arthik abhiyan
ad banner

एनआरएनको लगानीलाई सानो भन्न मिल्दैन

Nov 1, 2019 
अन्तरवार्ता
Image Not Found
कृष्ण पाण्डे, संस्थापक अध्यक्ष, एनआरएनए हङकङ

 

अर्घाखाँचीमा जन्मिएका कृष्ण पाण्डे एनआरएनए हङकङका संस्थापक अध्यक्ष हुन् । पोखराको एक होटलबाट काम थालेका पाण्डे विगत २२ वर्षदेखि हङकङमा व्यवसाय गर्दै आएका छन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, गैरआवासीय नेपाली (एनआरएन) अभियान, यसबाट नेपाललाई पुगेको लाभ लगायत विषयमा आर्थिक अभियानका मदन लम्सालले उनीसँग गरेको कुराकानीको सार : 

हङकङ कसरी पुग्नुभयो ?
तत्कालीन समयमा पोखरामा रहेका पर्यटकलाई सेवा दिने ६ ओटा होटलमध्ये एकमा काम गर्दै त्यहीँ व्यवसाय शुरू गरेको थिएँ । शुरूमा विदेश जादिनँ भन्ने नै थियो । पोखरामै रहेकी ब्रिटिश आर्मीकी छोरीसँग विवाहपछि सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गर्ने समयमा त्यहाँको परिचयपत्र बनाऊँ भन्ने रहरले हङकङ पुगियो । बस्दै जाँदा हङकङप्रति माया बस्यो । बच्चाहरू पनि उतै भए । म जाँदा बेलायतले विमानस्थल निर्माण सम्पन्न गरेर मात्रै हङकङ हस्तान्तरण गर्ने भन्ने थियो । त्यही विमानस्थलको मेकानिकल डिपार्टमेन्टमा डेढ वर्ष काम गरेँ । विमानस्थलको काम सकिएपछि कम्प्युटर इन्स्टिच्युट खोलेर काम ग¥यौं । त्यसपछि म रेस्टुराँ व्यवसायतिर लागेँ । तर सन् २००२ मा सार्स भाइरसका कारण रेस्टुराँ बन्द गर्नुपर्‍यो । त्यसपछि एशियन भिलेज नाम दिएर मेरो नेतृत्वमा केही नेपालीहरू मिलेर एशियाली खानाहरू उपलब्ध गराउने रेस्टुराँ सञ्चालन गर्‍यौं । भीआईपी, भीभीआईपीलाई सेवा दिने गरिन्थ्यो । त्यो पनि केही समयपछि खस्किँदै गयो । म पर्यटन व्यवसायी हुँ, रेस्टुराँ व्यवसायमा रमाएँ पनि । तर फूड एन्ड बेभरेजको काम त्यति सजिलो छैन । खासगरी हङकङमा भाडा एकदमै महँगो छ । त्यसैगरी गुणस्तर कायम राख्न, जनशक्तिको खर्च धान्न निकै गाह्रो भएपछि यो क्षेत्रमा निरन्तरता दिन सकिएन ।

अनि के गर्नुभयो ?
पहिले विमानस्थलमा काम गर्दा निर्माण व्यवसायको केही ज्ञान भएकाले एशियन भिलेज सञ्चालन गर्दै निर्माण व्यवसाय थालेको थिएँ । हामीले हाइराइज बिल्डिङहरूमा काम थाल्यौं । त्यसमा हामी फ्रान्सेली प्रविधिमा केन्द्रित थियौं । विस्तारै त्यस्ता बिल्डिङको निर्माण चिनियाँ प्रविधिमा रूपान्तरण हुँदै गयो । त्यसले गर्दा केही मात्रामा हाम्रो व्यवसायलाई चुनौती भयो र उक्त क्षेत्र नै छाडेँ । त्यो छोडेपछि चीनतिरको व्यापार तथा ट्राभल एजेन्सीका काम थालियो । त्यसैगरी पछिल्लो समयमा रेमिट्यान्स र फाइनान्स कम्पनी शुरू ग¥यौं ।

चीनबाट चाहिँ के के व्यापार गर्नुहुन्छ ?
डोरपानी डटकम लिमिटेडका नाममा सञ्चालित हामी सोर्सिङ (स्रोत) कम्पनी हौं । चीनमा सबैभन्दा ठूलो समस्या गुणस्तर र सिपिङको हुन्छ । माग गरेको सामान उद्योगले बनाइसकेपछि खरीदकर्ताको हातसम्म पुर्‍याउन गर्नुपर्ने सम्पूर्ण काम हामी गर्छौं । त्यसैगरी हामी आफै पनि सामान सोर्सिङ गरेर बेच्छौं । 

तपाईंकोबाट बढीजसो सेवा कहाँका मानिसले लिइरहेका छन् ?
खासगरी अफ्रिका र भारतका मानिसले सेवा लिइरहेका छन् ।

नेपालबाट छैन ?
नेपालबाट नजिक पनि छ । त्यसैले उपभोक्ता आफै जाने गर्छन् । यसका लागि हामी प्रयास गरिरहेका छौं । 

तपाईंबाट सेवा लिन चाहने नेपाली व्यापारी, व्यवसायीलाई के सुझाव दिनुहुन्छ ?
यहाँका व्यवसायीहरू उता जाने, दुई–चार ठाउँ घुम्ने र सामान किनेर फर्किने वा उताको सप्लायरसँग कुरा गरेर सामान किन्नेगरी दुई ढाँचामा सामान ल्याइरहेको देख्छु । तर हामीले ल्याएको चाहिँ तेस्रो खालको ढाँचा हो । प्रोफेशनल अथवा ठूलो सप्लाईमा खरीदकर्ताको उपलब्ध समय अनुसार हामीसँग डाटाबेसमा रहेका ८–१० ओटा फ्याक्ट्री घुमाउँछौं, जसले गर्दा बाँकी फ्याक्ट्रीभन्दा गुणस्तरमा राम्रा हुन सक्छन् । 

नेपालमा नभएको वा भएर पनि अझ राम्रोसँग गर्न सकिने कुनै व्यवसायको सुझाव छ ?
यस्ता धेरै वस्तु हुन सक्छन् । केही समयअघि मैले र एउटा साथीले बजारमा ३५ रुपैयाँमा पाइने बच्चाको डाइपरको सम्भाव्यता हेरेका थियौं । त्यसको नमूना चीनका दुई–तीनओटा फ्याक्ट्रीमा लगेर राम्रो मटेरियल राखी गुणस्तर बढाएर ब्रान्डिङ गरी यातायात खर्चसमेत जोडी काठमाडौंमा आइपुग्दा प्रतिगोटा ७ रुपैयाँमा आइपुग्ने हिसाब निस्किएको थियो । काठमाडौं तथा सीमाका शहरहरूमा मात्रै त्यो पुर्‍यायौं भने पनि विस्तारै व्यवसाय बढ्दै जान्छ । दिनको ५–७ लाख गोटा त डाइपर बिक्छ भन्ने निष्कर्ष निस्किएको थियो । म चाहिँ जहाँ काम गर्दा पनि स्थानीय पार्टनरसँगै गर्छु । तर नेपालमा स्थानीय पार्टनर सेटअप गर्न अलि अप्ठ्यारो भइरहेको छ । 

तपाईंका रेमिट्यान्स तथा फाइनान्स कम्पनीले कसरी काम गरिरहेका छन् ?
केएमई रेमिट्यान्स र केएमई फाइनान्सका नामबाट सञ्चालन भइरहेका उक्त कम्पनीहरू हङकङकै सबैभन्दा कान्छा कम्पनी हुन् । हामीले यी कम्पनी थालेको डेढ वर्षजति भयो । फाइनान्स शुरूदेखि नै उकालो लाग्यो । रेमिट्यान्समा चाहिँ हाम्रो आफ्नै सफ्टवेयर बनाउने तथा अरू रेमिट्यान्स कम्पनीको एजेन्सी लिएर काम गर्ने भन्ने विषयमा अलिकति समय लाग्यो । भर्खरै काठमाडौंका एक–दुई कम्पनीसँग टाइअप भएको छ र पूर्णरूपमा रेमिट्यान्स व्यवसाय नै चाहिँ शुरू गरिसकेका छैनौं । 

फाइनान्स कम्पनीको वार्षिक कारोबार कति हुन्छ ?
हाम्रो चुक्तापूँजी त १० मिलियन हङकङ डलर हो । बचत तथा अन्य गर्दा ५० लाख हङकङ डलर जति पुगेको होला । 

रेमिट्यान्स कम्पनीले भविष्यमा कत्तिको व्यवसाय गर्न सक्ला ?
त्यहाँ झन्डै ५ लाख त घरमा काम गर्ने विदेशी कामदार छन् । त्यसमा फिलिपिनो, बंगलादेशी, भारतीय, नेपाली लगायत छन् । उनीहरूले खान बस्न त्यहीँ पाइहाल्छन् । महीना मरेर आएको सबै पैसा पठाउने भन्ने हुन्छ । यसले कम्पनीको व्यवसायलाई राम्रो बनाउँछ भन्ने अपेक्षा छ । नेपाल कोरिडोरमा यसरी आधिकारिक रूपमा काम गर्ने हामी मात्र हौं । 

तर नेपालमै स्थापित आईएमई, प्रभु, हिमाल रेमिट लगायत कम्पनी पनि त छन् नि ।
उहाँहरू त पुग्नु नै भएको छैन । हङकङमा कम्पनी दर्ता गर्न, व्यवस्थापन गर्न मध्य एशियाका अन्य देशको तुलनामा सबैभन्दा गाह्रो छ । त्यसैले बेलायत, जापान, अस्ट्रेलियामा प्रशस्तै रेमिट्यान्स कम्पनी भइसक्दा पनि हङकङमा हुन सकेका छैनन् । अब हामी उहाँहरूसँग टाइअप गर्छौं ।

नेपालमा पनि तपाईंको लगानी छ ?
छ । सानिमा माई हाइड्रोको संस्थापक लगानीकर्ता नै हुँ । दोर्दी हाइड्रोको सञ्चालक समितिको सदस्य छु । पोखरामा होटल प्रयोजनकै लागि जग्गा लिइसकेको छु ।

हङकङमा कति नेपाली छन् ? त्यहाँ रहेका नेपाली कुन पेशामा बढी आबद्ध छन् ?
पहिले ४०–४५ हजारसम्म पनि पुगेका थिए । पछि त्यहाँबाट करीब १५ हजार जति बेलायत गएकाले अहिले ३० हजार छन् । बेलायती सैनिकको त त्यहाँ धेरै लामो इतिहास छ । पछि पनि उनीहरूकै परिवारको बाहुल्य छ । आर्मी क्याम्पभन्दा बाहिरका र सन् १९९५ पछि पुगेकाहरू छन् । त्यसपछि गएका व्यवसायमा भन्दा बढीजसो काममै भेटिन्छन् । तर सन् २००८ पछि गएका मानिसले घर बनाउने, जग्गा किन्ने गरिसकेपछि व्यवसायमा लाग्नेको ठूलो जमात छ । झन्डै १ हजार जति नेपाली बिजनेश हाउसेस छन् त्यहाँ । 

कुन क्षेत्रमा र सफलताको कस्तो स्तरमा छन् उनीहरू ?
शुरूमा निर्माण क्षेत्रमा बढी मानिसहरू आबद्ध भए । त्यसपछि त्यो अनुभवलाई व्यवसायमा रूपान्तरण गरे र यो क्षेत्रमा अझै पनि उल्लेख्य छन् । अहिले फूड एन्ड बेभरेजमा पनि धेरै संलग्न छन् । त्यहाँका नेपाली, भारतीय मात्रै नभई मल्टिनेशनल फूड एन्ड बेभरेज कम्पनीमा पनि नेपालीको राम्रो उपस्थिति छ । यस बाहेक अफिस जबमा पनि नेपालीहरू छन् । 

नेपालीलाई जोड्ने संगठनहरू के कति छन् ?
१२० ओटा जति संस्थाहरू छन् । त्यसमा जातीय, क्षेत्रीय, गाउँका समेत संगठन छन् । यो भनेको त्यहाँ पुगेको पहिलो पुस्ता हो । यसले नेपाली खाना, नेपाली सस्ंकृति छोड्दैन पनि ।

एनआरएन अभियानमा कति मानिस छन् ?
त्यो संख्या परिवर्तन भइरहन्छ । प्रत्येक २ वर्षमा सदस्यता नवीकरण गरिरहनु पर्छ । सन् २०१७ मा सदस्यता संख्या झन्डै ४ हजार पुगेको थियो । अहिलेको अधिवेशनमा १ हजार १०० जति भयो । 

हङकङबाट यसपालि अधिवेशनमा कति आए त ?
जम्मा १०० जना आउन पाउने हाम्रो कोटा थियो । तर ७० जना जति मात्रै आएका थिए ।

एनआरएन अभियानलाई कसरी हेरिरहनु भएको छ ?
म एनआरएन हङकङको संस्थापक अध्यक्ष हुँ । सन् २००४ मा त्यहाँ एनआरएन अभियान शुरू गरिएको हो । त्यसपछि म सहभागी भएको यो पहिलो अधिवेशन हो । तीन पटकसम्म आईसीसी सदस्य भएर हङकङको प्रतिनिधित्व गरेँ । एशिया प्यासिफिक क्षेत्रमा डेप्युटी को–अर्डिनेटर भएँ ।

एनआरएनको समग्र अभियानलाई चाहिँ कसरी हेर्नु भएको छ ?
यो अभियान यस्तो समयमा शुरूआत भयो कि जुन समयमा म नेपाललाई लगभग घृणा गर्ने अवस्थामा पुगेको थिएँ । माओवादी द्वन्द्वसँगै सारा चीजहरू भताभुंग अवस्थामा थिए । सुविधा सम्पन्न ठाउँमा बसिरहेको मैले त्यहाँ र यहाँको फरक देखिरहेको थिएँ । यसले मेरो मनमा हीनताबोध उत्पन्न भइसकेको थियो । म मात्र होइन, विदेश जाने जो कोहीको मनमा ‘नेपालमा हामीले साँच्चै दुःख पाएका रहेछौं, हाम्रा बाबु बाजेहरू पनि सुरक्षित छैनन्’ भन्ने सोचको अवस्थामा एनआरएन स्थापना भएको हो । 

धेरैका बुबाआमा यहाँ हुनुहुन्छ । कतिका बच्चा, श्रीमती वा श्रीमान यहाँ छन् । कमाएको पैसाको आधा यता पठाउनु पनि छ । अनि पैसा कहाँ र कस्तो ठाउँमा खर्च भइरहेको छ भन्ने विश्लेषण त गर्छ मान्छेले । त्यही अवस्थामा जब हामीले सन् २००३ मा एनआरएन स्थापना ग¥यौं । त्यसपछि एनआरएनले उत्पादन गरेको ऊर्जा, सिकाएको राष्ट्रियता हाम्रो अगाडि छ । २ वर्षको अवधि अर्थात् एक कार्यकालभित्रमा ६ ओटा क्षेत्रमा हामी बैठक गर्छौं । त्यसपछि विश्व सम्मेलन काठमाडौंमा गर्छौं । राष्ट्रिय संयोजन समिति (एनसीसी)का अधिवेशनहरू हुन्छन् । एउटा मान्छेले २ वर्षको बीचमा विदेशमा र नेपालमा दौडिएर जे देख्न सक्छ, पत्रिका पढेर त्यो देखिन्न । जुन नेटवर्क बन्न सक्छ, त्यो बन्न सक्दैन । विश्व सम्मेलनका बेला त सरकारका सम्पूर्ण निकायहरूसँग भेट्ने, अन्तरक्रिया गर्ने मौका पाउँछौं । नेपालमा विकास निर्माणका काम कहाँ, के कति हुँदै छ भन्ने बाहिर बाटोमा भन्दा नजिकबाट नीति निर्माणका कुरा देख्न, सुन्न पाउँछौं । त्यसले मान्छेको दृष्टिकोण नै परिवर्तन गरिदिन्छ । यसरी बुझेको मान्छेले फर्किएर आफ्नो त्यहाँको समुदायमा पनि बुझाउँछ । गएको १५ वर्षयता हेर्‍यौं भने शायद एनआरएन नभएको भए यति धेरै लगानी भित्रिने थिएन । साथै गएका नेपालीको आउने जाने पनि हुँदैनथ्यो । यस हिसाबले नेपालप्रतिको धारणा सुधार्न एनआरएन अभियानले ठूलो भूमिका निर्वाह गरेको छ । यही अभियानबाटै हामीले एनआरएनलाई नागरिकता दिनुपर्छ भन्यौं । सरकारले एउटा तहको नागरिकता दिने भयो । २०६४ सालमै परिचयपत्र दियो । त्यसपछि पासपोर्ट लिन पनि सहज भयो । नेपालभित्र यति धेरै एड्भोकेसी गर्‍यौं कि एनआरएन भन्ने हाम्रो इज्जत नै बन्यो । 

नेपालले एनआरएनलाई जे जति दियो, त्यो अनुसार एनआरएनले साँच्चिकै काम गर्‍यो त ?
८२ देशमा एनसीसी गठन भइसकेको छ । १५ वर्षसम्म हाम्रा साथीहरूले नेपाल आउने, जाने, विश्व घुम्ने–चिन्ने र नेपाललाई चिनाउने हिसाबमा जति योगदान गर्नुभएको छ, त्यति चाहिँ राज्यले आउने ५०० वर्षमा पनि गर्न सक्ने थिएन । अहिले विश्वका ठूलाठूला सबै देशमा ‘नेपाल फेस्टिभल’ हुने गरेका छन्, जहाँ लाखौं मानिसले भ्रमण गर्छन् । नेपालमा नाकाबन्दी हुँदा हामीले सबै देशमा रहेका भारतीय राजदूतावासमा ज्ञापनपत्र दियौं । यो भनेको राज्यले खर्च गरेर पनि नसक्ने कुरा हो । हामी तीज, दशैं, तिहार जस्ता चाड ती देशमा यति उत्साहका साथ मनाउँछौं कि नेपालमै चाहिँ त्यति महŒवका साथ नमनाए जस्तो लाग्छ । कतिपय देशहरूमा नेपाली स्कूल खुलेका छन् । चीनका स्कूलमा नेपाली पढाइ हुन्छ । सरकारले मेरो नेपाली भाषा पढाइदिनुस् भन्ने अवस्था त शायद थिएन । स–सानादेखि ठूल्ठूला काममा एनआरएनले लगानी गरेकै छ । 

एनआरएनले नै सबै लगानी गर्न सक्ने भन्ने हुँदैन र हुनु पनि हुँदैन । नेपालका उद्योगी, व्यवसायीको पूँजीको तुलनामा हामीसँग भएको पूँजी त एकदमै थोरै हो । तर तुलनात्मक रूपमा एनआरएनको पहिलो पुस्ता हामी जुन प्रेरणाका साथ आएर लगानी गरेका छौं, त्यसलाई म सानो परिमाण भन्दिनँ । 

एनआरएनको नेतृत्वमा बसेका केही मानिसले गर्दा यसको छवि बिगारे जस्तो तपाईंलाई लाग्दैन ?
यो अभियान आफैमा १६ वर्षको भयो । यसका आयामभित्र चिहाएर हेर्नुभयो भने जे भइरहेको छ, ठीक भइरहेको छ । तर अब चाहिँ सुधार गर्ने हो । 

एनआरएनको आलोचना हुने कुराहरूमा नेपाललाई खत्तम भन्ने एउटा समूह छ । दोस्रो, पछिल्लो सम्मेलनमा सहभागी हुन आउनेले विमानस्थलमा गरेको तोडफोड तथा सम्मेलनमा देखिएको भद्रगोल जस्ता कुराले जनमानसमा एनआरएनप्रति नकारात्मक सन्देश गएको छ । यस सम्बन्धमा के भन्नुहुन्छ ?
नेपालको विरोध गर्ने परिपाटीप्रति हाम्रो पनि एकदमै चित्त दुख्छ । विभिन्न देशमा बसेका तर दशौं वर्षदेखि नेपाल नआएकाहरूले सामाजिक सञ्जालमा तथानाम लेखेको भेटिन्छ । तर कुनै न कुनै चीजको अभावमा यहाँबाट हिँड्नुपरेको पीडा उनीहरूका नकारात्मक तथा प्रतिक्रियात्मक धारणामा व्यक्त भएको पाइन्छ । अमेरिकामा बस्ने अमेरिकीहरूभन्दा बाहिर बस्नेहरूले राष्ट्रपति ट्रम्पका सम्बन्धमा बढी नकारात्मक कुरा गरेको भेटिन्छ । विकासोन्मुख देशको कुरा गर्दा त नेता देखे पिटिदिने, कालो झन्डा देखाउने हुन्छ । 

एनआरएनको नेतृत्वमा पुगेकाहरूले दुबई, कतार जस्ता देशमा रहेका नेपालीलाई समेट्न नसकेको भन्ने कुरा आउँछन् । त्यस्तो असमानता छ ?
गुनासोका रूपमा त धेरै कुरा हुन सक्छन् । आप्mनै खर्चले धान्न नसक्दा कार्यक्रमहरूमा सहभागी हुन सकिँदैन । हालैको विश्व सम्मेलनमा पनि ८० लाखमध्येबाट झन्डै ३ हजार जना सहभागी भएका हुन् । धान्न नसक्नेका लागि एनआरएनले केही गरेन भन्ने भन्दा पनि सबैका लागि हुनेगरी गरेका कामलाई पनि केलाउँदा राम्रो हुन्छ । यही अभियानले नेपाल आउने बाटो खुला भएको छ । दुई पैसा यहाँ लगानी गर्ने अवसर बनेको छ । यसबाट यति ठूल्ठूला प्ल्याटफर्म बनेका छन् कि स–साना कुराहरूमा अल्झिरहनु हुँदैन भन्ने मलाई लाग्छ । 

एनआरएन अभियान अब कसरी अगाडि बढ्छ ?
२००३ मा बनेको आधारले एनआरएन यहाँसम्म आयो । अब हामी चौबाटोमा छौं । नेतृत्वका हिसाबले पुस्ता परिवर्तन भएको छ । समयसँगै अब पुराना विधान, ढाँचाले काम नगर्न सक्छन्, परिवर्तन गर्नुपर्ने हुन सक्छ । 

एनआरएन सम्मेलनको अन्त्यतिर १५–१६ करोडको बचत भएको संस्थाको बजेट सबै सकिएर ऋणात्मकतातर्फ गएको कुरा आयो । पछिल्लो नेतृत्वले खासगरी बढी वित्तीय अनुशासनहीनता गरेको हो ?
भ्रष्टाचार गरेर खाने भन्ने खालका कोही पनि साथीहरू नेतृत्वमा हुनुहुन्न । चलिरहेका परियोजनालाई निर्धारित फन्डले चलाउँदै गर्ने र नयाँ फन्ड पनि बनाउँदै जाने भन्ने प्रक्रिया क्रमिक रूपमा गरिरहने भन्ने हामीकहाँ छ । तर गएको कार्यकालभित्र तीनओटा खर्चिला परियोजनाहरू भए, जसलाई निर्धारित बजेटले भ्याएन । त्यसैगरी गएको कार्यसमिति चलिरहेका परियोजनामै व्यस्त हुनाले फन्ड निर्माणमा खास काम गर्न भ्याएन भन्छु म । तर केही न केही कमी कमजोरी त भयो ।

जस्तो लाप्राक (भूकम्प पीडितका लागि बस्ती निर्माण परियोजना)बाट हात झिक्यो, होइन ?
हात झिकेको होइन, प्रतिबद्धता गरे अनुरूप नै ३ महीनाभित्र बस्ती हस्तान्तरण गर्ने कुरा नेतृत्वबाट आएको छ । 

एनआरएनएको संस्थापक अध्यक्ष जस्तो व्यक्तिले यसपालिको अधिवेशन नै बहिष्कार गर्नुभयो, यो अभियानमै छैन जस्तो कुरा गर्नुभयो नि ।
अधिवेशनको उद्घाटनको मञ्चमा हुनुपर्ने नदेखेपछि मैले उहाँलाई तुरुन्तै म्यासेज गरेँ । उहाँले ‘हामीलाई एनआरएनए  चाहिन्छ, राजनीतिक दल वा तिनका भातृ संगठन होइन, त्यसैले मैले नआउने निर्णय गरेँ’ भन्ने म्यासेज पठाउनु भयो । उहाँ नआएर राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने एउटा सन्देश दिनुभयो । अर्को कुरा, आम एनआरएनले नबुझेको पनि हुन सक्छन् कि उहाँ संस्थापक अध्यक्ष भएको हिसाबले त्यसै पनि चिन्ता छ । त्यसैगरी गएको ५–६ वर्षदेखि उहाँ काठमाडौंमै बस्नु भएको छ । उहाँको वर्षको झन्डै ७० प्रतिशत समय काठमाडौंमै बित्छ । त्यस हिसाबले पनि उहाँले राजनीतिक हस्तक्षेपका कुरा अरूले भन्दा बढी बुझ्नु पनि भएको होला । तर नआउनु नै पनि त्यति ठीक थिएन भन्ने मलाई लाग्छ ।
 
हङकङमा अहिले किन आन्दोलन भइरहेको हो ? त्यसले त्यहाँ रहेका नेपालीलाई असर पार्छ कि पार्दैन ?
यो आन्दोलनमा हङकङका युवाको असन्तुष्टि प्रकट भएको छ । विश्वका असाध्यै बढी विकसित महानगरहरूमा केका लागि पढ्ने, केका लागि कमाउने भन्ने नै छैन । पहिलेदेखि नै सुविधा सम्पन्न व्यवस्था छ, काम पाइएन भने सरकारले बेरोजगार भत्ता दिन्छ । घर नभए घर पाइन्छ । तर अहिले जुन रूपमा आर्थिक, सामाजिक हिसाबले युवाहरू सुरक्षित हुनुपर्थ्यो, त्यो नभएको पो हो कि भन्ने कुराले युवाहरू झस्किएका छन् । त्यसैबाट उब्जिएको आन्दोलन हो । तर त्यसले नेपाली समुदायलाई ठाउँ छोडेर हिँड्नुपर्ने अवस्था निम्त्याउँदैन । किनकि नेपाली समुदाय अनुशासित र राजनीतिक रूपमा असाध्यै सचेत छ । त्यसमाथि त्यो आन्दोलनमा नेपालीको सहभागिता पनि हुँदैन । आन्दोलनले त्यहाँको अर्थतन्त्रलाई तल लैजान्छ । त्यसले व्यावसायिक अवसर पनि सृजना गर्न सक्छ । हाम्रो ध्यान त्यता केन्द्रित हुनुपर्छ । 

नेपालमै फर्किएर स्थापित हुने तपाईंको योजना छ कि छैन ?
घर, बच्चाहरू उतै भएको हिसाबले यतै स्थापित त नभइएला । तर पनि यहाँ गरेको लगानी तथा भावनात्मक सम्बन्धका कारण अबको अलि बढी समय नेपालमा बित्न सक्छ । अवकाशपछिको जीवनयापनको हिसाबले त नेपाल उत्तम ठाउँ हो । 
 

प्रतिक्रिया [1]
User Image

HIMALAYAN

[Nov 7, 2019 03:05pm]

कृष्ण सरको अन्तर्रबार्रता पढ़े, संघर्ष दूख होईन, उज्वल भबिस्यकोलागी अपरिहार्य हो र रहेछ भन्ने कुरा बुझें । ब्यापारले नाफा र अवसर दूबै खोज्दो रहेछ, यो हामीहरुको लागी प्रेरणादायक छ । फ़ेरी फ़ेरी पनि यसरीनै पड़न बुज्न पाईयोस ।


प्रतिक्रिया दिनुहोस्