ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरेन्द्रनगरका सबै माविमा योग प्रशिक्षण दिइने 

Nov 11, 2019  
कर्णाली प्रदेश
NA


सुर्खेत (अस) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्ना सबै विद्यालयमा योग प्रशिक्षण दिने भएको छ । स्वस्थ जनशक्ति निर्माणका लागि विद्यालय तहबाटै योग शिक्षाबारे प्रचार–प्रसार गर्न नगरपालिकाले आफ्नै खर्चमा विद्यार्थी तथा शिक्षकलाई प्रशिक्षण दिन लागेको हो । 

विद्यालयमा योग शिक्षा प्रभावकारी बनाउन विद्यार्थी, शिक्षक, विज्ञ तथा प्रशिक्षकसँग सरसल्लाह गरेर कार्यक्रम अगाडि बढाइने नगर प्रमुख देवकुमार सुवेदीले बताए । पतञ्जली योग युवा समिति कर्णाली प्रदेशको समन्वय तथा प्रदेश आयुर्वेद औषधालयले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको नागरिक आरोग्य कार्यक्रमको समापन समारोहमा नगर प्रमुख सुवेदीले भने,  ‘विद्यालयमा शीप तथा ज्ञान विस्तारका लागि योगको व्यावहारिक कार्यान्वयन आवश्यक छ ।’ 

उनले स्वस्थ शरीर तथा सकारात्मक विचारका लागि योगासनका माध्यमबाट स्वास्थ्यप्रति जागरुकता ल्याउनुपर्नेमा जोड दिए । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले पछिल्लो समय स्वास्थ्यप्रति जागरुकता बढेसँगै सर्वसाधारणको योगप्रति विशेष आकर्षण बढेको बताए । उनले योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै अध्यात्मिक भावना जागृत हुन थालेपछि सर्वसाधारण योग शिविर पुग्न थालेको जानकारी दिए । 

‘असन्तुलित खानपान तथा अस्वथ्य जीवनशैली लगायतका कारणले सर्वसाधारणमा शारीरिक स्वास्थ्य जागरुकता बढेको छ,’ उनले भने, ‘आध्यात्मिक भावना, तनाव व्यवस्थापन तथा ध्यान केन्द्रित गर्न योग अत्यन्त सरल एवं सहज माध्यम हो ।’ उनले बद्लिँदो जीवनशैलीका कारण विभिन्न किसिमका तनाव व्यवस्थापन एवं कामको क्रममा व्यस्त जीवन बिताउनेका लागि योग तथा ध्यान निकै लाभदायक रहेको बताए । 

उनका अनुसार सर्वसाधारणको मागलाई ध्यानमा राख्दै पतञ्जली योग युवा समिति कर्णाली प्रदेशको समन्वय तथा प्रदेश आयुर्वेद औषधालयको आयोजनामा ५ दिने योगा प्रशिक्षण तथा नेतृत्व विकास शिविरको आयोजना गरिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्