arthik abhiyan
ad banner

तथ्यांकका आधारमा विकास निर्माण अघि बढाउँदै छौं

Nov 7, 2019 
अन्तरवार्ता
Image Not Found
भीमबहादुर देउवा, प्रमुख, गौरीगंगा नगरपालिका

 

कैलालीमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका (अत्तरिया)पछि बनेको तेस्रो नगरपालिका हो गौरीगंगा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने चौमालामा नगरपालिकाको कार्यालय छ । कैलाली उद्योग वाणिज्य संघका पूर्वसचिव भीमबहादुर देउवा नगरपालिकाका प्रमुख हुन् । चौमालामा वन पैदावारमा आधारित उद्योगका लागि प्रशस्त सम्भावना छ । यस्तै थारु समुदायको बाक्लो बस्ती समेत रहेकाले स्थानीय कलासंस्कृतिको प्रवद्र्धन र पर्यापर्यटनको विकासबाटै समृद्धि हासिल गर्न सकिने आधार नगरपालिकासँग रहेको देउवा बताउँछन् । सोही अनुसार गौरीगंगालाई नमूना नगरपालिकाको रूपमा विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिपरेको नगर प्रमुख देउवाको भनाइ छ । प्रस्तुत छ, नगरपालिकाको विकास अवस्था, सम्भावना, चुनौती लगायत विषयमा आर्थिक अभियानका धनगढी संवाददाता वीरेन्द्र भट्टले देउवासँग गरेको कुराकानीको सार :

गौरीगंगा नगरपालिकाको विकास गर्न कत्तिको सहज अनुभूति गर्नु भएको छ ?
हामी निर्वाचित भएर आएपछि नगरको पूर्वाधार विकासका काममा बढी केन्द्रित भएका छौं । जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणका योजना छनोट गरेका छौं । साही अनुरूप कार्यान्वयन पनि गर्दै आएका छौं । नगरको विकासका लागि गर्नुपर्ने कामहरू थुप्रै छन् । जनअपेक्षा धेरै छन् । त्यसैले हामीसँग भएका स्रोतसाधनलाई अधिकतम उपयोग गरेर अघि बढिरहेका छौं । यसकारण हाम्रो कार्यकालमा विकासको जग बसाल्न सक्छौं भन्ने विश्वास लिएका छौं । दृढ उद्देश्यसहित लागिपरेकाले यसमा समस्या होला जस्तो मलाई लाग्दैन ।

नगर विकासका लागि कुन कुन विषयमा केन्द्रित हुनु भएको छ ?
हामीले गौरीगंगा नगरपालिकाको वार्षिक बजेट सार्वजनिक गरिसकेका छौं । नगरवासीबाट छनोट भएर आएका विकास निर्माणका योजनाको कार्यान्वयन शुरू गरिसकेका छौं । अर्को महŒवपूर्ण काम नगरभित्रका घरधुरीको तथ्यांक संकलन गर्दै छौं । त्यसका लागि ३२ जनाको टोली परिचालन गरिसकेका छौं । नगरभित्रका घरको अवस्था, गरीबी, बेरोजगारी, वृद्धवृद्धा, बालबालिका, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत शीर्षकमा दर्जनौं प्रश्नावली बनाएर तथ्यांक संकलनको काम हुँदै छ । प्राप्त तथ्यांकको आधारमा आगामी दिनमा विकास निर्माणका योजना प्राथमिकीकरण गर्न सहज हुने अपेक्षा गरेका छौं । यो विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्दै आएको छ । हामी नगर प्रोफाइल बनाएर विकास गर्न चाहन्छौं । साथै जन्म–मृत्यु लगायतको विवरण पनि नियमित रूपमा प्राप्त गर्न सकिने गरी काम गर्दै छौं ।

नगरपालिकाले पहिलो बजेट प्रस्तुत गरेर दोस्रो वर्षको बजेट पनि सार्वजनिक भइसकेको छ । नगरवासीले महसूस गर्नेगरी अहिलेसम्म भएका काम के के हुन् ?
नगरपालिका क्षेत्रमा करीब १०० किलोमिटर सडक कालोपत्र तथा ग्राभेल गर्ने र ट्र्याक खोल्ने काम भएको छ । विद्यालय भवन, स्वास्थ्य एकाइ भवन र पुलपुलेसा बनाउने काम पहिलो वर्षमा ग¥यौं । दोस्रो वर्षमा पनि सडक, पुलपुलेसा निर्माण, स्वास्थ्य भवनको स्तरोन्न्नति लगायत कामलाई नै निरन्तरता दिएर अघि बढ्दै छौं । कृषिक्षेत्रमा धान, मौरी लगायतका ११ ओटा पकेट क्षेत्र निर्माण गरिएको छ । भौतिक विकासलाई मात्र विकास मान्ने हाम्रो प्रचलन रहेकाले भौतिक बाहेक शिक्षा र स्वास्थ्यमा पनि धेरै काम गरेका छौं । यस क्षेत्रमा गरिएको लगानीले छोटो समयमै अपेक्षाकृत उपलब्धि हासिल भएको अनुभूति भएको छ । भौतिक र मानवीय विकासको सन्तुलन मिलाएर अघि बढ्दै छौं । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई पनि ध्यानमा राखेर कार्यक्रम अघि बढाएका छौं । त्यसका लागि सामुदायिक स्वास्थ्यमार्पmत पाँचजनाको एउटा समूह बनाएका छौं । 

यस्ता क्रियाकलापले के सन्देश दिन खोजेको हो ?
सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य हो । आफू स्वस्थ भए मात्रै बाँकी विषयको अर्थ रहन्छ । गर्भावस्थामा महिलालाई धेरै गाह्रो हुन्छ । यो समयमा शरीरले आवश्यक मात्रामा पौष्टिक तत्त्व पाए मात्र बच्चा पनि स्वस्थ जमिन्छ । नगर क्षेत्रमा जन्मने बच्चाको स्वास्थ्य सुरक्षा हाम्रो पनि चासो हो । बच्चाको स्वास्थ्यले उसको भोलिको भविष्य पनि निर्धारित हुन्छ । असल स्वास्थ्य, शिक्षा, तथा उचित वातावरण निर्माणमा नगरपालिका सधैं तत्पर छ । सबै नगरवासीलाई हामी यसको अनुभूति दिलाउन चाहन्छौं । स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षण गराउन तथा चिकित्सकको सल्लाहमा बच्चा जन्माउन प्रेरित गरेका छौं । यसरी समुदायलाई नै स्वस्थ राख्ने अभियानमा हाम्रो नगरपालिका छ । हामीले ‘सपोर्ट अन द स्पट’ नामक अर्को कार्यक्रम पनि ल्याएका छौं । कहीँ कतै आपत्विपद् परेमा तत्काल उद्धार गर्ने, आगलागी भयो भने तुरुन्त मानिस पठाएर सघाउने र आवश्यकताको पहिचान गरी १० हजारदेखि २० हजार रुपैयाँसम्म दिने हाम्रो योजना छ । त्यस्तै हाम्रो आप्mनै जनता आवास कार्यक्रम पनि ल्याएका छौं । अपांगता भएका, गरीबीको रेखामुनि रहेका परिवारका लागि ५० हजारदेखि १ लाखसम्ममा घर छानो बनाइदिने काम गर्दै आएका छौं । गौरीगंगा नगरपालिकाभित्र अहिलेसम्म यस्ता १८ ओटा घरमा टीनको छानो छाइसकिएको छ । 

विकास निर्माण अघि बढाउन चुनौती के के छन् ?
नगरवासीको साथ र सहयोगविना हामीले जति सुकै राम्रा कार्यक्रम ल्याए पनि कार्यान्वयन गर्न त्यति सम्भव देखिँदैन । तर उपभोक्ता समितिमा बस्यो भने फाइदा हुन्छ भन्ने एकाथरीको मानसिकता छ भने अर्को सानोभन्दा सानो काम पनि यो त नगरपालिकाले गर्ने हो, हामीले होइन भन्ने सोच पनि देखिएको छ । नगरपालिका हाम्रै हो, हामीले नै तिरेको करबाट नगरपालिका चल्छ र नगरपालिकाले सञ्चालन गरेका विकासका काममा सबैको दायित्व हुनुपर्छ भन्ने चेतनाको अझै विकास भइनसकेको छैन । यस्तो अवस्थामा कहिलेकाहीँ विकास निर्माणमा समस्या नदेखिएको पनि होइन । जनप्रतिनिधिप्रति जनताका अपेक्षा धेरै छन् । तर सीमित स्रोतसाधनले काम गर्नु परेको छ । यसले कहिलेकाहीँ समस्याको सामना गरेका छौं । 

तपाईं लामो समय कैलाली उद्योग वाणिज्य संघमा आबद्ध भएर काम गर्नुभयो र संघको सचिवसम्म हुनुभयो । अहिले कार्यान्वयन तहमा पुग्नु भएको छ । यस क्षेत्रमा औद्योगिक विकासका लागि कत्तिको पहल गर्दै आउनु भएको छ ? 
औद्योगिक विकासमा कैलाली मात्र होइन, समग्र सुदूरपश्चिम प्रदेश नै पछाडि छ । कञ्चनपुरको दैजी–छेलामा विशेष आर्थिक क्षेत्र (सेज) कार्यान्वयनका लागि चालू आवमा केन्द्र सरकारले बजेटमा सम्बोधन गर्‍यो । तर कैलालीको डुँडेझाँडीको विषयमा कुनै सम्बोधन भएन । विकासमा पछाडि परेको क्षेत्रलाई माथि उकास्ने गरी बजेट तथा कार्यक्रम आउनुपर्ने थियो । हामीले त्यो अपेक्षा गरेका थियौं, तर यसपालि पूरा हुन सकेन । यसबारे आगामी बजेटले सम्बोधन गर्ला भन्ने ठानेका छौं । म कैलाली उद्योग वाणिज्य संघमा हुँदा पनि उद्योग व्यवसायीको हकहितसँगै बाह्य लगानी यहाँ भित्र्याउने विषयमा निरन्तर लागिपरेँ । तर खासै ठोस उपलब्धि हात लागेन । अहिले जनप्रतिनिधि हुँदा पनि मेरो ‘लबिङ’ प्रदेश सरकार तथा केन्द्र सरकारसँग जारी नै छ । कैलालीको बासुलिङ सुगर मिल (जुन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो हो) बन्द भएको धेरै भइसकेको छ । तर यसलाई पुनः सञ्चालन गर्नेबारे कहीँ कतैबाट सुनिएको छैन । औद्योगिक विकासविना विकासको परिकल्पना गर्न पनि सकिँदैन । हिजोसम्म राजनीतिक अस्थिरता थियो । आज त्यो अवस्था क्रमिक रूपमा कम हुँदै गएको छ । अब नीतिगत अप्mठ्याराहरू हटाएर अघि बढ्नुपर्छ । यो प्रदेश भारतका ठूला शहरसँग नजिक छ । त्यसैले गौरीफन्टा नाकाको स्तरोन्नति गरेर यहाँका उत्पादन भारत लगायत देशमा पठाउन सकिन्छ । केराका लागि कैलाली–कञ्चनपुर उर्वर भए पनि भारतीय केराले हाम्रो बजार कब्जा गरेको छ । यो समस्या समाधानका लागि केही नीतिगत व्यवस्था गर्नु अपरिहार्य छ । तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका बनाएर अघि बढ्ने तयारीमा जुटेका छौं । नगरका ११ ओटा वडामा कम्तीमा पनि एउटा गौरवको सडक बनाउने हाम्रो योजना छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्