arthik abhiyan
ad banner

भारतमा मोबाइल उत्पादन क्षमता बढाउने भिभोको घोषणा, १० हजार कर्मचारी भर्ती

Nov 7, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २१, नोइडा (भारत) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले भारतमा उत्पादन क्षमता बढाउने घोषणा गरेको छ । कम्पनीले बुधवार त्यहाँको उत्पादन कारखानाबाट वर्षेनी ३ करोड ३४ लाख थान स्मार्टफोन उत्पादन गर्ने बताएको हो । यसका साथै कम्पनीले कर्मचारी भर्ती पनि १० हजारले बढाएको छ । सन् २०२० को मध्यदेखि भिभोले त्यहाँ अर्को चरणको मोबाइल उत्पादन विस्तार गर्ने योजना बनाएको छ ।

त्यतिबेला पनि कर्मचारी भर्ती ५ हजारले बढाउने कम्पनीको योजना छ । यद्यपि, उत्पादन क्षमतामा वृद्धि भने त्यतिबेलाको बजार मागमा निर्भर हुने भिभो इण्डियाका ब्राण्ड रणनीति निर्देशक निपुण मार्याले बताए । कम्पनीले मेक इण्डियाको हिस्सा अन्तर्गत त्यहाँ ७५ अर्ब रुपया लगानी गर्ने प्रतिवद्धताअनुसार उत्पादन विस्तार गर्न लागेको हो । भारतमा अहिले कम्पनीको उत्पादन क्षमता वार्षिक साढे २ करोड थान स्मार्टफोन रहेको छ । हालै भारतमा कम्पनीको बजार हिस्सा ५ प्रतिशतले बढेको छ । पहिलो चरणको विस्तार कार्य पूरा भएपछि कम्पनीको उत्पादन क्षमता ८४ लाख थान बढ्ने बताइएको छ ।

मध्यम वर्गका फोनको विक्रीमा भएको वृद्धि र अनलाइन सेग्मेन्टमा बढाएको ध्यानका कारण त्यहाँ भिभोको बजार हिस्सा बढेको छ । बजार अनुसन्धाता संस्था काउन्टर प्वाइन्टले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१९ को तेस्रो त्रैमासमा भारतको स्मार्टफोन बजारमा भिभोको हिस्सा १७ प्रतिशतमा पुगेको छ । यो कम्पनीको अहिलेसम्मकै उच्च भारतीय बजार हिस्सा हो । रासस/पीटीआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्