arthik abhiyan
ad banner

बुटवलमा आन्तरिक बाइपास सडक विस्तार शुरू

Nov 11, 2019 
प्रदेश ०५
NA
author avatar बीपी गौतम


रूपन्देही । बुटवल उपमहानगरपालिकाले आन्तरिक बाइपास सडकको विस्तार एवं स्तरोन्नति अघि बढाएको छ । यस अन्तर्गत हाल मुख्य आन्तरिक बाइपासको रूपमा रहेको कालिकापथको विस्तार शुरू गरेको छ । बाइपास सडकहरूको विस्तार तथा स्तरोन्नतिका लागि ६ करोड ५० लाख रुपैयाँ बराबरको बजेट खर्च गरिँदै छ । 

बुटवल उपमहानगरपालिकाले संघीय र प्रदेश सरकारको सहकार्यमा गत आवमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेर काम शुरू गरेको थियो । उक्त कामका लागि चालू आवमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सडक क्षेत्राधिकार कायम गर्दै नाली निर्माण र पूmटपाथ बनाउने काम तीव्र पारिएको छ । पहिलो चरणमा नाली र पूmटपाथ निर्माण सक्ने र लगत्तै कालोपत्र गरिने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

उपमहानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै बनाएर उक्त सडकको विस्ता गर्न लागेको हो । डीपीआरमा करीब १ अर्ब रुपैयाँ तथा ३ वर्ष लाग्ने अनुमान गरिए पनि लागत र समय दुवै घट्न सक्ने उपमहानगर प्रमुख सुवेदीले बताए । गत आवको शुरूमै यो सडकको क्षेत्राधिकार छुट्ट्याएर काम थाल्ने भनिए पनि केही समय रोकिएको थियो । 

अहिले पुरानो बसपार्क (कृषि उपज केन्द्र परिसरदेखि योगीकुटीसम्म)को भित्री सडक कालिकापथलाई ८२ फुटको कायम गर्दै विस्तार र स्तरोन्नति शुरू गरिएको हो । यो सडकलाई नमूना मार्ग बनाउने योजना उपमहानगरपालिकाको छ । बुटवलका आन्तरिक बाइपासमध्ये सबैभन्दा स्तरीय बनाउने लक्ष्यसहित कालिकापथको काम अघि बढाइएको उपमहानगरपालिकाले बताएको छ ।

बुटवलमा प्रदेशको अस्थायी मुकाम भएसँगै पछिल्लो समयमा जनघनत्व र सवारीसाधनको चाप बढ्दो छ । ट्राफिक जामको समस्याले भित्री सडक आसपासका बासिन्दा मारमा पर्दै आएका छन् । स्थानीयवासीको सहकार्यमा योजनाको सफल कार्यान्वयन गरिने भन्दै उपमहानगर प्रमुख सुवेदीले दीर्घकालीन योजना अनुरूप पूर्वाधार विकासका काम भइरहेको दाबी गरे । वैकल्पिक मार्गहरूको स्तरोन्नति तथा विस्तारदेखि सहायक मार्गमा पुल र आकासे पुल निर्माण गर्नेसम्मका योजनाहरू धमाधम कार्यान्वयन भइरहेको उनले बताए ।

उपमहानगरपालिकाका वडा नं ११ देखि १९ का विभिन्न टोलहरू जोड्ने ग्रामीण सडकको ग्राभेल तथा कालोपत्रको काम शुरू गरिएको छ । यस्तै वडा नं १ देखि १० सम्मका भित्री सडकको मर्मतसम्भार तथा स्तरोन्नतिको काम पनि भइरहेको छ । यीमध्ये बाइपास सडकहरूमा क्षेत्राधिकार छुट्ट्याइएलगत्तै कालोपत्रको कार्य सहित विस्तार अगाडि बढाइने बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्