arthik abhiyan
ad banner

  वित्तीय साक्षरताविनाको वित्तीय पहुँच 

Nov 5, 2019 
लेख | दृष्टिकोण
NA
author avatar डा.दिवाकर वशिष्ठ

बैंकिङ सेवामा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने नीतिअनुरूप नेपालका बैंकहरूले वित्तीय पहुँच बढाउनमा जोड दिँदै आएका छन् । बैंकहरूले एकातिर वित्तीय संस्थाहरूको सेवा बढाउनुका साथै सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिएको पाइन्छ भने अर्कोतर्फ नागरिकमा वित्तीय साक्षरता लगायत वित्तीय सेवा उपयोग अभिवृद्धि गर्न जानकारीमूलक र चेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याएका छन् । वित्तीय पहुँच सुनिश्चित हुन वित्तीय सेवाको आपूर्ति र माग दुवै पक्ष सुदृढ हुन जरुरी छ । तथ्यांकले कुल जनसंख्याको करीब ६० प्रतिशतमा वित्तीय पहुँच र ४० प्रतिशत जनतामा मात्र वित्तीय साक्षरताको अनुभूति रहेको देखाउँछ । वित्तीय साक्षरताविनाको वित्तीय पहुँचले वैंक तथा वित्तीय संस्थाको खर्च बढाई निरन्तर घाटामा जाने प्रवृत्ति देखा पर्ने लक्षणहरू देखिन थालेका छन् । 

मुलुकमा एक चौथाइ जनसंख्या गरीबीको रेखामुनि रहेको छ । गरीबीबाट मुक्त गर्न वित्तीय साक्षरता र चेतना अपरिहार्य छ । उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिम न्यूनीकरण गर्न सकिन्छ । नेपालमा विविध कार्यक्रमको तर्जुमा गरी वित्तीय साक्षरताको थालनी भएको देखिन्छ तापनि अपेक्षित नतीजा प्राप्त हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले समेत आफ्नो एकीकृत निर्देशन नं २१ मार्फत वित्तीय साक्षरताको कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । 

बैंक तथा वित्तीय संस्थाको शाखा बढाउने कार्य तीव्ररूपमा भइरहेको छ । गत १ वर्षको अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी शाखा थपिएका छन् । कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाता संख्या पुग्ने अवस्थामा छ । एक व्यक्तिको एउटै खाता भएको आधारमा करीब १ करोड ८० लाख निक्षेप खाता संख्या देखिएको छ । यो संख्या नेपालको कुल जनसंख्याको ६० दशमलव ९ प्रतिशत हुन आउँछ । 

२०७६ असोज महीनासम्ममा प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेको छ भने सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ । प्रदेश १ र गण्डकी प्रदेशका एक एक स्थानीय तह र कर्णाली प्रदेश, प्रदेश ३ र प्रदेश २ का दुई दुई स्थानीय तहमा अझै बैंक शाखा पुगेका छैनन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका एटीएम संख्यामा उल्लेख्य वृद्धि हुँदै २०७६ असार मसान्तमा ३ हजार ३१६ पुगेको छ । अघिल्लो वर्ष यो संख्या २ हजार ७९१ रहेको थियो । त्यसैगरी डेविट कार्ड, क्रेडिट कार्डको प्रयोगमा समेत तीव्रता आएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करीब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या समेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ । त्यसैगरी, शाखारहित बैंकिङ केन्द्रको संख्या पनि बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा बढेसँगै यी संस्थामा निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो व्यक्तिले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोलेको आधारमा पनि वित्तीय पहुँचको मापन गर्न सकिन्छ । यो विधि अवलम्बन गर्दा सबै निक्षेप खाता गणना गर्नुका साथै एक व्यक्तिको एकभन्दा बढी निक्षेप खाता भएमा सो दोहोरोपना हटाउनु आवश्यक हुन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल ग्रामीण र शहरी क्षेत्रमा वित्तीय पहुँचमा उच्च भिन्नता देखिएको छ । शहरी क्षेत्रमा ८९ प्रतिशत जनता ३० मिनेटभित्र नजीकको वाणिज्य बैंक शाखामा पुग्न सक्छन् भने ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनता मात्र यो समयमा नजीकको वाणिज्य बैंक शाखामा पुग्ने स्थिति रहेको छ । १ घण्टाभित्र वाणिज्य बैंक पुग्न सक्ने घरपरिवार तराई क्षेत्रमा ७५ प्रतिशत, पहाडमा ४५ प्रतिशत र हिमालमा १७ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा पुग्न लाग्ने औसत समय शहरी क्षेत्रमा १६ मिनेट र ग्रामीण क्षेत्रमा १३५ मिनेट रहेको छ । उक्त सर्वेक्षणका अनुसार करीब २० प्रतिशत घरपरिवारले मात्र बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएको देखिएको छ । नेपालका कुल वयस्कमध्ये ४० प्रतिशतको बैंक सेवामा पहुँच रहेको देखिएको छ भने शहरी क्षेत्रका ५६ प्रतिशत र ग्रामीण क्षेत्रका ३६ प्रतिशत वयस्कको बैंकिङ सेवामा पहुँच रहेको देखिएको छ । 

नेपालमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा बढाउने र अर्कोतर्फ वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले वित्तीय पहुँच बढ्दै गएको हो । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करीब ३ हजार ३०० मा आइपुगेको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ । पछिल्लो समयमा नेपालमा बैंकिङ सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६० दशमलव ९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सकिन्छ ।

तसर्थ वित्तीय साक्षरता र वित्तीय पहुँचलाई समानुपातिक रूपमा लैजानुपर्छ । नेपालमा वित्तीय साक्षरताको अवस्था वित्तीय पहुँचको आधारमा धेरै कमजोर देखिएको हुँदा यसले बैंक तथा वित्तीय संस्थाको कोष लागत वृद्धि एकातर्फ हुन्छ भने अर्कोतर्फ सर्वसाधरणको विश्वास प्राप्त गर्न नसक्ने र गुणस्तर कमजोरका साथै छिटोछरितो सेवामा समेत शिथिलता आउने क्रम हालका वर्षहरूमा बढ्दो छ । त्यस्तै निरन्तर विकाससँगै  प्रविधिको अपडेट र समयमा मर्मतकार्यको अभावले बेला बखतको बैंक खाताको  दुरुपयोग गर्दै हुने गरेका राष्ट्रिय स्तरका बैंकिङ अपराधका घटनाले सर्वसाधरणमा यस क्षेत्रप्रतिको विश्वासनीयतामा शंका उब्जेको वर्तमानमा वित्तीय पहुँच मात्र नभई वित्तीय साक्षरताको अपरिहार्यतालाई बजेट खर्च गर्ने माध्यममात्र बनाउने हो भने बैंकिङ क्षेत्रको अधोगति धेरै नजीक छ भन्नुमा अत्युक्ति नहोला । 

लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्