arthik abhiyan
ad banner

जनअपेक्षा अनुसारका कामलाई प्राथमिकता दिएका छौं

Nov 5, 2019 
अन्तरवार्ता
Image Not Found
दिलबहादुर ऐर, प्रमुख, शुक्लाफाँटा नगरपालिका

शुक्लाफाँटा नगरपालिका कञ्चनपुरको केन्द्र भागमा पर्ने स्थानीय तह हो ।  विकासमा पछाडि परेको यो नगरपालिकामा स्थानीय सरकार आएपछि भौतिक पूर्वाधार निर्माणले गति लिएको छ । नगरमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत भौतिक पूर्वाधारको अझै अभाव छ । निर्वाचनपछि नगरले जनप्रतिनिधि पाएको पनि २ वर्ष पूरा भइसकेको छ । यो अवधिमा नगरपालिकाले विकासका विभिन्न योजना अगाडि बढाएको नगर प्रमुख दिलबहादुर ऐर बताउँछन् । अन्य विकास निर्माणलाई पनि आवश्यकता अनुसार प्राथमिकतामा राखिएको उनको भनाइ छ । प्रस्तुत छ, पछिल्लो २ वर्षमा नगरले हासिल गरेका उपलब्धि, विकास गतिविधि, भावी कार्ययोजना, बजेट कार्यान्वयनका चुनौती लगायत विषयमा आर्थिक अभियानका कञ्चनपुर संवाददाता मदन गिरीले नगर प्रमुख ऐरसँग गरेको कुराकानीको सार :

तपाईं शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख भएको २ वर्षभन्दा बढी भयो । यो अवधिमा यहाँका जनताले के के पाए त ?
हामीले भौतिक पूर्वाधारका योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नगरका १२ ओटै वडामा पूर्वाधारका काम अघि बढेका छन् । नगर क्षेत्रमा धेरै नयाँ बाटोहरू खोलिएका छन् । सबै वडामा ६ देखि १२ मिटरसम्मका चौडा सडक निर्माण गरेका छौं । प्रत्येक वडाका सडकमा आवश्यकता अनुसार कल्भर्ट बनाएका छौं । अधिकांश योजना जनताको सहभागितामा अघि बढेका छन् । नगरपालिकालाई आवश्यक पर्ने थुप्रै कानून बनाएका छौं । सोही कानून अनुसार नगरका जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरिरहेका छौं । नगरमा सुशासन कायम गर्न विभिन्न समिति निर्माण गरिएको छ ।

सम्पूर्ण नगरवासीलाई खानेपानीको व्यवस्था गर्न प्रत्येक वडामा सम्बन्धित योजना थालिएका छन् । नगरपालिका र वडा कार्यालयको सहकार्यमा प्रत्येक टोल–टोलमा सिँचाइ सुविधा पुर्‍याइरहेका छौं । गाउँ घर क्लिनिक स्थापना तथा निर्माण गरिएको छ । नगरपालिकाका वडा नं १ र १२ मा स्वास्थ्य सुविधा पुगेको थिएन । हामी आएपछि वडा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द बनाएका छौं । यस्तै ल्याब र बर्थिङ सेन्टर समेत स्थापना गरेर सेवा दिइरहेका छौं ।

शुक्लाफाँटा–७, ८ र १२ नम्बर वडाको कार्यालय भवन बनाएका छौं । अन्य वडाको कार्यालय भवन पनि चाँडै निर्माण गर्छौं । नगरका झलारी बजार, कलुवापुर बजार क्षेत्रमा सौर्यबत्ती जडा गरिएको छ । गतवर्ष साढे ५ किलोमिटर सडक कालोपत्र गरेका छौं । यस्तै ३० किलोमिटर सडक ग्राभेल र ३ किलोमिटर सडक मर्मत गरेका छौं ।

नगरपालिकाका गौरवका आयोजना के के हुन् ? ती आयोजनाको प्रगति कस्तो छ ?
नगरपालिकामा आँखा अस्पताल, ५० शैय्याको नगर अस्पताल, फोहोर व्यवस्थापन केन्द्र, नगरपालिका कार्यालयको मुख्य भवन, चक्रपथ निर्माण लगायतलाई नगर गौरवका आयोजनामा राखेका छौं । हामी निर्वाचित हुनुअघि घोषित आयोजनालाई पनि प्राथमिकतामा राखेका छौं । नगर गौरवका कतिपय योजनाको सम्भाव्यता अध्ययन भएको छ । केहीको हुँदै छ । केही आयोजनाको डीपीआर निर्माण गरेर कार्यान्वयनको अन्तिम चरणमा पुर्‍याएका छौं । नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले शुक्लाफाँटा–४ पिपलाडीमा ५० शैøयाको अस्पताल बनाउन डीपीआर तयार गरेका छौं । यसका लागि चालू आवमा केही बजेट छुट्ट्याएका छौं । झलारीको पिपलाडी रोडमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । केन्द्रबाट नगरवासीले निःशुल्क सेवा लिइरहेका छन् । भविष्यमा आँखा अस्पताल बनाउने योजना छ । फोहोर व्यवस्थापन केन्द्रको निर्माण यसै वर्ष शुरू हुन्छ । आरयूडीपीको सहयोगमा फोहोर व्यवस्थापन केन्द्र वडा नं ११ को कृष्ण सामुदायिक वनमा बनाउने भएका छौं । त्यसका लागि जग्गाको व्यवस्थापन भइसकेको छ । सबै वडामा कालोपत्र सडक निर्माणका लागि गुरुयोजना बनाएका छौं । १२ ओटै वडा जोड्न १२ मिटर चौडा चक्रपथ बनाउँछौं । यस वर्ष त्यसको १६ किलोमिटर निर्माण गर्ने लक्ष्य छ । तरकारी तथा खाद्य वस्तुको सुरक्षाका लागि कोल्ड स्टोर निर्माण गर्छौं । नगर कभर्ड हल निर्माण पनि यसै वर्ष शुरू हुन्छ । बसपार्क निर्माणका लागि डीपीआर तयार गरेका छौं । आगामी आर्थिक वर्ष बजेट विनियोजन गरेर निर्माण अघि बढाउँछौं । नगर गौरवका आयोजना निर्माणका लागि सुदूरपश्चिम प्रदेश र केन्द्र सरकारसँग सहयोग माग्छौं । यस क्षेत्रका सांसदको विकास कोषको बजेट पनि यी आयोजनामा खर्च गर्छौं ।

नगरको बजेट कार्यान्वयनमा के कस्ता समस्या र चुनौती छन् ?
नेपालको संविधानले स्थानीय सरकारलाई न्यायिक अंग र कार्यापालिका दिएको छ । स्थानीय जनप्रतिनिधिका जिम्मेवारी र अधिकार समेत बाँडफाँट गरिएका छन् । जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारी र अधिकारलाई कार्यान्वयनमा ल्याउन पर्याप्त कर्मचारी आवश्यक पर्दछ । तर हामीले निर्वाचित भएदेखि अहिलेसम्म कर्मचारी अभावको सामना गर्दै आएका छौं । कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या भएको छ, जसले गर्दा विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउन सकेनौं । अहिले पनि नगरपालिकामा आवश्यकता अनुसार कर्मचारी छैनन् । स्थानीय, प्रदेश र केन्द्र सरकारका साझा अधिकारले समेत बजेट कार्यान्वयमा केही चुनौती थप्यो । केन्द्र सरकार र प्रदेश सरकारले कानून निर्माणमा ढिलाइ गर्‍यो । त्यसले पनि बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्ने अन्यौल भयो ।

शहरी क्षेत्रको विकास र व्यवस्थापनको योजना के छ ?
यहाँका शहरी क्षेत्र भनेका झलारी, वनसमिति, कलुवापुर, बन्साह बजार हुन् । नगरपालिकामा शहरी क्षेत्रको विकास तथा व्यवस्थापनका लागि शहरी विकास तथा भवन निर्माण विभाग, आयोजना कार्यान्वयन कार्यालय (आरयूडीपी)को आयोजना सञ्चालन भएको छ । आरयूडीपी अन्तर्गत यहाँ फोहोर व्यवस्थापन केन्द्र, नगरपालिका भवन र झलारी बजारलाई जोड्ने सडक निर्माण गरिनेछ । अब चाँडै निर्माण प्रक्रिया शुरू हुन्छ । अस्तव्यस्त बजारलाई व्यवस्थान गरिरहेका छौं । जथाभावी रूपमा सडक छेउमा राखिएका छाप्रा–टहरा हटाउँछौं । बजार क्षेत्रको ढल व्यवस्थापनका लागि समेत योजना अघि बढाएका छौं । शहरी क्षेत्रमा गतवर्ष ढल–नाला मर्मत तथा सफाइ गरेका छौं । यहाँका सबै बजारमा २ वर्षभित्र ढलको व्यवस्थापन गरिसक्छौं । सार्वजनिक स्थलमा सार्वजनिक शौचालय निर्माणलाई पनि प्राथमिकतामा राखेका छौं । बजार क्षेत्रको सुरक्षा र सौन्दर्यीकरणका लागि सौर्य बत्ती जडान गरेका छौं ।

सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ सफल बनाउन नगरपालिकाले के गरिरहेको छ ?
भ्रमण वर्षलाई सफल बनाउन शुक्लाफाँटा नगरपालिका प्रतिबद्ध छ । यहाँका पर्यटकीय स्थल बतासे झरना, सुनदेवी ताल, मणिका धाम, खेरखन्डा ताल, कृष्णसार, बैजनाथ ताल लगायतको प्रचारप्रसार तथा विकासका लागि पाँचौं नगरसभाबाट बजेट विनियोजन गरेका छौं । पर्यटन बोर्ड र नगरपालिकाको सहकार्यमा नगरपालिकाको वनसमितिमा सूचना केन्द्र निर्माण भइरहेको छ । त्यो केन्द्रबाट यहाँका पर्यटकीय स्थलबारे सूचना दिन्छौं । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थलमा घुमाउने र प्रचारप्रसार गर्ने योजना छ । मणिका धाम, सुनदेवी ताल, भम्केपानी, रानी ताल, बतासे झरनालगायत स्थलको विकासमा लागेका छौं । जैविक मार्ग निर्माण गर्ने योजना समेत बनाएका छौं । पर्यटनको माध्यमबाट यहाँको विकास गर्नुका साथै स्थानीय युवालाई रोजगारी दिने लक्ष्य छ ।

नगरको शिक्षा क्षेत्रमा तपाईंहरूले गरेका सुधार के के हुन् ?
शिक्षाको गुणस्तर सुधार गर्न यस क्षेत्रमा ठूलो लगानी गरेका छौं । हामी आउनुअघि धेरै विद्यालयमा भौतिक पूर्वाधारको अभाव थियो । अहिले विद्यालयको आवश्यकता अनुसार विद्यालय भवन, शौचालय, खानेपानी लगायतको व्यवस्था गरिएको छ । हामी सबै (६५ जना) जनप्रतिनिधि आ–आफ्नो वडामा रहेका विद्यालय अनुगमन तथा सुधारमा लागेका छौं । नगरका ३२ सामुदायिक विद्यालय र २५ संस्थागत विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा छौं । निजी स्रोतका शिक्षकका समस्या समाधानका लागि बजेट विनियोजन गरेका छौं । नगरपालिकाले प्राविधिक शिक्षालाई पनि जोड दिएर लगानी गरेको छ । नगरका कृष्ण माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा प्राविधिक विषयको पढाइ भइरहेको छ । यी विद्यालयलाई सहयोग गर्दै आएका छौं । नगरपालिकाका सबै निरक्षरलाई साक्षर बनाउने अभियान पनि छ । हामी शुक्लाफाँटालाई जिल्लाकै पहिलो साक्षर स्थानीय तह घोषणा गर्छौं ।

कृषि क्षेत्रमा के कस्ता काम गर्नभएको छ ?
शुक्लाफाँटा नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । यहाँ अन्नबाली राम्रो उत्पादन हुन्छ । त्यसैले कृषिक्षेत्रमा पनि लगानी गरेका छौं । यो वर्ष ७८ लाख बजेट विनियोजन गरेका छौं । प्रत्येक वडामा एकजना कृषि प्राविधिक राख्छौं । साना सिँचाइ प्रणालीको माध्यमबाट प्रत्येक वडाका टोल–टोलमा सिँचाइ सुविधा पुर्‍याइरहेका छौं । किसानले उत्पादन गरेका कृषिउपज भण्डारणका लागि कोल्डस्टोर बनाउँदै छौं । खाद्य डिपो स्थापनाका लागि समेत पहल भइरहेको छ । यसका लागि विभिन्न विभागमा फाइल पुर्‍याएका छौं । किसानले सिँचाइ सुविधा पाए पनि समयमै बीउ तथा मल नपाउने समस्या समाधानका पनि प्रयासरत छौं । किसानलाई आधुनिक तथा व्यावसायिक तरीकाले खेती गर्न आग्रह गर्दै आएका छौं । उनीहरूलाई दक्ष बनाउन समय–समयमा तालीम समेत दिने गरेका छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्