arthik abhiyan
ad banner

आयात निर्यात सूचकको संकेत

Nov 4, 2019 
सम्पादकीय
NA


नेपालमा उत्पादन नै नहुने पाम आयल तथा सोयाबिन आयलको निर्यात बढ्दा मुलुकको समग्र निर्यात झन्डै १५ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महीनाको अवधिमा आयातचाहिँ १० दशमलव ३४ प्रतिशत घटेको छ ।

पाम तेल, अलैंची, जुटको सामान, धागो, कपडा लगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जूस, तयारी पोशाक, पश्मिना लगायत वस्तुको निर्यात घटेको छ । यसमा पनि भारततर्फको निर्यात ४६ प्रतिशत बढेको छ भने चीनतर्पmको निर्यात १७ दशमलव ४ प्रतिशत घटेको छ ।

भारततर्फ यति ठूलो परिमाणमा निर्यात वृद्धि हुनुका कारण पाम र भटमासको तेल निर्यात बढ्नु हो । मुलुकको कुल निर्यातमा पाम तेलको अंश झन्डै २७ प्रतिशत रहेको छ । नेपालमा उत्पादन नहुने तर तेस्रो मुलुकबाट आयात गरी भएको निर्यात वृद्धि स्थिर रहला त भन्ने प्रश्न उब्जिएको छ ।
 
आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ८६ करोडको पाम आयात गरी प्रशोधन गरेर १० अर्ब ३३ करोड रुपैयाँ बराबरको तेल भारत निर्यात गरिएको थियो । त्यस्तै २ अर्ब बराबरको भटमासको तेल निर्यात गरेको थियो । तर, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै ७ अर्ब २६ करोडको पाम र भटमासको तेल निर्यात भइसकेको छ ।

भारतले स्वदेशी किसानलाई राहत दिन पाम आयलको आयातमा ५९ दशमल ४ प्रतिशत र भटमासको तेल आयातमा ४४ प्रतिशत भन्सार शुल्क पुर्‍यायो । तर, साफ्टाको प्रावधान अनुसार सार्क मुलुकहरूले शून्य भन्सारको सुविधा पाएका छन् । यही भएर नेपाल, बंगलादेश र श्रीलंकाले पाम र भटमासको तेलको भारत निर्यात बढाएका हुन् । नेपाली निर्यातकर्ताले यस्तो निर्यातमा अनुदानसमेत पाउने भएकाले व्यवसायीहरूले धमाधम पाम आायात गरेर तेल निर्याततर्फ लागेका हुन् । यसकै लागि बन्द भएका तेल मिलसमेत सञ्चालन हुन थालेका छन् । यसबाट तत्कालका लागि नेपालको निर्यात व्यापार बढेको देखिएको हो । तर, यो दिगो हुनेमा भने शंका नै छ ।
 
गत वर्षदेखि अस्वाभाविक रूपमा पाम आयलको निर्यात बढ्नुमा मूलतः नेपाल र भारतबीच रहेको भन्सार महसुल भिन्नता नै प्रमुख कारण हो । तर, यसले विगतमा झै नेपाली बनस्पति घ्युको नियति नभोग्ला भन्न सकिँदैन ।
 
यस्तोमा नेपालले आफूले कच्चा पदार्थ मात्रै ल्याएको र प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर भारत निकासी गरेको भनी भारतलाई आश्वस्त पार्न सक्नुपर्छ । यतिमात्र होइन, नेपालमै उत्पादन हुने सामानलाई समेत भारतले यस्तै दृष्टिले हेर्न थाल्यो भने अहिलेको वृद्धि घातक साबित हुन सक्छ भन्नेमा सचेत हुनैपर्छ । स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नु बढी बुद्धिमानी हुन्छ ।
 
अहिले आयात पनि घटेको छ । आयात घट्नु पक्कै वैदेशिक व्यापारका दृष्टिले निकै सकारात्मक हो । तर, आयात घट्यो भन्दा पनि कस्ता वस्तुको आयात घट्यो भन्ने हेरिनुपर्छ । अहिले हवाईजहाज तथा पार्टपुर्जा, बिलेट, सुन, पेट्रोलियम पदार्थ, फलाम तथा स्टील लगायत वस्तुको आयात घटेको छ । विद्युतीय सामग्रीहरूको आयात भने बढेकोे छ ।
 
आयात घट्दा नेपालको व्यापारघाटाको अंकमा पनि केही कमी त आएको छ तर यो अर्थतन्त्रमा सुधार आएको संकेत नै हो भनेर ठोकुवा गर्न भने सकि“दैन । तर, स्वदेशी उत्पादन बढेर आयात घटेको हो भने अर्थतन्त्र सही दिशामा अघि बढेको छ भनेर मान्न सकिन्छ । होइन, उपभोग घटेर आयात घटेको हो भने व्यापारघाटा कम देखिए पनि अर्थतन्त्र सही बाटोमा छैन भन्ने नै अर्थ लाग्छ । औद्योगिक कच्चा पदार्थको आयात घटेको हो भने पनि अर्थतन्त्रका लागि सकारात्मक मान्न सकि“दैन । अहिले आयात घट्नु र निर्यात बढ्नलाई सरकारले ठूलो उपलब्धि मानेको छ । तत्कालका लागि यो सोच ठीकै भए पनि अर्थतन्त्रमा सुधार नै आउन थालेको भनेर पत्याउने आधार भने देखिँदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्