arthik abhiyan
ad banner

निर्माणाधीन सभागृहको काम अन्तिम चरणमा

Nov 6, 2019 
विकास
NA


दाङ (अस) । जिल्ला उद्योग वाणिज्य संघ, दाङको पहलमा निर्माणाधीन बहुउद्देश्यीय सभागृहको भौतिक निर्माण अन्तिम चरणमा पुगेको छ । करीब रू. ३० करोड लागतमा घोराही उपमहानगरपालिका–१४ पुरानो बसपार्क नजिकै निर्माण भइरहेको उक्त सभागृहको काम अन्तिम चरणमा पुगेको हो ।

२०७४ कात्तिकमा निर्माण शुरू भएको चारतले सभागृहको भौतिक पूर्वाधार निर्माण अहिलेसम्म करीब ७५ प्रतिशत सम्पन्न भइसकेको जिल्ला उद्योग वाणिज्य संघ, दाङका अध्यक्ष नारायण भुसालले बताए । ‘भवन निर्माण करीब अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब भवनको फिनिसिङको काम मात्र बाँकी रहेको निर्माण कम्पनीले जानकारी गराएको छ ।’

सरकारको रू. २६ करोड ७७ लाख र अन्य क्षेत्रको करीब सवा ३ करोड गरी रू. ३० करोडको लागतमा निर्माण भइरहेको सभागृहको जिम्मा बंगलामुखी गौरी पार्वती निर्माण सेवा काठमाडौंले लिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । सम्झौता अनुसार तोकिएको समयमा फिनिसिङको काम बाहेक अन्य सबै काम सम्पन्न हुने कम्पनीले बताएको छ ।

नगर विकास समितिले जिल्ला उद्योग वाणिज्य संघ, दाङलाई प्रदान गरेको १२ कठ्ठा ७ घुर जग्गामा उक्त सभागृह निर्माण भइरहेको छ । सभागृहको चारतले भवनमा ८०० भन्दा बढी मानिस अट्ने क्षमताको एउटा सभाहल छ भने अर्काे सामान्य हल समेत छ । त्यस्तै सभागृहका लागि आवश्यक कोठाहरू र ३० ओटाभन्दा बढी शौचालय छन् । यो सभागृह पश्चिम नेपालकै ठूलो परियोजना भएको अध्यक्ष भुसालले बताए । ‘राज्यको लगानीमा बनेको यत्तिको सुविधासम्पन्न सभागृह पश्चिम नेपालमै पहिलो हो,’ अध्यक्ष भुसालले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्