arthik abhiyan
ad banner

भुक्तानी तथा फर्छ्योट प्रक्रियामा राष्ट्र बैंक

Nov 7, 2019 
लेख | दृष्टिकोण
NA
author avatar अवतार न्यौपाने

सर्वसाधारण जनता तथा व्यापारमा संलग्न व्यक्ति तथा संस्थाहरूको खाता वाणिज्य बैंक वा वित्तीय संस्थामा हुन्छ । एउटा बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम अर्को बैंक तथा वित्तीय संस्थामा रकमान्तर भई कारोबार सञ्चालन हुन्छ । यसरी एउटा बैंक तथा वित्तीय संस्थाको खाताको रकम अर्को बैंक तथा वित्तीय संस्थामा स्वीफ्ट तथा विद्युतीय चेक क्लियरिङको माध्यमबाट अन्तर बैंक रकम फर्छ्योट गर्ने गरिन्छ ।

भुक्तानी तथा फर्छ्योट गर्न मुख्य जिम्मेवारी नेपाल राष्ट्र बैंक को हो । नगद तथा विभिन्न उपकरणका माध्यमबाट भुक्तानी तथा त्यस्ता उपकरणको फछ्र्योटको व्यवस्थापन गर्नु नेपाल राष्ट्र बैंकको मुख्य कार्यअन्तर्गत रहेको छ । नेपाल राष्ट्र बैंक स्थापना गर्नुको मुख्य उद्देश्य सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्नु नै हो । राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट गर्न छुट्टै विभाग गठन गरेको छ । भुक्तानी तथा फर्छ्योट विभाग, तथा भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७२ तथा पटकपटक निर्देशन जारी गरी भुक्तानी फर्छ्योटको कार्यलाई व्यवस्थित गरिएको छ । नेपाल राष्ट्र बैंकको अगुवाइमा नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापना गरी विद्युतीय चेकको भुक्तानी तथा फर्छ्योटको व्यवस्था मिलाएको छ । तथापि अन्तिम फर्छ्योट गर्न जिम्मेवारी नेपाल राष्ट्र बैंकको नै भएकाले राष्ट्र बैंकले विभिन्न नीति निर्देशन तथा परिपत्र जारी गरी भुक्तानी तथा फर्छ्योटको कार्य व्यवस्थित तवरबाट सञ्चालन गर्न गराउन कार्य गरेको छ । त्यस्तै, नेपाल सरकारले भुक्तानी तथा फछ्र्याेट ऐन, २०७५ बनाई २०७५।१२।०४ बाट लागू गरेको छ । 

नेपाल क्लियरिङ हाउसमार्फत भुक्तानी फर्छ्योटको कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गरिएको छ । स्वीफ्टमार्फत विदेशबाट स्वदेशमा र स्वदेशबाट विदेशमा रकम पठाउने वा भुक्तानी गर्ने कार्य बैंक तथा वित्तीय संस्थाले मात्र गर्न सक्छन् । बैंक तथा वित्तीय संस्थाबीच एकआपसमा रकमान्तर गर्ने प्रयोजनका लागि अन्तरबैंक भुक्तानी प्रणाली सञ्चालन गरी लागू गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कुनै पनि भुक्तानी संस्था वा संयन्त्रले तेस्रो पक्षसँग सम्झौता गरी बैंक तथा वित्तीय संस्थामार्फत अन्तरबैंक कारोबार तथा रकमान्तर गर्ने कार्यमा संलग्न हुन सक्छन् । भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७२ ले भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने बैंक वा वित्तीय संस्था, बाह्य सेवा (एजेन्ट समेत) परिचालन मार्फत र छुट्टै भुक्तानी संस्था स्थापना गरी भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने व्यवस्था गरेको छ । भुक्तानी तथा फछ्र्याेट ऐन, २०७५ र भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७२ मा उल्लिखित व्यवस्था विद्युतीय वित्तीय कारोबार एवम् भुक्तानी प्रणाली सम्बन्धी कुनै पनि प्रकारका सेवा, उपकरण र प्रक्रिया प्रयोग गरी भुक्तानी प्रणाली कार्यमा संलग्न हुन चाहने संस्थामाथि लागू गरिएको छ । 

विद्युतीय बैंकिङ सेवा वा उपकरणको माध्यमबाट हुने भुक्तानी तथा फर्छ्योटको कार्य राष्ट्र बैंकको स्वीकृतिबाहेक सञ्चालन तथा प्रयोगमा ल्याउन पाइने छैन । नेपाल सरकारद्वारा जारी हुने सरकारी ऋणपत्र र राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन गर्ने प्रयोजनका लागि जारी गर्ने ऋणपत्र तथा उपकरणको राष्ट्र बैंकले सरकारी ऋणपत्र फर्छ्योट प्रणालीको स्थापना गरी सोही प्रणालीमार्फत भुक्तानी तथा फर्छ्योटको कार्य गर्न सक्छ । विप्रेषण कम्पनीमार्फत हुने विप्रेषणको भुक्तानी तथा फर्छ्योट कारोबारलाई अन्तरराष्ट्रिय उत्कृष्ट मान्यता विश्व बैंकद्वारा प्रतिपादित सिद्धान्त र नियम अनुसार गर्न विद्युतीय बैंकिङ तथा अन्य नयाँ उपकरण जारी गरी सोही उपकरणमार्फत गर्न भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थाले आवश्यक व्यवस्था मिलाउनुपर्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबीच हुने बैंकिङ कारोबारको हिसाब मिलान विद्युतीय चेक क्लियरिङको व्यवस्थाबमोजिम अन्तिम फर्छ्योट गर्छ । विद्युतीय चेक र अन्य विद्युतीय उपकरणमार्फत हुने भुक्तानी कारोबारको हिसाब मिलान अन्तिम र अपरिवर्तनीय हुने व्यवस्था गरिएको छ । 

बैङ्क वा संस्थाले प्रत्येक भुक्तानी आदेश वा प्रत्येक भुक्तानी कारोबारको फछ्र्योट गर्दा त्यस्तो आदेश वा कारोबार वास्तविक समय (रियल टाइम) मा छुट्टाछुट्टै तरीकाले फछ्र्योट गर्नुपर्छ । बैङ्क वा संस्थाले कारोबारको फर्छ्योट गर्दा निश्चित समयको अन्तरालभित्र प्राप्त भुक्तानी आदेश वा भुक्तानी कारोबारलाई भुक्तानीसँग सम्बद्ध खाता डेबिट वा क्रेडिट नेटिङको आधारमा एकमुष्ट रूपमा अन्तराल हिसाब गरी कारोबारको फर्छ्योट गर्न सक्छ । नगद, ट्रान्सफर र स्वीफ्ट कारोबारको फर्छ्योट र विद्युतीय चेक राफसाफ (क्लियरिङ) मार्फत हुने दैनिक कारोबारको फछ्र्योट भुक्तानी तथा फर्छ्योट ऐनले तोकेबमोजिम गर्नुपर्छ । ठूलो मूल्य भुक्तानी कारोबारको फर्छ्योट आरटिजिएस बमोजिम हुन्छ । विद्युतीय चेक राफसाफ (क्लियरिङ) गर्दा समाशोधन गृह (क्लियरिङ हाउस) मार्फत हुने कारोबार राष्ट्र बैङ्कले तोकेबमोजिम कुल फर्छ्योट वा खुद फर्छ्योट विधिमार्फत गर्नुपर्छ ।

भुक्तानी तथा फर्छ्योट सम्बन्धी कार्य गर्न चाहने संस्थाले प्रचलित कानूनबमोजिम कम्पनी दर्ता गराई स्थापना गर्नुपर्छ । बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी प्रणाली सम्बन्धी कार्यमा संलग्न तर राष्ट्र बैंकबाट भुक्तानी तथा फर्छ्योट विनियमावली लागू हुनुभन्दा अघि इजाजत, अनुमति वा स्वीकृति नलिएका कुनै पनि भुक्तानी प्रणालीका माध्यम वा सूचना तथा सञ्चार सञ्जाल वा उपकरणको प्रयोग गरी भुक्तानी तथा फर्छ्योट कार्य सञ्चालन गरिरहेका त्यस्ता संस्था (जस्तै, भुक्तानी सेवा प्रदान गर्ने संस्था, क्लियरिङ हाउस, भुक्तानी द्वार आदि समेत) ले इजाजत, अनुमति वा स्वीकृति लिनुपर्छ । भुक्तानी तथा फर्छ्योट सेवा सञ्चालन गर्ने संस्थाले प्रचलित ऐन, नीति, नियममा भएका व्यवस्थाको अतिरिक्त सम्झौतामा आबद्ध सहभागीसँगको शर्त एवम् राष्ट्र बैंकले समय समयमा जारी गर्ने नीति तथा निर्देशनको अधीनमा रही कार्य गर्नुपर्छ । भुक्तानी तथा फर्छ्योट सेवा सञ्चालन गर्ने संस्थाले आवश्यक तथ्याङ्क, सूचना तथा कागजात, नियम, विनियम एवम् भुक्तानी तथा फर्छ्योट प्रणाली सञ्चालनसँग सम्बद्ध कागजातका प्रतिलिपि राष्ट्र बैंकलाई अनिवार्य रूपमा बुझाउनुपर्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्