arthik abhiyan
ad banner

स्मार्ट लाइसेन्सको असफलता

Nov 1, 2019 
सम्पादकीय
NA


यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मास प्रिन्टर ल्याएको साढे २ महीना बितिसक्दा पनि लाइसेन्स छपाइको काम शुरू भएको छैन ।
 
लाइसेन्सको माग अत्यधिक भएपछि ठूलो संख्यामा कार्ड छाप्ने मेशिन मास प्रिन्टर किन्ने निर्णय विभागले गरेको थियो । प्रतिघण्टा ५ सयका दरले कार्ड छपाइ हुने भएकाले केही समयमा नै स्मार्ट कार्डको समस्या समाधान हुने उसको दाबी थियो । तर, प्रिन्टरसमेत सञ्चालन गर्न नसकेर विभागले आफ्नो अक्षमता पुष्टि गरेको छ । त्यसो त विभागले अनेक बहाना बनाउँदै सवारी चालक अनुमतिपत्रमा सेवाग्राहीलाई दुःख दिएको छ । त्यस्तै बिचौलिया खडा गरेर सेवाग्राहीबाट अवैध रकम असुलेको आरोपसमेत विभागमाथि लाग्दै आएको छ ।

एउटा कार्ड पनि छापेर दिन नसक्दा नेपालको कर्मचारी संयन्त्रको अकर्मण्यता र गैरजिम्मेवारी स्पष्ट देखिएको छ ।

सवारी चालक अनुमतिपत्रलाई अत्याधुनिक बनाउने भन्दै सरकारले २०७२ मङ्सिरदेखि स्मार्ट लाइसेन्स वितरण शुरू गरेको थियो । शुुरूमा काठमाडौंबाट मात्र वितरण गरिएको यो कार्ड पर्याप्त तयारीविनै २०७४ देखि देशभरका विभागका कार्यालयबाट उपलब्ध गराउन थालेपछि समस्या बढेको हो । कार्ड छाप्ने मेशिनसमेत व्यवस्था गर्न नसक्ने र सञ्चालन गर्न नसक्ने विभागको कामका कारण देशकै बेइज्जत हुने अवस्था आएको छ । एउटा कार्ड पनि छापेर दिन नसक्दा नेपालको कर्मचारी संयन्त्रको अकर्मण्यता र गैरजिम्मेवारी स्पष्ट देखिएको छ ।

सवारी चालक अनुमतिपत्रको माग कति छ र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने काम यातायात व्यवस्था विभागको हो । यसका लागि लिखित तथा प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्नु र उत्तीर्ण व्यक्तिलाई अनुमतिपत्र दिनु पनि उसको जिम्मेवारी हो । तर, प्रमुख फेरिएको बहानामा वा अन्य कारणले विभागले कुनै पनि काम तोकिएको समयमा गर्न सकेको छैन, सेवाग्राहीलाई झन्झटमा पार्न छाडिएको छैन । स्मार्ट कार्डकै कुरा गर्ने हो भने कहिले ठेक्का नलागेको, कहिले ठेकेदारले सम्झौता अनुसार काम नगरेको, कहिले प्रिन्टर बिग्रिएको त कहिले नेट नभएको भन्दै सेवाग्राहीलाई झुलाउने गरेको छ ।
 
विभागको कार्यशैली हेर्दा समस्याको दिगो समाधानभन्दा पनि टालटुल गर्दै यसलाई लम्ब्याउने र सेवाग्राहीका अगाडि अनुमतिपत्र प्राप्त गर्नु भनेको निकै गाह्रो काम हो भन्ने प्रमाणित गर्नु हो जस्तो लाग्छ । अन्यथा एउटा व्यक्तिले गर्न सक्ने छपाइको काम सरकारको यत्रो ठूलो संयन्त्रले गर्न नसक्ने भन्ने पनि हुन्छ ?
 
कार्ड छपाइ ढिला हुनुमा विभागले जेजस्ता तर्कहरू दिएको छ ती पत्याउन लायक नै देखिँदैनन् । ठेक्का अनुसार प्रिन्टर आपूर्ति भएन, प्रिन्टर चलाउन जान्ने दक्ष कामदार भएनन् जस्ता तर्क पत्याउन लायक देखिँदैनन् । आपूर्तिकर्ता कम्पनीले नै यस्तो मेशिन सञ्चालनको तालीम दिने र केही समय सेवा दिने प्रचलन नै छ । तर, मेशिन आइसकेको अढाइ महीनासम्म पनि छपाइ नै गर्न नसक्नु त राष्ट्रिय लज्जाको विषय नै हो । ठेक्का अनुसार काम नभएको भए आपूर्ति गर्ने कम्पनीलाई कारबाही गर्ने अधिकार विभागसँग हुन्छ । तर, अरूलाई दोष देखाएर आफू ‘पानीमाथिको ओभानो’ बन्न चाहिँ पाइँदैन ।

अहिले ७ लाखभन्दा बढीले चीटको भरमा सवारीसाधन चलाइरहेका छन् । विदेशी नियोगका कर्मचारीहरूलाई पनि यस्तै चीटको भरमा सवारीसाधन चलाउन दिँदा नेपालको कार्यक्षमताबारे पक्कै पनि सकारात्मक सन्देश जाँदैन । लाइसेन्स लिएर वैदेशिक रोजगारमा जान ठीक परेका मानिसको पीडा चर्कै छ । चीट हराउने सम्भावना पनि उत्तिकै छ ।
 
त्यसो त स्मार्ट कार्ड भनिए पनि यस्तो कार्ड पढ्न सक्ने मेशिन जम्मा दुईओटा मात्रै छ, त्यो पनि काठमाडौंमा मात्र । कार्डको वास्तविकता जाँच्नुपरे कार्ड काठमाडौं नै ल्याउनुपर्ने बाध्यता छ । यस्तोमा स्मार्ट कार्ड भनेर सेवाग्राहीलाई दुःख दिनु गलत हो ।
 
राष्ट्रिय परिचयपत्रसँग यसलाई पनि आबद्ध गर्ने सरकारी तयारी छ । तर, लाइसेन्समा देखिएको बेथिति राष्ट्रिय परिचयपत्रमा पनि नहोला भन्न सकिँदैन ।

 

प्रतिक्रिया [2]
User Image

Tek Thulung Rai

[Nov 1, 2019 03:42am]

सर्कार्ले जोकोही वा जुनसुकै बिभागका प्रत्यक कर्मचारिलाइ पाउने सुबिधा दियेकै छ जुन चिजको आवस्यक्ता पर्छ त्यस्को निम्ती राज्यबाट उपलब्ध नभयेको त सुन्नमा आयेको छैन सानो पृन्टरबाट ढिला-सुस्तिका कारन ठूलो पृन्टर्को माग बमोजिम प्राप्त भयेपछि बिभागले पनि लाइसेन्स्को राजश्व लियेर सरल र छिटो गरि उपलब्ध गराउनु बिभागको परम कर्तब्य हो यो पनि नभय सर्कार्ले सिधै कार्बाही गर्ने हो मास पृन्टर भयेर पनि किन बिभागले अटेर र लापर्बाही गर्छ किन दुनियालाइ किन दुख दिन्छ किन सर्कार चुप लागेर बस्छ अझै किन भ्रस्टचार,किन अत्यचार,जन्ता चुप लागेर बस्तैन जन्ता सचेत छ यस्तो अपराधिलाइ छिटो भन्दा छिटो कार्बाही होस तु गेट-आउट


User Image

Hari Tandukar

[Nov 1, 2019 01:24am]

यो स्मार्ट लाईसेन्स नै होईन । स्मार्ट लाईसेन्स मा भएको चिप्समा कुनै पनि दाता नै छैन मलाई उपलब्ध गराइएको लाईसेन्स त एउटा स्कुलको विध्यारथी परिचय पत्र जस्तो छ । साधारण कलर थर्मल पृइन्टर बाट पृन्त गरिएको ।


प्रतिक्रिया दिनुहोस्