arthik abhiyan
ad banner

चिनियाँ अर्बपतिको सूचीमा दोस्रो वर्ष पनि ज्याक मा अगाडि, यस वर्ष ३ अर्ब ६० करोड सम्पत्ति बढ्यो

Nov 7, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २१, पेचिङ (चीन) । अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको चिनियाँ अर्बपतिहरुको सूचीमा अनलाइन कम्पनी अलिबाबा गु्रपका संस्थापक ज्याक मा शीर्ष स्थानमा रहेका छन् । मा लगातार दोस्रो वर्ष सूचीको शीर्ष स्थानमा रहन सफल भएका हुन् । सन् २०१८ मा ३४ अर्ब ६० करोड डलर रहेको माको सम्पत्ति यस वर्ष बढेर ३८ अर्ब २० करोड डलरमा पुगेको छ ।

सूचीको दोस्रो स्थानमा भने प्रविधि कम्पनी टेनसेन्ट होल्डिङ्सका सह–संस्थापक तथा सीईओ पोनी मा हुवाथेङ छन् । समीक्षा अवधिमा उनको नेटवर्थ ३६ अर्ब डलर रहेको छ । चीनको सबैभन्दा ठूलो रियल इस्टेट डेभलपर कम्पनी एभरग्रान्डेका अध्यक्ष हुई का यान २७ अर्ब ७० करोड डलर नेटवर्थसहित सूचीको तेस्रो स्थानमा रहेका छन् । यस वर्षको सूचीमा रहेको आधाभन्दा धेरै धनाढ्यको सम्पत्ति बढेको छ । करीब एक चौथाईको सम्पत्ति भने घटेको छ ।

चीनको आर्थिक वृद्धिदर सुस्ताइरहेको भएपनि त्यहाँको प्रविधि क्षेत्रका उद्यमीहरुले नयाँ व्यवसाय र सम्पत्ति सृजनाको बाटो पत्ता लगाइरहेको फोर्ब्स चाइनाका प्रधान सम्पादक रसेल फ्लानेरीले बताए । पूँजी बजारमा पहुँचले पनि सम्पत्ति सृजनामा उल्लेख्य मद्दत गरेको उनको भनाइ छ । अमेरिकासँगको लामो समयदेखिको व्यापार युद्धका कारण चीनमा लगानीकर्ताको मनोबल र लगानी परिदृश्य दुबै धूमिल भइरहेको छ । घरेलु अर्थतन्त्रको सुस्तीले पनि यसमा थप दबाब सृजना गरेको छ ।

तर फोर्ब्स चाइना रिच लिष्टमा समाविष्ट ४०० धनाढ्यहरुको कुल सम्पत्ति सन् २०१८ को तुलनामा यस वर्ष २० प्रतिशतले बढेर १२ खर्ब ९० अर्ब डलरमा पुगेको छ । गत वर्ष सम्पत्तिको आकार १० खर्ब ६० अर्ब डलर रहेको थियो । यस वर्षको सूचीमा ६० जना नयाँ अर्बपति थपिएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्