arthik abhiyan
ad banner

मिर्गौला बिरामी अस्पताल आउँदा दुवै हातमा सिरिन्ज खोप्नु हुँदैन 

Nov 1, 2019 
अन्तरवार्ता
Image Not Found
डा. प्रेमराज वैद्य, मुटु तथा रक्तनली रोग विशेषज्ञ, निदान अस्पताल

 

संसारमा मिर्गौला रोगीको संख्या बढ्दै गएको छ । सजिलै मिर्गौला नपाइने हुँदा डायलासिसमा बसेर उपचार गराउनेको संख्या ठूलो छ । डायलासिसका मुख्यतया हेमो डायलासिस र सीएपीडी पेरिटोनियल गरी दुई तरीका छन् । यसमा हेमो डायलासिसअन्तर्गत फिस्टुला बनाएर गरिने डायलासिस सबैभन्दा उपयुक्त हुने मुटु तथा रक्तनली रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य बताउँछन् । यसै सन्दर्भमा फिस्टुला के हो र कसरी बनाउने तथा यसले गर्ने काम आदि विषयमा अभियान दैनिकका काशीराम बजगाईले डा. वैद्यसँग गरेको कुराकानीको सारः

एभी फिस्टुला भनेको के हो ?
कुनै कारणले मिर्गौला फेल भयो भने मिर्गौला प्रत्यारोपण वा डायलासिस गर्न सकिन्छ । हेमो डायलासिस र सीएपीडी पेरिटोनियल  डायलासिस गरी दुई तरिकाका डायलासिस हाल प्रचलनमा छन् । चिकित्सकको सल्लाहमा घरमै गरिने डायलासिस पेरिटोनियल डायलासिस हो । यसमा पेटमा आन्द्राको बाहिरको पत्र र छालाको बीचमा पाइप राखिन्छ । दुईओटा पाइप राखेर एउटा पाइपमार्फत २/३ लिटर पानी पेटमा पठाएर ३/४ घण्टापछि अर्को पाइपबाट शरीरमा भएको विकार बाहिर निकाल्न सकिन्छ । हेमो डायलासिसमा मेशिनमार्फत विशेषज्ञको सहयोगमा रगत सफा गरिन्छ । हेमो डायलासिसका लागि सबैभन्दा उपयुक्त विकल्प एभी फिस्टुलाको निर्माण हो ।

हेमो डायलासिस कसरी गरिन्छ ।
हेमो डायलासिस गर्दा आकस्मिक अवस्थामा घाँटीमा पाइप राखेर पाइपबाट रगत फिल्टर गर्न सकिन्छ । यस्तो अवस्थामा शुरूमा टेम्पोररी क्याथेटर राखिन्छ । तर जसको फिस्टुला बनाउन नसकिने गरी नसा खराब भएको छ र तत्काल फिस्टुला बनाउन सकिने अवस्थामा छैन भने उसको घाँटीबाट छातीसम्म पर्मानेन्ट क्याथेटर राख्न सकिन्छ । बढीमा पर्मानेन्ट क्याथेटर १० महीनासम्म राख्न सकिन्छ । घाँटीको दुइटै नसा बिग्रिएको छ भने तिघ्रामा पनि त्यो क्याथेटर राख्न सकिन्छ । तिघ्राको नशामा राखिएको सिलिकन पाइप राख्दा रगत जम्ने सम्भावना बढी हुन्छ । त्यो समयमा रगतको पातलो बनाउने औषधि वा इन्जेक्शनको प्रयोग गरिन्छ । फिस्टुला बनाएपछि पाइप झिक्न सकिन्छ र यदि फिस्टुला बनाउन नसकिने अवस्था छ भने नक्कली नसा पनि राख्न सकिन्छ ।

डायलासिसका लागि उपयुक्त विकल्प कुन हो ?
पेटमा पाइप राखेर र मेशिनको माध्यमबाट डायलासिस गर्न सकिन्छ । पाइप राखेर डायलासिस गर्दा संक्रमण हुने सम्भावना बढी हुन्छ । हेमो डायलासिस त्यसमा पनि फिस्टुला सबैभन्दा राम्रो विधि हो । 

एभी फिस्टुला कसरी बनाइन्छ ?
हातमा रक्तनली राम्रो छ भने रेडियल धमनी र सेफालिक शिरामा फिस्टुला बनाइन्छ । त्यो राम्रो नभए त्यसभन्दा माथि र त्यो पनि राम्रो नभए त्यो भन्दा माथि गर्दै सेफालिक शिरा र ब्राखियल धमनीसम्म फिस्टुला बनाउन सकिन्छ । यो बनाउँदा बिग्रिने सम्भावना बढी हुन्छ । संसारमा यसरी जोडिएको नशा ३० प्रतिशतसम्म बिग्रिने गरेको छ । भिडियो एक्सरे गरेर नशा ब्लक छ कि छैन, नशाको आकार कत्रो छ, फिस्टुला बनाउँदा डायलासिस गर्न सकिने अवस्थामा छ कि छैन भन्ने अध्ययन गरेर फिस्टुला बनाउने हो भने बिग्रिने सम्भावना कम हुन्छ । 

फिस्टुला किन बनाउने ?
डायलासिस गर्दा रगत मेशिनमा फिल्टर गर्न सजिलो होस् भनेर फिस्टुला बनाइन्छ । डायलासिस गर्दा रगतको चाप कम्तीमा २०० एमएल प्रतिमिनेट हुनुपर्छ । डायलासिस गर्दा रगतको चाप कम भएमा रगत पगाल्ने औषधि राख्दा पनि रगत छिट्टै जम्छ र फिल्टर हुँदैन । यस्तो अवस्थामा डायलासिसको राम्रो नतिजा आउँदैन । रगतको नलीमा रगतको चाप कम हुने भएकाले डायलासिसका लागि रगतको चाप बढाउन फिस्टुला बनाइन्छ । 

डायलासिसभन्दा पहिले नै फिस्टुला बनाउनुपर्छ ?
फिस्टुला बन्न कम्तीमा २ देखि ३ महीना लाग्ने भएकाले डायलासिस गर्नुपर्ने अवस्था छ भने डायलासिस गर्ने समयभन्दा ५÷६ महीना अगाडि नै फिस्टुला बनाउन आवश्यक हुन्छ । जनचेतनाको अभावले पनि समयमै फिस्टुला बनाउन नआउनेको संख्या ठूलो छ । बिरामीलाई डायलासिस गर्नुपर्ने अवस्था देखिएमा डायलासिस गर्ने समयभन्दा पहिले नै फिस्टुला निर्माण गर्नतिर लाग्नु राम्रो हुन्छ । तर डाक्टरले जानकारी दिँदा पनि बिरामी समयमै फिस्टुला बनाउन आइपुग्दैनन् । शल्यक्रिया गरेर शिरा र धमनी जोडिने भएकाले डायलासिस गर्ने समयभन्दा अगाडि नै किन शरीरमा घाउ बनाएर फिस्टुला बनाउने भन्ने जनचेतनाको अभावले बिरामी फिस्टुला बनाउन चाहँदैनन् । तर, समयमै फिस्टुला बनाउने हो भने रोगको उपचार सहज हुन्छ । 

फिस्टुला बनाइसकेपछि बिग्रिने सम्भावना कत्तिको हुन्छ ?
नसा राम्रो नभए फिस्टुला बन्दैन । बने पनि कसैको बिग्रिने र खुम्चिने हुन्छ । रगत जमेर वा रक्तचाप कम हुनुलगायत कारणले नसा बन्द हुन सक्छ । फिस्टुला बनाउनुअघि नै राम्रोसँग अध्ययन गरेर बनाउने हो भने बिग्रिँदैन ।

के कारणले नसा बिग्रिन सक्छ ?
मिर्गौलाका बिरामी अस्पतालमा आउनेवित्तिकै दुवैै हातमा सुई घोच्नु हुँदैन । एउटा हात बचाएर राख्नुपर्छ । जुन हातको नसा राम्रो छ त्यो बचाउनुपर्छ । त्यसमा फिस्टुला बनाउनुपर्ने हुनसक्छ । शारिरीक व्यायामको कमी, सिरिन्जको प्रयोग लगायत कारणले नसा बिग्रिने सम्भावना हुने हुँदा यसबाट बच्नुपर्छ ।

कतिपटकसम्म फिस्टुला बनाउन सकिन्छ र यसको आयु कति वर्ष हुन्छ ?
हालसम्म १० पटकसम्म बनाइएको छ । फिस्टुला राम्रो बनेको छ, नशा राम्रो छ भने यसले २०औं वर्षसम्म पनि काम गर्छ । 

फिस्टुला बनाएपछि कुनै समस्या पनि देखिन्छ ?
फिस्टुला बनाउँदा ठूलो प्वाल पारियो भने दैनिक ड्रेसिङ गर्नुपर्ने, रगत बग्ने आदि समस्या देखिन सक्छ । जसकारण फिस्टुला बनाउँदा जतिसक्दो सानो प्वाल बनाउनुपर्छ । ठूलो प्वाल बनाउँदा औंला नचल्ने, हात नचल्ने जस्ता समस्या देखिन सक्छ ।

फिस्टुला बनाएपछि कति समयको अन्तरमा जाँच गर्नुपर्छ ?
फिस्टुला बनाएको एक हप्तापछि त्यसको जाँच गरिन्छ । घाउमा सामान्य समस्या भए मलम लगाइन्छ । त्यसपछि टेनिस बल चलाउन दिइन्छ । १ महीनाजति हातले बल चलाएपछि त्यसको पुनः जाँच गरिन्छ । जाँच गर्दा फिस्टुला विकसित भएको छ भने मात्रै डायलासिस गर्नुपर्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्