arthik abhiyan
ad banner

सप्तरीमा व्यावसायिक मेवा खेती

Nov 8, 2019 
प्रदेश ०२
Image Not Found
author avatar सौरभ यादव

राजविराज । स्वास्थ्यका लागि अति गुनिलो फल हो मेवा । तर, उत्पादनतर्फ किसानहरूको ध्यान पुग्न नसक्दा सप्तरीका बजारमा ७५ प्रतिशतभन्दा बढी मेवा भारतबाटै आयात हुँदै आएको छ । सोही कुरालाई ध्यान दिर्ई सप्तरीमा संयुक्त रूपमा व्यावसायिक मेवा खेती शुरू गरिएको छ ।

कञ्चनरूप नगरपालिका–१२, धरमपुरमा दीपक गुप्ता, पीताम्बर कर्ण र अनिल प्रधानले सुन्दरी फार्म खोलेर संयुक्त रूपमा व्यवसायिक मेवा खेती शुरू गरेका हुन् । ‘पोसिलो मानिने मेवाको बोट गाउँघरमा कतैकतै देखिए पनि यसको व्यावसायिक खेती हुन सकेको छैन,’ गुप्ताले भने, ‘यसैले बजारको माग पूरा गर्न भारतकै भर पर्नुपर्ने बाध्यता छ ।’ उनले आफूहरूले शुरू गरेको खेतीबाटमेवा उत्पादन हुन थालेपछि सप्तरीको बजारको माग पूरा हुने विश्वास व्यक्त गरे ।

‘४ महीनाअघि मात्रै भारतको कोलकाताबाट ‘रेडलेडी’ प्रजातिका बिरुवा ल्याएर पाँच बिघा जग्गा भाडामा लिएर मेवा खेती शुरू गरेका हौं,’ गुप्ताले भने । १९ लाख रुपैयाँको लगानीमा झण्डै चार हजार बिरुवा रोपेको उनले बताए । अहिले तीनै जना मिलेर बोटको रेखदेख गर्दै आएको र कुनै समस्या नदेखिएको उनको भनाइ छ । ‘अहिले त बोटको अवस्था राम्रै छ, तर पनि चिन्ता छ’ उनले थपे, ‘कुनै समस्या आइहाले प्राविधिक पाउन गाह्रो छ ।’

अर्का व्यवसायी प्रधानले आफूहरूले लगाएको एउटा बोटमा करीब ५० देखि ६० किलोसम्म फल लाग्ने बताए । ‘खेतमा लगाएको ताइवानी मेवाको बोटमा अहिले फूल र फल लाग्न शुरू भइसकेकोले ३ देखि ४ महीनासम्ममा विक्रीयोग्य हुन्छ,’ उनले भने । यहाँ उत्पादित मेवा काठमाडौं, पोखरा, धरान, विराटनगर र जनकपुर लगायतका बजारसम्म पठाउने योजना रहेको उनले सुनाए । सप्तरीका बजारमा ६० देखि ६५ रुपैयाँ प्रतिकिलोको दरले मेवाको कारोबार हुँदै आएको छ ।

अर्का व्यवसायी कर्णले कृषिमै केही नयाँ गर्ने सोच पलाएपछि मेवा खेती शुरू गरेको बताए । कृषिमा युवाले गर्न खोजे पनि सरकारले उदासीनता देखाएको उनको धारणा छ । उनले कम्तीमा पनि स्थानीय र प्रदेश सरकारले त्यस्ता युवालाई कृषितर्फ उन्मुख गराउन ध्यान पु¥याउनुपर्ने माग गरे । ‘सरकारले युवाका लागि अनुदान उपलब्ध गराएर कृषितर्फ ल्यायो भने अवश्य पनि कृषिमा प्रदेश आत्मनिर्भर हुन्छ,’ उनले भने । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्