arthik abhiyan
ad banner

रेलमार्ग प्रभावित जग्गाधनी आन्दोलित

Nov 11, 2019 
प्रदेश ०२
NA


रौतहट (अस) । उचित मुआब्जा नपाएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका–८ का रेलमार्ग प्रभावित जग्गाधनी आन्दोलित भएका छन् । बर्दिवास–निजगढ रेलमार्ग अन्तर्गत पर्ने आफूहरूको जग्गाको मुआब्जा चलनचल्तीको मूल्य अनुसार नदिइएको गुनासो उनीहरूले गरेका छन् । जग्गाधनीहरूले रेलमार्ग निर्माणमा अवरोध समेत गरेका छन् । उनीहरूले चन्द्रपुर नगरपालिका–८ बेतौनाटोलमा सर्भे गर्न आएको निर्माण व्यवसायीका प्राविधिकलाई केही दिनअघि काम गर्न नदिएका हुन् । 

रेलमार्गको लिक तथा स्टेशन बनाउने जग्गाको पुनर्मूल्यांकन गरी उचित मुआब्जा पाउनुपर्ने माग जग्गाधनीहरूको छ । आफूहरूको माग पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । गृह मन्त्रालय, रेल विभाग र जिल्ला प्रशासन कार्यालयमा गुनासो गरे पनि सुनुवाइ नभएको गुनासो उनीहरूको छ ।

अधिग्रहण गरिएको आफूहरूको जग्गाको मुआब्जा चलनचल्तीको मूल्यको आधा पनि नदिइएको प्रभावित जग्गाधनीले बताएका छन् । कठ्ठाको १० लाख पर्ने जमीनको मुआब्जा रकम साढे ३ लाख रुपैयाँ मात्र दिइएको उनीहरूको भनाइ छ ।

निर्माणमा खटिएका ओभरसियर कुमार भट्टराईले जग्गाधनीको अवरोधले काम अघि बढाउन नसकिएको बताए । अन्य स्थानीयवासीले भने जग्गाधनीको माग समयमै सम्बोधन गरी काम शुरू गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले गतवर्षको फागुन ७ गते ३५ दिनको म्याद राखेर जग्गा अधिग्रहणको सूचना निकालेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्