arthik abhiyan
ad banner

पर्यटक तान्दै मुसीकोट डाँडा

Nov 8, 2019 
प्रदेश ०६
Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुमको मुसीकोट डाडाँमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । मुसीकोट नगरपालिका–४ मा पर्ने यस क्षेत्रमा वार्षिक करीब ५ हजार पर्यटक आउने गरेको मुसीकोट दरबार संरक्षण समितिले बताएको छ । तत्कालीन मुसीकोटे राजाको दरबार रहेको यो ठाउँमा मुसीकोट दरबार क्षेत्र संरक्षण समितिले पार्क बनाएको छ । यससँगै यहाँ विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको मुसीकोट डाँडाका चौकीदार तिलकबहादुर मल्लले बताए ।

२ वर्षअघि साविकको जिल्ला विकास समिति, मुसीकोट नगरपालिका, जिल्ला वन कार्यालय र जिल्ला भू्–संरक्षण कार्यालयको संयुक्त प्रयासमा मुसीकोट दरबार क्षेत्रको संरक्षण गरिएको थियो । यस्तै पुरातत्व विभागले पनि यस क्षेत्रको विकासका लागि काम गरेको थियो । मुसीकोट डाँडा संरक्षण गरेर पार्कको रूपमा विकास गरिएपछि यहाँ पर्यटकको आकर्षण बढेको समितिका अध्यक्ष लोकेन्द्र शाहले बताए । मुसीकोट डाँडा प्रवेशका लागि २५ रुपैयाँ प्रवेश शुल्क तोकिएको जानकारी उनले दिए । उनका अनुसार गतवर्ष पर्यटकको प्रवेश शुल्कबाट समितिले १ लाख ५३ हजार आम्दानी गरेको थियो ।

मुसीकोट डाँडा सदरमुकाम खलंगा बजार पुग्नुभन्दा ४ किलोमिटर अगाडि राप्ती लोकमार्गको तुलसीपुर–रुकुम खण्डको छेवैमा पर्छ । यहाँ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रुकुम पूर्व, रोल्पा, जाजरकोट, सल्यान लगायत जिल्लाबाट समेत आन्तरिक पर्यटक आउने गरेको चौकीदार मल्लले बताए । मुसीकोट डाँडामा अहिले पनि दरबारको अवशेषको रूपमा इँटाहरू देख्न सकिन्छ । यहाँ आउने पर्यटकले तिरेको प्रवेश शुल्क यही क्षेत्रको विकासमा खर्च हुने संरक्षण समितिले बताएको छ ।

चारैतिर पक्की तारबार गरिएको यस डाँडाबाट रुकुम पश्चिमको   सदरमुकाम खलंगा बजार क्षेत्रका साथै सानीभेरी नदी र जिल्लाका धेरै स्थानहरू अवलोकन गर्न सकिन्छ । यो ठाउँमा दरबार बनाउन सुझाउने मुसी (तत्कालीन राजाको सुसारे)को काल्पनिक प्रतिमा, शिवमन्दिर, चौतारी र शौचालय निर्माण गरिएको छ । यस्तै विभिन्न प्रजातिका बोटबिरुवा र पूmलहरू रोपेर सुन्दर बगैंचा समेत बनाइएको छ । पछिल्लो समय रुकुम र आसपासका जिल्लाबाट बिदा मनाउन यस क्षेत्रमा आउनेहरू बढेको समितिले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्