम्म रक्तचाप हुनु सामान्य अवस्था हो । उच्च रक्तचाप हुँदा माथिको र तलको रक्तचाप यसबाट बढ्न जान्छ । बढीमा १३० देखि १३९ सम्म हुनु उच्च रक्तचापको पूर्वावस्था हो । यो अवस्थामा रोकथाम गरिएन भने समस्या बढ्छ, जुन उच्च रक्तचाप हो । रक्तचाप १४० देखि १६० सम्म र १६० भन्दा बढी हुनु स्टेज एक, स्टेज दुईको अवस्था हो । रक्तचाप बढ्ने विभिन्न कारण छन् । उमेर बढ्दै जाँदा नसा खुम्चिने र फुक्ने शक्ति पनि घट्दै जान्छ । यसले गर्दा उच्च रक्तचाप देखिन सक्छ । यस्तै हर्मोनको कमी, चिल्लो र बोसोयुक्त खानेकुरा, नूनको अधिक सेवन, मोटोपन, तनाव, धूमपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, नियमित व्यायामको अभाव आदिका कारण उच्च रक्तचाप हुने सम्भावना हुन्छ । यसबाहेक शारीरिक क्रियाकलापमा कमी आउने गरी विकास भएको आधुनिक जीवनशैली, तनाव आदि पनि रक्तचाप बढ्ने कारण हुन् ।

नेपालमा उच्च रक्तचापका बिरामीको अवस्था कस्तो छ ?
दिन प्रतिदिन उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ । संसारभर १ अर्ब मानिस मुटुको रक्तचाप सम्बन्धी रोगले पीडित छन् । सन् २०२५ सम्ममा यो तथ्यांक बढेर डेढ अर्ब पुग्ने एक अध्ययनले देखाएको छ । हाम्रो देशमा केही वर्ष अघिसम्म क्षयरोग, पखाला, निमोनिया लगायत रोगका कारण धेरै मानिसको मृत्यु हुन्थ्यो । तर २०७५/७६ सम्म आइपुग्दा हृदयरोग मृत्युको पहिलो कारण बन्न पुगेको छ । रक्तचापका कारण संसारमा प्रायजसोको मृत्यु भएको देखिन्छ ।

उच्च रक्तचापका कारण के कस्ता असर देखा पर्छन् ?
उच्च रक्तचापले विभिन्न असर देखा पर्छन् । मस्तिष्काघात, हृदयाघात, रक्तस्राव, आँखाको दृष्टिमा कमी, मिर्गौलासम्बन्धी रोग आदि असर देखिन सक्छन् । कतिपय मस्तिष्क पक्षाघात, हृदयाघात र मिर्गौला रोगको पहिलो कारण उच्च रक्तचाप हुने गरेको पनि देखिन्छ । यस्तै रक्तचापको समस्याका कारण मुटुको चालसम्बन्धी रोग, हात र खुट्टाका कतिपय नसामा रगत प्रवाह हुन रोकिने, स्मरणशक्ति कम हुने, मान्छे नचिन्ने (अल्जाइमर)को समस्या देखिने हुन सक्छ ।
 
उच्च रक्तचापका लक्षण के के हुन् ?
उच्च रक्तचाप हुँदा एकदमै कममा मात्र टाउको दुख्ने, रिँगटा लाग्ने, छाती दुख्ने लगायत लक्षण देखिन्छ । ९० प्रतिशत बिरामीमा कुनै लक्षणै देखिँदैन । त्यसैले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । त्यसकारण जो कोहीले बेलाबेलामा आफ्नो रक्तचाप जाँच गर्नुपर्छ । ४० वर्ष नाघेपछि रक्तचाप बढ्ने सम्भावना बढी हुने भएकाले अनिवार्य जाँच गर्नु आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनको यस वर्षको नारा नै ‘नो योर नम्बर’ थियो । कम्तीमा वर्षमा २ पटकसम्म रक्तचाप जाँच्नुपर्छ । रक्तचाप बढेको छ भने विशेषज्ञसँगको सम्पर्कमा आउनुपर्छ ।

उच्च रक्तचापको उपचार पद्धति के हो ?
उच्च रक्तचापको समस्या लिएर आएका व्यक्तिमा सर्वप्रथम त रक्तचाप बढ्नुको कारक तŒव पत्ता लगाइन्छ । सयमा ९० जनामा त रक्तचाप बढ्नुको कारण नै देखिँदैन । जीवनशैली, वंशाणुगत कारण, परिवार वा कामको तनाव आदि कारण यस्तो समस्या देखिन सक्छ । यस्तो अवस्थामा अन्य कुनै कारक तŒव, जसले रक्तचाप बढायो त्यसको अध्ययन गरिन्छ । यस्तो अवस्थामा हामी अल्ट्रासाउन्ड गरेर बिरामीको रगत, मिर्गौला, हर्मोन, ट्युमर, रगतको नसा आदिको अवस्था जाँच्छौं । यी रक्तचाप बढाउने अन्य कारण हुन सक्छन् । सबै बिरामीको उपचार एउटै हुँदैन, बिरामीको अवस्था जाँच गरेर व्यक्ति अनुसार उपचार फरक हुन्छ । जस्तै– तनावका कारण रक्तचाप बढेको हो भने तनाव कम गर्ने औषधिको सेवनसहित रक्तचापको उपचार गरिन्छ । यस्तो अवस्थामा औषधिको सेवन नगर्नुपर्ने पनि हुन्छ ।
 
औषधिको सेवन सधैं गर्नुपर्ने हुन्छ ?
शुरूमै हामी औषधि शुरू गराउँदैनाैं । पहिले ३ देखि ६ महीना बिरामीको जीवनशैलीमा परिवर्तन ल्याउने प्रयास गर्छौं । यसमा खानपान, व्यायाम, स्वस्थ र तनावमुक्त जीवनशैली बाँच्ने आदि अभ्यास गराइन्छ । त्यसपछि पनि रक्तचाप कम भएन भने औषधि सेवन गर्नुपर्ने हुन सक्छ । औषधि जिन्दगीभरि सेवन गर्नुपर्ने पनि हुन सक्छ । कतिले जीवनशैली बदलेर औषधि कम गर्दै शून्यमा पनि झार्नुभएको छ । तर औषधि सेवन गर्दै जाँदा जाँच गर्दा रक्तचाप सामान्य अवस्थामा पुगेको छ भने पनि चिकित्सकको परामर्शविना औषधि कम गर्ने वा छाड्ने काम गर्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

उच्च रक्तचाप हुनबाट कसरी बच्न सकिन्छ ?
मोटोपना, मधुमेह, लगायत रोगबाट बच्नुपर्छ । उच्च रक्तचापका बिरामीले अचार, पापड, चिल्लो र बोसोयुक्त खाना, चिनी, कफी, चाउचाउ वा अन्य ‘जंक फूड’ खानु हुँदैन । धूमपान, मद्यपानको सेवन गर्नु हुँदैन । माछा मासु खान बन्द गर्नुपर्छ । फलफूल र सागपात बढी खानुपर्छ । बिहान उठेपछि एकनासले हरेक दिन करीब आधा घण्टादेखि १ घण्टासम्म मुटु ढुकढुक हुनेगरी हिँड्नुपर्छ । योग, संगीत, अध्यात्म आदिको सहयोग लिएर हुन्छ वा कसरी हुन्छ पारिवारिक, व्यावसायिक, सामाजिक आदि तनावमुक्त जीवनशैली अपनाउनुपर्छ । यसबाहेक रक्तचाप ठीक ठाउँमा भएका बिरामीले पनि बेलैमा सावधानी अपनाएर स्वस्थ र तनावमुक्त जीवन बाँच्नुपर्छ । यसबाट बच्न सबैभन्दा राम्रो बेला बेलामा रक्तचाप जाँच गर्नुपर्छ र रक्तचाप असामान्य छ भने उपचार पनि गर्नुपर्छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्