arthik abhiyan
ad banner

जलविद्युत्को शेयर : कहिले आउला भाउ

सरकारकै कारण समस्यामा आयोजना

Nov 5, 2019 
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १२ ओटा समूहमध्ये एउटा जलविद्युत्् पनि हो । सरकारले जलविद्युत्मा लगानी गरेर ‘समृद्ध’ भइने र ‘ज्वाइँ खोज्दै आउने’ भने पनि मूल रूपमा सरकारकै कारण उत्साह आउन सकेन । सरकारपछि लगानीकर्ताका कारण पनि जलविद्युत् मात्र होइन, समग्र शेयरबजार प्रताडित भएको छ । समग्र शेयरबजारमा कमी आउनुमा केही हदसम्म सरकार कारक देखिए पनि लगानीकर्ता पनि कम अंशियार छैनन् । शेयरमा लगानी गरेर ‘रातारात धनी हुन्छन् र भइन्छ’ भन्ने सरकार र लगानीकर्ताको अतिवादी सोच त्याग्नुपर्ने देखिन्छ । 

जलविद्युत्को सारांश 
नेप्सेमा हालसम्म सूचीकृत ३२ ओटा जलविद्युत् कम्पनीको कुल चुक्ता पूँजी ५० अर्ब ५६ करोड ७८ लाख ४ हजार २ सय रुपैयाँ छ । सबैभन्दा ठूलो (जडित ४५६ मेगावाटको आधारमा) निर्माणाधीन तामाकोशी सूचीकरण भइसकेको छ । सबैभन्दा धेरै र थोरै पूँजी क्रमशः अपर तामाकोशी (१० अर्ब ५९ करोड रुपैयाँ) र वरुण हाइड्रोपावरको (२५ करोड ५१ लाख ५० हजार रुपैयाँ) छ । जलविद्युत् कम्पनीको बजार पूँजीकरण ९३ अर्ब ४० करोड ८७ लाख ६८ हजार ९ सय ६० रुपैयाँ र कुल बजार पूँजीकरणमा ६ दशमलव ४५ प्रतिशत योगदान छ । (नेप्से, १७ कात्तिक, २०७६) 

मनोगत होइन, यथार्थ 
कुनै बेला चिलिमे र बीपीसीको प्रतिशेयर मूल्य क्रमशः झन्डै ३ हजार र २ हजार रुपैयाँभन्दा माथि पुगेको थियो । हिमाल पावर (खिम्ती) मा रहेको १५ प्रतिशत लगानीबाट प्राप्त लाभांशले बीपीसीले र सञ्चित कोषबाट चिलिमेले राम्रै लाभांश बाँडिरहेका छन् । जलविद्युत् क्षेत्रका यी दुई कम्पनी अन्य कम्पनीका लागि पनि पथप्रदर्शक बन्ने अनुमान शेयर कारोबारी र लगानीकर्ताले गरेका थिए । तर, यस्तो अनुमान गर्नुका पछाडि मनोगतबाहेक तथ्यगत विश्लेषणको आधार थिएन । मनोगत विश्लेषणकै आधारमा तामाकोशीको शेयर मूल्य ५ हजार रुपैयाँसम्म पुग्ने भन्दै भित्रभित्रै २ हजार रुपैयाँसम्म किनबेच भयो । व्यावसायिक उत्पादनपश्चात् कम्तीमा ५ वर्ष वा त्योभन्दा बढी समय सञ्चालन घाटामा रहन सक्ने तथ्यगत विश्लेषणलाई अहिले पनि बेवास्ता गरिएको छ । ‘आयोजना कहिले पूरा हुन्छ र लागत कति पुग्ला’ भन्ने अनिश्चितताको स्थिति देखिएपछि अहिले तामाकोशीलाई ‘लागत चमेलिया र समय मेलम्ची’ भनिन थालिएको छ । लागत १ खर्व रुपैयाँ नाघ्ने सम्भावना (निर्माण अवधिको ब्याजसमेत) देखिन्छ । तामाकोशी वा अन्य जलविद्युत् कम्पनीको शेयर मूल्यमा बढोत्तरी आउन यसले दिने प्रतिफल अहम् पक्ष बन्छ । कुनै समय भारतमा एक व्यक्ति (हर्षद मेहता र केतन पारेख) वा संस्थाले बजार हल्लाउन सक्ने सामथ्र्य राख्थे । अब बजारलाई हल्लाउने यस्ता सामथ्र्यको दिन सकिएको छ । शेयर मूल्य कम्पनीको आर्थिक सबलताले निर्धारण गर्न थालिसकेको छ ।

जलविद्युत् स्थिर आम्दानी हुने क्षेत्र हो । आधार विक्री मूल्यमा बढीमा ९ पटक ३ प्रतिशतका दरले हुने मूल्य वृद्धिबाहेक अन्य कुनै प्रकारले पनि आम्दानी बढ्ने ठाउँ हुँदैन । जलविद्युत् कम्पनीलाई १० वर्षपछि आधा र १५ वर्षपछि पूरै आयकर लाग्छ । विक्री आयमा कमी नआए पनि आयकर, रोयल्टी, सञ्चालन, मर्मत र प्रशासकीय खर्च आदि बढ्दै जान्छ र परिणामस्वरूप प्रतिशेयर आयमा कमी देखिन्छ । 

किन घट्यो भाउ ? 
धेरैको मनमा यही प्रश्न छ कि जलविद्युत् कम्पनीको शेयर भाउ किन घट्यो ? के अब बढ्दैन ? कहिले बढ्छ ? यस्ता प्रश्न मात्र छन् तर यसको यथार्थता बुझ्नुको साटो ‘फलानो’ व्यक्तिका कारण भनेर सत्तोसरापमा लागेको देखिन्छ । शेयर लगानी गरेर छिट्टै धनी हुने मनोकांक्षाका कारण शेयरबजारमा तीव्र गिरावट देखिएको हो । शेयरबजारमा लाभ नहुने होइन तर एकै वर्ष वा त्योभन्दा कम समयमा हुँदैन । आफूले किन्नासाथ अर्कोले भाउ बढाएर किनिदेओस् भन्ने मनोकांक्षा सबैमा छ । तर, अरूलाई धनी बनाउने गरी किन्न को तयार हुने ? आर्थिक सबलता नै नभएको कम्पनीको शेयरमा लगानी गरेर बजारमा भाउ खोज्नु मूर्खता हो । रोपिएको बीउ सबै नउम्रने वा उम्रे पनि फल नदिएजस्तै प्राथमिक शेयर भन्नेबित्तिकै सबै राम्रो हुन्छ भन्ने हुँदैन । १ सय रुपैयाँमा किनेको हो, २ सय रुपैयाँ त गइहाल्छ भन्ने सोच अकबर बादशाहको ‘दूधपोखरी’ बनाउने अभिलाषा विपरीत ‘पानीपोखरी’ बने जस्तै हो । नगरवासीलाई अकबरको दूध ल्याएर हाल्नु भन्ने उर्दी विपरीत ‘दूध त सबैले लगिहाल्छन्, म पानी लान्छु’ भन्ने सोचेर सबैले पानी लगेर हालेपछि ‘दूध होइन, पानीपोखरी’ बने जस्तै ‘बढेपछि बेचिहाल्छु’ भन्ने यस्तै सोच एकजना होइन, सबैले राखेका हुन्छन् । प्राथमिक वा दोस्रो बजारमा शेयर किन्ने सबैले यही सोच राखेपछि प्राथमिकमै लगानी नगरेका व्यक्ति आएर २ सय रुपैयाँमा किनिदिने प्रश्नै उठ्दैन । 

शेयर भनेको पूँजीको अंश हो, पूँजीको कमी पूरा गर्न शेयर जारी गरिन्छ । जारी गर्नासाथ लाभ वा प्रतिफल प्राप्त हुँदैन । यसका लागि एउटा निश्चित समय पूरा हुनुपर्छ । लगानी (शेयर) बाट लाभ प्राप्त हुन्छ भन्ने अपेक्षा मात्र हो, सुनिश्चितता होइन । शेयर जारी गर्दा प्रकाशन गरिने विवरणपत्रमा जोखिम पक्ष, जोखिम न्यूनीकरण, नाफाको अंक, नाफा वितरण गर्न सकिने सम्भावित समयको प्रक्षेपण गरिएको हुन्छ । लगानी अघि सोच्नु र बुझ्नुपर्ने यो पाटो गौण बनेको छ, जबकी मुख्य चुरो कुरो यसैमा अन्तनिर्हित हुन्छ । 

निर्माणाधीन र लाइनविहीन 
अंकित मूल्यभन्दा तल झरेका अधिकांश जलविद्युत् कम्पनी निर्माणको चरणमा रहेका र निर्माण सम्पन्न भएर पनि प्रसारण लाइन नपाएका धेरै छन् । आयोजना निर्माणमा अनेकौं प्रशासकीय अवरोध र अन्य हस्तक्षेपले ढिलाइ हुँदा व्याज बढ्दा लागत पनि बढेको छ । ‘प्राथमिकता प्राप्त क्षेत्र’ भन्ने सरकारी वाक्य अलंकार मात्र बनेको छ । यस्ता अनेकौं हन्डर र ठक्कर खाएर आयोजना बनिसक्छ तर, सरकार (नेपाल विद्युत् प्राधिकरण) ले प्रसारण लाइन बनाइदिँदैन । उदाहरणको लागि खानीखोला आयोजना व्यावसायिक उत्पादन भएको दिनदेखि उत्पादित बिजुली बेच्न नपाउँदा टाट पल्टिने स्थितिमा पुगेको छ । सिनर्जी पावर (सिप्रिङ खोला) ले अहिलेसम्म पूर्ण क्षमतामा बिजुली विक्री गर्न नपाउँदा वर्षेनि १० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेको छ । सिप्रिङ (सिनर्जी) जस्तै अन्य धेरै आयोजना प्रसारण लाइनको पीडामा परेर घाटा बेहोरिरहेका छन् । हेर्दा यो घाटा कम्पनी र त्यसको शेयरधनीको हो तर, यथार्थमा राज्यको हो । 

यसबाहेक आयोजनाले हिउँद र वर्षामा यति बिजुली दिन्छु भनेर घोषणा गर्नुपर्छ जुन विशुद्ध अनुमान मात्र हो र अनुमान मिल्छ भन्ने छैन तर प्राधिकरणले अनुमान नमिलेको भन्दै त्यसबापत क्षतिपूर्ति लगाउँछ । यस्तो क्षतिपूर्तिका कारण वर्षायाममा भएको विक्री आम्दानी हिउँदमा क्षतिपूर्ति तिर्दै सकिन्छ । प्रशासकीय र अन्य अवरोध, प्रसारण लाइनको अनुपलब्धता, पाइहाले पनि ‘घोषणा’को क्षतिपूर्ति तिर्दै रकम सकिएपछि कम्पनीको आर्थिक सबलता कसरी देखिन्छ र शेयरको भाउ बढ्ला ? 

अन्त्यमा, अधिकांश जलविद्युत् कम्पनी सरकारकै कारण धराशयी बनेका हुँदा आर्थिक रूपमा सबल बन्न नसक्दा शेयर मूल्य घटेको हो । अर्को एउटा कारण भनेको माथि विभिन्न अनुच्छेदमा चर्चा गरिएको ‘रातारात’ मालामाल हुनुपर्ने मानसिकता पनि एक हो । केही कम्पनी अधिक पूँजीको भारले थिचिएका कारण बिक्री आम्दानी उही भए पनि गुणात्मक (प्रतिशेयर) आम्दानीमा कमि हुँदै गएको कारण शेयर मूल्य घट्दै गएको पाटोलाई पनि बेवास्ता गरिएको छ । सरकारले प्रशासकीय र अन्य रूपमा हुने अवरोधलाई निमिट्यान्न पारेर बाधारहित वातावरण र प्रसारण लाइनको सुनिश्चित गरिदिनुपर्छ भने लगानीकर्ताले पनि पनि ‘तातै खाऊँ जली मरूँ’ भन्ने शैली त्यागेर गुण दोषको आधारमा लगानी बढाउनुपर्छ ।

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।
dahal_j@hotmail.com

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्