arthik abhiyan
ad banner

लगानीको वातावरण बनेकै हो त ?

Nov 1, 2019 
पाठक विचार
NA


नेपालमा व्यवसाय गर्न अनुकूल वातावरण बनिरहेको भनी ‘डुइङ बिजनेश’ प्रतिवेदनले उल्लेख गरेको छ । निकै परिश्रम गरेकाले राम्रो नतीजा आएको भनी सरकारले यसको जस लिएको छ । यसलाई ठूलो सफलता भनी प्रचार गरेको छ । नेपालमा व्यावसायिक रूपमा लगानी र व्यापार गर्न थुप्रै सुधार गर्न बाँकी रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । नेपालभन्दा कमजोर वातावरण रहेका देशमा समेत विदेशी लगानी बढेको छ । स्वदेशी लगानी बढेको छ र आर्थिक विकासको गति पनि नेपालको भन्दा निकै बढी छ । यस्तोमा नेपालको स्तर सुध्रिएको भन्दै दंग पर्नुपर्ने विशेष कारण भने देखिँदैन । 

देशमा राजनीतिक स्थायित्वसँगै लगानीको वातावरणमा उल्लेख्य सुधार र प्रगति हुनु लगानीका लागि आवश्यक मानिन्छ । अहिले सरकारको स्थायित्व देखिएकाले देशमा लगानी बढ्नुपर्ने हो । आर्थिक गतिविधि बढ्नुपर्ने हो तर, त्यस्तो भएको पाइँदैन । हो, शोधनान्तर घाटा नहुनु, आयातको वृद्धिमा कमी आउनुजस्ता केही सकारात्मक आर्थिक परिसूचक देखिएका छन् । यो प्रवृत्तिले निरन्तरता पाएमा यसलाई निकै सकारात्मक मान्न सकिन्छ । योबाहेक आर्थिक विषय त्यति सकारात्मक छैनन् । खासगरी उद्योगहरू खुल्ने क्रम बढेको छैन । थप रोजगारी सृजना भएको छैन । राष्ट्रिय उत्पादन पनि चित्त बुझ्दो छैन । 

सरकारले तीन तहका सरकार सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक जोहोका लागि करको दायरा र अनुपात निकै बढायो । यसबाट जनता सरकारप्रति नकारात्मक बनेका छन् । केही राम्रा कामको थालनी  भए पनि बढी प्रचारबाजी भएकाले जनताले त्यति मन नपराएको कुरा त सामाजिक सुरक्षा कोषमा देखिएको न्यून आकर्षणबाट नै देखिन्छ । जनता सरकारी कार्यक्रममा आकृष्ट हुन नसकेपछि स्वदेशी लगानी राम्ररी बढेन । त्यही भएर अन्तरराष्ट्रिय लगानी पनि अपेक्षित रूपमा बढेको छैन । संघीयता नेपालको लागि नौलो अभ्यास हो । यो निकै खर्चिलो हुने भएकाले सरकारले आवश्यक बजेटको व्यवस्था गर्न सकेको छैन । स्थानीय सरकारलाई बढी शक्तिशाली बनाइयो । तर, लगानी गरिने स्थानीय तहमा असमञ्जस हुने देखेपछि लगानीकर्ता पछि हटेको जस्तो देखिन्छ । 

निजीक्षेत्रको लगानीविना देशको अर्थतन्त्रले गति लिन सक्दैन । सरकारको एकल प्रयासबाट विकास सम्भव पनि छैन । यस्तोमा सरकारले लगानीको वातावरण बनाउनुपर्छ । सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । डुइङ बिजनेशमा स्तर माथि उठेको राम्रो होला तर त्यतिका आधारमा मात्र लगानीकर्ताले लगानीको निर्णय गर्दैनन् । मुनाफा, मुनाफा फिर्ता लैजाने वातावरण, काम गर्ने वातावरण आदि पनि लगानीकर्ताका चासो हुन्छन् । खासगरी बजारको अवस्था र लगानीको सुरक्षा उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ । सरकारले यसै अनुसार काम गर्न सकेमात्र लगानीको वातावरण बन्न सक्छ ।

मोहित श्रेष्ठ
नक्साल, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्