arthik abhiyan
ad banner

नेपाल पुनर्बीमा कम्पनीको आधा दशक उपलब्धिमूलक रह्यो

Nov 7, 2019 
अन्तरवार्ता
Image Not Found
दामोदर भण्डारी, निमित्त सीईओ, नेपाल पुनर्बीमा कम्पनी

नेपालको एकमात्र पुनर्बीमा कम्पनी ‘नेपाल पुनर्बीमा कम्पनी’ (नेपाल री) बिहीवार ५ वर्ष पूरा गरेर छैटौं वर्षमा प्रवेश गर्दै छ । नेपाल सरकारको प्रमुख शेयर स्वामित्व सहित स्थापना भएको यो कम्पनीले आधा दशक अवधिमा के कस्ता उपलब्धि गर्‍यो त ? प्रस्तुत छ, कम्पनीको उपलब्धि र आगामी योजनाबारे निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीसँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानीको सार :

आधा दशकको अवधिमा कम्पनीले के कस्ता उपलब्धि हासिल गर्न सक्यो ?
नेपाल पुनर्बीमा कम्पनीका लागि यो अवधि अत्यन्त फलदायी र उपलब्धिमूलक नै भएको अनुभव गरेका छौं । यस अवधिमा कम्पनी व्यावसायिक रूपमा बलियो हुँदै आएको छ । गत आवमा मात्र हामीले करीब ७ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्‍यौं । हालसम्म कम्पनीले ३२ मुलुकमा व्यवसाय विस्तार गरेको छ । छैंटौं वार्षिकोत्सव मनाइरहँदा कम्पनीले अहिलेसम्म नोक्सानी बेहोर्नु परेको छैन । फलस्वरूप अहिले हामी दक्षिणा एशियामै दोस्रो स्थानमा छौं । पहिलो स्थानमा भारतको जनरल इन्स्यारेन्स कर्पाेरेशन अफ इन्डिया पर्छ । 

हामीले यहाँका बीमा कम्पनीहरूले २० प्रतिशत बराबरको अनुपातमा दिने पुनर्बीमालाई स्वीकार गर्न सकेका छौं । यस्तै सात जीवन बीमा कम्पनीको शतप्रतिशतको अनुपातमा पुनर्बीमा गर्न सफल भएका छौं । केही निर्जीवन बीमा कम्पनीले पनि ३ प्रतिशतदेखि १२ दशमलव ५ प्रतिशतसम्मको अनुपातमा ‘ट्रिटी’ पुनर्बीमा हामी मार्फत नै गर्दै आएका छन् । उनीहरूले ‘फ्याकल्टेटिभ’ पुनर्बीमाको व्यवसाय पनि दिँदै आएका छन् । यसले नेपाली बजारमा हाम्रो कम्पनीको विश्वास बढ्दै गएको स्पष्ट हुन्छ । साथै स्थापनाकालमा कम्पनीको रू. २ अर्बको चुक्तापूँजीलाई अहिले रू. ८ अर्ब ४० करोड पुर्‍याउन सफल भएका छौं । कम्पनीले ५ वर्षको अवधिमा गरेका मुख्य उपलब्धि यिनै हुन् । 

अहिले यहाँका बीमा कम्पनीहरूले २० प्रतिशतको अनुपातमा पुनर्बीमा यही कम्पनीमा गर्दै आएका छन् । कम्पनीको जोखिम धारण क्षमता त्योभन्दा पनि बढी छ कि ? 
हामीले सरकारलाई यहाँको बीमा कम्पनीले ३० प्रतिशतको अनुपातमा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था ल्याउन प्रस्ताव गरेका थियौं । त्यो बराबरको प्रस्ताव गर्नुको अर्थ कम्पनीको जोखिम धारण क्षमता बढी भएरै हो । तर सरकारले २० प्रतिशत मात्र गरे हुने व्यवस्था ग¥यो । हामीले त्यहीअनुसार यहाँका बीमा कम्पनीबाट व्यवसाय लिइरहेका छौं । यसैगरी फ्याकल्टेटिभ र ट्रिटी पुनर्बीमा पनि गर्दै आएका छौं, जसअनुसार कम्पनीको धारण क्षमता बढी नै छ जस्तो लाग्छ । यसलाई निरन्तरता दिनु हाम्रो चुनौती पनि हो । धारण क्षमता छ भन्दैमा यहाँका कम्पनीको शतप्रतिशत मात्रामा पुनर्बीमा व्यवसाय भने लिँदैनौं । उनीहरूबाट लिइएका जोखिममध्ये पनि कम्पनीले थेग्न सक्ने जोखिम राखेर बाँकीको रेट्रोसेशन (पुनर्बीमाको पनि पुनर्बीमा)मार्फत अन्य पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्ने गरेका छौं । अहिलेको अवस्थामा हामीले कुल बीमाशुल्कको करीब १० प्रतिशत रकम रेट्रोसेशन मार्फत बाहिर पठाएका छौं । 

तपाईंको भनाइअनुसार कम्पनीले ५ वर्षको अवधिमा थुपै्र उपलब्धि गरेको देखियो । यस्ता उपलब्धिका बीच पनि गर्न नसकेका केही काम छन् ?
वास्तवमा कम्पनीले यो अवधिमा धेरै काम गर्न सक्यो । तर दुईओटा काम गर्न सकेनौं । यही अवधिमा कम्पनीको रेटिङ गर्ने भनेका थियौं, तर सम्भव भएन । समयमै आईपीओ जारी गर्न नसक्दा यसको प्रक्रिया अगाडि बढ्न सकेन । अहिले आईपीओ जारी हुने प्रक्रियामा रहेको छ । कम्पनीको रेटिङ गर्ने तयारी पनि गरेका छौं । सम्भवतः हामी चालू आवमै रेटेट कम्पनी हुन्छौं । साथै अन्तरराष्ट्रिय स्तरको पुनर्बीमा सफ्टवेयर ल्याउने भनेका थियौं । त्यो पनि प्राविधिक समस्याका कारण हुन सकेन । तर यसको तयारी भने गरेका छौं । 

अबको ५ वर्षपछि कम्पनीले १ दशकको यात्रा पूरा गर्नेछ । त्यो बेलामा कम्पनीलाई कस्तो अवस्थामा देख्न सकिन्छ होला ?
५ वर्ष भनेको धेरै लामो सयम पनि हो । त्यो बेलासम्ममा ठूलो मात्रामा व्यवसाय गर्न सकिन्छ जस्तो लाग्छ । अहिले वार्षिक रू. १० अर्ब प्रिमियम उठाउने लक्ष्य लिएका छौं भने त्यो बेला वार्षिक रू. ४० अर्बभन्दा बढी प्रिमियम उठाउन सकिन्छ कि जस्तो लाग्छ । साथै अमेरिका, यूरोप, क्यानडा, जापान बाहेकका सबै मुलुकमा हाम्रो उपस्थिति हुनेछ । शायद अबको ५ वर्षमा भारत, बेलायत, सिंगापुर लगायत केही देशमा शाखा तथा सम्पर्क कार्यालय स्थापना गर्न सक्छौं । त्यसपछि कम्पनीले अन्तरराष्ट्रिय बजारबाट सोचे अनुरूपको व्यवसाय लिन सक्छ ।

हामीले लक्ष्य अनुसार काम गर्ने हो भने अबको ५ वर्षपछि नेपाल पुनर्बीमा कम्पनी एउटा स्टार कम्पनीको रूपमा स्थापित हुनेछ । तर त्यो स्तरमा पुग्न हामीलाई थुप्रै चुनौती पनि छन् । त्यसका लागि आवश्यक दक्ष जनशक्ति, पूर्वाधार लगायतको पूर्ति गर्नुपर्नेछ । साथै कम्पनीलाई पनि उच्च ग्रेडको रेटिङ प्राप्त गराउने मुख्य चुनौती छ ।

कम्पनीले नेपाल सहित ३२ देशमा सेवा विस्तार गरेको छ । कम्पनीको सेवाबाट नेपाल र विदेशका बीमा कम्पनीहरू सन्तुष्ट छन् त ? 
हाम्रो अनुभव अनुसार विदेशका बीमा कम्पनीहरू हामीप्रति सन्तुष्ट नै छन् । कम्पनी रेटेट नहुँदा पनि उनीहरूले निरन्तर व्यवसाय दिइरहेका छन् । बाहिरबाट आउने प्रिमियमको मात्रा पनि बढ्दै गएको छ । हामीले राम्रो सेवा दिएका छौं भन्ने यो आफैमा एउटा बलियो प्रमाण हो । अहिले विशेष कारणवश प्mयाकल्टेटिभ पुनर्बीमालाई केही समयका लागि रोकेका छौं । अहिले उनीहरूले खुला गरिदिन माग गरेका छन् ।

यहाँका बीमा कम्पनीहरू पनि दिनप्रतिदिन सन्तुष्ट हुँदै गएका छन् जस्तो लाग्छ । फलस्वरूप थप दुई जीवन बीमा कम्पनी हामीसँग शतप्रतिशतको अनुपातमा पुनर्बीमा गर्र्ने तयारीमा छन् । साथै निर्जीवन बीमा कम्पनीले पनि छुट्टै रूपमा फ्याकल्टेटिभ पुनर्बीमाको व्यवसाय दिइरहेका छन्, जसले गर्दा यहाँका कम्पनी पनि हाम्रो सेवाप्रति सन्तुष्ट छन् भन्ने लाग्छ । 

कम्पनीले रू. १ अर्ब ६० करोड बराबरको आईपीओ जारी गर्दै छ । त्यसको प्रक्रिया कहा“ पुग्यो ? साथै कम्पनीको रेटिङ गर्ने सम्बन्धमा प्रगति के छ ? 
आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौं । बोर्डले केही थप कागजपत्र माग गरेको छ । सम्भवतः १ हप्ताभित्र बोर्डले मागेको कागजपत्र पेश गर्छाैैं । त्यसपछि आवश्यक प्रक्रिया पुर्‍याएर मङ्सिरभित्रै आईपीओ जारी गर्ने तयारीमा छौं । आईपीओ जारी भएलगत्तै कम्पनीको रेटिङ गर्ने प्रक्रिया अगाडि बढाउँछौं । हाल यसका लागि मापदण्ड तथा पूर्वाधार जुटाउने काम भइरहेको छ । एएम बेस्ट नामक अमेरिकी रेटिङ एजेन्सी मार्फत कम्पनीको रेटिङ गर्ने योजना छ । चालू आवमै हामी रेटेट कम्पनी हुन्छौं । 

कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर छ । यो अवस्थामा सरकार र नियामक निकाय बीमा समितिबाट कत्तिको सहयोग पाउनु भएको छ । साथै आगामी दिनमा कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ? 
हालसम्म कम्पनीलाई सरकार र बीमा समितिबाट आवश्यक सहयोग मिलेको छ । अर्थ मन्त्रालय र बीमा समितिले अभिभाकको भूमिका निर्वाह गरेका छन् । अहिलेसम्म त्यस्तो असहयोग भन्ने छैन । आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्छ । २० प्रतिशतको अनुपातमा हवाई बीमाको पुनर्बीमा गर्ने नीति लागू गर्न सकिएको छैन । यसमा केही प्राविधिक अफ्ठ्याराहरू छन्, जस कारण हवाई बीमाको पुनर्बीमा गर्न जटिल छ । त्यसलाई कार्यान्वयनका लागि सरकारले कम्पनीलाई थप बलियो बनाउनेतर्फ काम गर्नुपर्ने देखिन्छ । 

हवाई बीमाको व्यवसाय धेरै जोखिमयुक्त छ । यसको पुनर्बीमा गर्न कम्पनीको क्षमता अझै बढाउनुपर्छ । यस्तो बीमाका लागि हामीले एउटा उपसमिति पनि बनाएका छौं, जसअनुसार अब छिट्टै हवाई बीमाको पनि पुनर्बीमा गर्न सक्ने अवस्थामा पुग्छौं । 

पुनर्बीमा कम्पनीले पनि आफ्नो पुनर्बीमा गनुपर्ने हुुन्छ । तपाईंहरूले यसलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
हामीले कम्पनीको पुनर्बीमालाई अन्त्यन्त सुरक्षित ढंगले अगाडि बढाएका छौं । यसलाई मुख्यतः तीन तरीकाले व्यवस्थापन गर्दै आएका छौं । एक, संसारमा नाम चलेका ए–रेटेट पुनर्बीमा कम्पनीसँग मात्र पुनर्बीमा गर्ने नीति बनाएका छौं । दोस्रो, एकआपसमा व्यवसाय आदानप्रदान गर्नेगरी ‘पारस्परिक’ ढंगले पनि पुनर्बीमा गर्ने नीति ल्याएका छौं । यसैगरी कम जोखिम भएको मुलुकका कम्पनीसँग पुनर्बीमा गर्ने नीति ल्याएका छौं । 

अन्तरराष्ट्रिय बजारबाट थप व्यवसाय लिन नयाँ नयाँ ठाउँमा जाने गरेका छौं । यसका लागि योजनाबद्ध रूपमै अगाडि बढेका छौं । सञ्चालक समितिले पनि पनि भारतमा शाखा खोल्न अनुमति दिएको छ । सम्भवतः यो आर्थिक वर्षमा त्यहाँ कम्पनीको शाखा खोल्नेछौं । 

हालै कम्पनीको निमित्त कार्यकारी प्रमखको रूपमा नियुक्त हुनु भएको छ । तपाईं आएपछि कम्पनीले के कस्तो उपलब्धि गर्‍यो ?
म यो पदमा आएपछि कम्पनीको पुनर्बीमा व्यवस्थापनलाई राम्रो बनाउन बनाउन सकेका छौं । अहिले पहिले भन्दा पनि राम्रो पुनर्बीमा कम्पनीमा रेट्रोसेशन गर्न शुरू गरेका छौं । यस अवधिमा हान्नोभर री (जर्मनी), एभरेस्ट री (सिंगापुर), क्यानोपिएस री (सिंगापुर), लिबर्टी री (यूरोप) र जीआईसी जस्ता ए–रेटेट कम्पनीसँग रेट्रोसेशन गर्न सफल भएका छौं ।

कम्पनीको नयाँ भवनको संरचना बनाएर टेन्डर प्रक्रियामा जाँदै छौं । यसका अलावा छिट्टै आईपीओ जारी गर्दै छौं । शतप्रतिशतको अनुपातमा पुनर्बीमा गर्ने जीवन बीमा कम्पनीको संख्या पनि बढ्दै छ । 

पुनर्बीमा व्यवसाय नेपालका लागि नयाँ विषय भएकाले यससम्बन्धी पर्याप्त कानून पनि छैन । यसलाई कसरी हेर्नु भएको छ ?
नेपालमा अहिले पुनर्बीमा सम्बन्धी पर्याप्त कानून छैन । हाल संसद्मा बीमा सम्बन्धी नयाँ कानून विचाराधीन अवस्थामा छ । त्यसमा पुनर्बीमा सम्बन्धी थुप्रै व्यवस्था छन् । त्यो कानून लागू भएपछि हामीलाई केही सहज हुन्छ । तर त्यतिले मात्र पुग्दैन जस्तो लाग्छ । कम्पनी बीमा समितिकै नियमनमा हुनेगरी छुट्टै कानून ल्याउन आवश्यक छ । त्यसका लागि हामीले आफ्नो व्यवसाय लगायत पक्षलाई दृढ रूपमा अगाडि बढाउनुपर्छ । 

थुप्रै अवसर र सम्भावना बोकेको यस कम्पनीलाई आगामी दिनमा के कस्ता चुनौती छन् होला ? 
अवश्य पनि हामीलाई केही चुनौती छन् । बाहिरबाट प्राविधिक तथा बजार विश्लेषक ल्याउन पनि चुनौती देखिएको छ । यस्तै यहाँका बजारबाट जुन प्रतिशतमा व्यवसाय लिइरहेका छौं । त्यसलाई निरन्तरता दिन र उनीहरूको अपेक्षा अनुसारको सेवा प्रवाह गर्न पनि चुनौती नै छ । कुन बीमा कम्पनी कस्तो हो भन्ने कुरा दाबी परेपछि थाहा हुन्छ । त्यसैले कम्पनीलाई तत्काल दाबी भुक्तानी दिने अवस्थामा पुर्‍याउन आवश्यक छ । यसका लागि तरलता भइरहने गरी कम्पनीको लगानीलाई व्यवस्थापन गर्नुपर्नेछ । व्यवसायको वृद्धिदर कामय गर्नु पनि कम्पनीका लागि चुनौती हो । साथै कम्पनीको पूर्वाधार विकास र अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर भित्र्याउन पनि चुनौती छ जस्तो लाग्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्