arthik abhiyan
ad banner

सार्वजनिक बस कम्पनीमा  व्यवस्थापकीय कमजोरी

Oct 31, 2019 
सम्पादकीय
NA

 

डेढ वर्षअघि सार्वजनिक यातायातमा रहेको सिन्डिकेटको अन्त्यसँगै चर्चामा आएको मयूर यातायात सञ्चालकबीच विवाद चुलिएको छ । कम्पनीका शेयरधनीहरूले गाडी बेचेर भए पनि आफ्नो लगानी फिर्ता गर्न सञ्चालक समितिलाई दबाब दिएको समाचार सार्वजनिक भएको छ ।
 
छोटो समयमा नै आफ्नो सेवाका कारण लोकप्रिय बनेको मयूर यातायातले व्यवसाय विस्तारका लागि विद्युतीय बस सन्चालनसहितको महत्त्वाकांक्षी योजनासमेत अघि सारेको थियो । तर, कम्पनीभित्रको किचलोका कारण कम्पनी अहिले समस्याग्रस्त छ । कुनै पनि कम्पनी चाहे त्यो सरकारी होस् वा निजी, तिनलाई व्यवस्थापकहरूले व्यावसायिक रूपमा सञ्चालन गर्दैनन् भने ती संस्था समस्यामा पर्छ । अहिले यस्तै परिदृश्य देखिएको छ, मयूर यातायात मात्र होइन, सार्वजनिक सवारीसाधनको विद्यमान सेवामा नै ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएका कम्पनीहरूमा समेत ।

नेपालमा निजीक्षेत्रले सार्वजनिक यातायातका लागि निकै ठूलो लगानी गरेको छ । तर, त्यसलाई व्यवस्थित बनाउने प्रयास यदाकदा कसैले गरे पनि त्यो दिगो बन्न भने सकेको छैन ।

सार्वजनिक यातायातमा रहेको सिन्डिकेट तोड्न कम्पनी मोडलमा यातायात सेवा सञ्चालन गर्न सरकारले प्रोत्साहित गर्‍यो । त्यसैअनुसार थुप्रै कम्पनी दर्ता भए र सञ्चालनमा पनि आए । तर, त्यसलाई व्यवस्थापन गर्न नजान्दा यस्ता कम्पनीहरू प्रायः समस्यामा परेका छन् ।
 
सार्वजनिक यातायातको गेम चेन्जर मानिएको साझा यातायातको व्यवस्थापन सही ढंगले चलेको छ । त्यसो हुनाले सञ्चालनमा समस्या त देखिँदैन तर निरन्तर घाटामा छ । यसमा पनि व्यवस्थापकीय कमजोरी रहेको देखिन्छ । 

बाबा गोकर्णेश्वर यातायात विवादकै कारण टुक्रियो । त्यस्तै सरकारकै पहलमा सञ्चालित दिगो सार्वजनिक यातायात पनि घाटामा चलिरहेको छ । सिटी मेट्रो यातायात हराइसकेको छ । यसरी सार्वजनिक यातायात कम्पनीहरू असफल हुनुको कारण कम्पनी सञ्चालन गर्नेहरूमा व्यावसायिकताको अभाव हो । कम्पनी के हो, कसरी सञ्चालन गरिन्छ, त्यसमा साझेदारहरूले के गर्नुपर्ने हो, साझेदारप्रति सञ्चालकहरूको जिम्मेवारी के हो भन्ने कुराको जानकारी नभएकाले नै कम्पनीहरू समस्यामा परेका हुन् ।
काठमाडौं उपत्यका लगायत प्रमुख शहरमा सार्वजनिक यातायात निकै समस्याग्रस्त देखिन्छ । यात्रुहरूले सुविधा पाएका छैनन् । जथाभावी गाडी रोक्नेदेखि लिएर यात्रुसँग बढी भाडा असुल्नुका साथै दुर्व्यवहारसम्म हुने गरेका छन् । सिन्डिकेट हटेपछि यस्ता धेरै समस्या न्यून हुने अपेक्षा आमनागरिकमा थियो । तर, त्यस्तो हुन सकेको छैन । साना गाडीका सट्टामा ठूला गाडीहरूले सेवा दिन थाले । सेवाको गुणस्तरमा भने खासै परिवर्तन हुन सकेको छैन ।
 
सार्वजनिक यातायात व्यवस्थित हुनु आवश्यक छ । संसारभरि नै सर्वसाधारणलाई सेवा दिन सार्वजनिक यातायातलाई व्यवस्थित गरिएको हुन्छ । बस, मेट्रो तथा अन्य खालका यातायात सेवा व्यवस्थित गरिएको हुन्छ । नेपालमा निजीक्षेत्रले सार्वजनिक यातायातका लागि निकै ठूलो लगानी गरेको छ । तर, त्यसलाई व्यवस्थित बनाउने प्रयास यदाकदा कसैले गरे पनि त्यो दिगो बन्न भने सकेको छैन ।
 
सरकारले साझा बसलाई विद्युतीय बस किन्न आर्थिक सहयोग गरेको थियो । तर, पछिल्लो समय सरकारकै निर्देशनका कारण विद्युतीय बस किन्ने प्रक्रिया अवरुद्ध हुनपुगेको छ । सरकार र साझा व्यवस्थापनबीचको समस्याका कारण ३०० विद्युतीय बस खरीद र सञ्चालन अझै केही पर धकेलिने भएको छ ।
 
कुनै पनि देश कति विकसित छ भन्ने कुरा त्यस देशको सार्वजनिक यातायातको व्यवस्थापनका आधारमा पनि लिने गरिन्छ । यातायात प्रणाली जति व्यवस्थित हुन्छ देश समृद्धिको यात्रामा त्यति नै अगाडि बढ्छ । तर, नेपालमा भने न सरकारी न त निजीक्षेत्रले नै सार्वजनिक सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन सकेका छन् । साझा, मयूर लगायत सार्वजनिक यातायात कम्पनीहरूको सफलता/असफलताले नेपालमा सार्वजनिक यातायात दिगो हुने/नहुने निक्र्यौल गर्छ । सार्वजनिक यातायात सञ्चालनको हाम्रो अनुभवले व्यवस्थापन निकै कमजोर रहेको तथ्य देखिन्छ । यसलाई सुधार गर्न यस क्षेत्रमा समेत उच्च व्यावसायिक व्यवस्थापनको खाँचो टड्कारो देखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्