arthik abhiyan
ad banner

सुनको भाउमा ३ वर्षकै तीव्र साप्ताहिक कमी 

Nov 9, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २३, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा शुक्रवार बहुमूल्य धातु सुनको भाउमा तीन वर्षयताकै तीव्र साप्ताहिक कमी आएको छ । सुनसँग विपरित सह–सम्बन्ध मानिएको अमेरिकी डलर बलियो बनेपछि उक्त दिन सुनको भाउ घटेको हो । 

अमेरिका–चीनबीच चलिरहेको व्यापार वार्तामा देखिएको सम्भावनाले पनि सुरक्षित लगानी मानिने सुनप्रति लगनीकर्ताको आकर्षण घट्दा पनि मूल्य प्रभावित भएको हो । 

शुक्रवारको कारोबारमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार बन्द हुँदा स्पट गोल्डको शून्य दशमलव ३६ प्रतिशतले घटेर प्रतिऔंस १ हजार ४५८ डलर ९० सेन्टमा आएको थियो । 

उक्त दिन स्पटको भाउ अधिकतम् १ हजार ४७२ डलर ८६ सेन्ट र न्यूनतम् १ हजार ४५६ डलर ७२ सेन्टमा आएको थियो । यद्यपि हप्ताभरि भने सुनको भाउ साढे ३ प्रतिशत भन्दा धेरैले घठेको थियो । यो कमी सन् २०१६ को नोभेम्बरयताकै उच्च हो ।

शुक्रवार युएस गोल्ड फयूचर्सको भाउ पनि शून्य दशमलव ५ प्रतिशतले घटेर प्रतिऔंस १ हजार ४५९ डलर ७० सेन्टमा आएको थियो ।  व्यापार युद्ध समाप्त हुने अपेक्षा बढेको र यसले नै सुनको भाउ घटाएको एक्टिभट्रेड्सका प्रमुख विश्लेषक कार्लो अल्बेर्टो डि कासाले भने । बिहीवार १ हजार ४८० समर्थन स्तर तोडिएपछि सुनको भाउ दबाबमा आएको डि कासाले बताए ।

बिहीवार सुनको भाउ मेको अन्त्ययता पहिलो पटक सय दिने मुभिङ एभरेजभन्दा तल आएको थियो । अमेरिका र चीनले अतिरिक्त महसुल हटाउन सहमति जनाएको खबर सार्वजनिक भएपछि डलरको भाउ बढेको थियो । सो कदमले व्यापार युद्ध चाँडै नै अन्त्य गर्ने अनुमान गरिएको थियो । 

तर व्यापार वार्ताको भविष्य अझैं पनि अन्यौलमै छ । यसका कारण शुक्रवार शेयर बजार २१ महीनाकै उच्च बिन्दुबाट तल आएको थियो । अहिले लगानीकर्ताहरुले अनुमानका भरमा लगानी गरिरहेका छन् । 

आगामी महीना पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर भयो भने सुनको भाउ फेरि घट्नेछ । गत हप्ताको कारोबारमा चाँदी, प्लाटिनम र पालाडियमलगायत बहुमूल्य धातुको भाउ पनि घटेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्