arthik abhiyan
ad banner

हम्पाल क्षेत्रको सम्भाव्यता अध्ययन शुरू

Nov 11, 2019 
प्रदेश ०४
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको धार्मिक, पर्यटकीय र पर्यावरणीय दृष्टिले महŒवपूर्ण मानिएको हम्पाल क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययन शुरू भएको छ । जलजला गाउँपालिकाले हम्पालमा केबुलकार सञ्चालन, सिमसार क्षेत्र घोषणा, धार्मिक, पर्यटकीय र जैविक विविधताको अनुन्धान केन्द्र बनाउने नीति लिएअनुसार यसको सम्भाव्यता अध्ययनको काम शुरू भएको हो ।
 
समुद्री सतहदेखि ३ हजार ३०० मिटर बढी उचाइमा रहेको यो क्षेत्रमा १२ सय मिटरको ताल निर्माण, आकर्षक रिसोर्टहरू सञ्चालन र नीलकण्ठेश्वर मन्दिरको पुनर्निर्माण गरी पर्यटकलाई आकर्षित गर्ने योजना रहेको छ । हम्पाल क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी अर्को आर्थिक वर्षमा पूर्वाधार निर्माणको काम शुरू गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र पर्वतबाट नेकपाका लागि निर्वाचित प्रतिनिधि सांसद सदस्य पदम गिरीलगायत नेताहरूले बुधवार सो क्षेत्रको अवलोकन गरी आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रूपमा व्याख्या गरिएको हम्पाल क्षेत्रको धेरै भूभाग जलजला गाउँपालिकाको लेकफाँट र शालिजामा फैलिएको छ । पर्वतको सबैभन्दा उच्च स्थान जलजलाबाट हिमशृंखला, सूर्योदय, सूर्यास्त र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

धवलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, पुथा, माछापुच्छे«, मनास्लु लगायत १६ भन्दा बढी हिमाल र पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ । लालीगुराँसको जंगल रहेको हम्पालमा पोखरी आकारको ठूलो फाँट रहेको छ । त्यहाँ बाँध बाँधेर तलाउ बनाउने विषयमा सम्भाव्यता अध्ययन गरिने भएको छ । 

निरमसी, पाँचऔलो सतुवालगायत बहुमूल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालीजलगायत पशुपक्षी पनि देख्न सकिन्छ । गाउँपालिकाका अध्यक्ष मल्लले यस वर्ष गाउँपालिका, प्रदेश र संघीय सरकारले जलजलाको लागि २०/२० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उक्त बजेटबाट हाल शालिजाको तारे हुँदै हम्पालसम्म पुग्ने सडक र पदमार्ग बनाउने योजना अघि सारिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्