arthik abhiyan
ad banner

चलचित्र स्वर्णिम महोत्सव शुरू

Nov 8, 2019 
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज  ।  मधेश क्षेत्रका कला र संस्कृतिको प्रवर्द्धनका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरू भएको छ । महोत्सवको बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्र चेतना विस्तार र समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको बताउनुभएको छ । चलचित्र जगतले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ छ । 

राष्ट्रपति भण्डारीले चलचित्र सामाजिक क्षेत्रको सकारात्मक परिवर्तनमा प्रभाव पार्ने माध्यम भएकाले यसमा समयसापेक्ष सुधारको आवश्यकता रहेको औंल्याउनुभएको छ । नेपाली चलचित्रमा समयसापेक्ष तालीम र प्रविधिको खाँचो रहेको उहाँले बताउनुभयो । 

कलाकारहरू राष्ट्रका जागरुक प्रतिनिधि पात्र भएकाले भन्दै राष्ट्रपति भण्डारीले सामाजिक सहिष्णुता, शान्ति प्रवर्द्धन, पर्यटन विकास, पर्यावरणीय सन्तुलन र आर्थिक समृद्धिका दूत बनेर समाजमा चेतना विस्तार गर्न आग्रह गर्नुभयो । 

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले कलाक्षेत्रको विकासका लागि नीतिगत व्यवस्था मिलाइएको बताए । चलचित्र निर्माताले देशको कला संस्कृति र मौलिकतालाई केन्द्रमा राखेर समाज रूपान्तरणमा भूमिका खेल्नुपर्नेमा मन्त्री बाँस्कोटाले जोड दिए । 

त्यसैगरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली चलचित्र क्षेत्रले मधेशको कला, संस्कृति र कलाकारलाई उचित स्थान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले चलचित्र महोत्सवले वीरगञ्ज र आसपासको क्षेत्रमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । स्थानीय भाषा, कला र संस्कृतिलाई कलाको माध्यमबाट उजागर गर्न चलचित्र निर्माताहरूलाई उनले आग्रहसमेत गरेका छन् । 

शनिवारसम्म चल्ने महोत्सव उद्घाटनअघि वीरगञ्जको घण्टाघरबाट विभिन्न जातजाति र समुदायको कला र संस्कृति झल्किने वेशभूषाको झाँकीसहितको र्‍याली निकालिएको थियो । वीरगञ्जको घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, महावीरस्थान हुँदै आदर्शनगरस्थित कार्यक्रमस्थल रंगशाला पुगेको थियो ।

उद्घाटन समारोहमा चलचित्र छायाकार वैकुण्ठ मास्के र प्रथम चलचित्र सम्पादक तीर्थलाल श्रेष्ठलाई नेपाली चलचित्र स्वर्णिम सम्मान प्रदान गरिएको छ । उनीहरूलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गर्नुभयो । चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवमा सहभागी हुन बलिउड सुपर स्टार गोविन्दा पनि बिहीवार वीरगञ्ज आएका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्