arthik abhiyan
ad banner

जनकपुरमा गुणस्तरीय होटलको अभाव

Nov 11, 2019 
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम । सरकारले जनकपुरबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रूपमा प्रचारप्रसार शुरू गरे पनि पर्यटकले भने यहाँ गुणस्तरीय होटलको अभाव रहेको बताएका छन् । भ्रमण वर्ष सफल बनाउनकै लागि यहाँ आयोजित तीन दिवसीय नेपाल साहित्य महोत्सव जनकपुर संस्करण सहभागी स्वदेशी तथा विदेशी पर्यटकले यस्तो गुनासो गरेका हुन् । 

शुक्रवारदेखि शुरू भएको महोत्सवमा आएका सहभागीले जनकपुरधाम भरिभराउ देखिन्छ । तर, पर्यटक एवम् अतिथिलाई स्वागत गर्ने गुणस्तरीय होटल अभावमा सहभागीलाई निकै सास्ती भइरहेको छ । सानादेखि ठूला होटलमा चाप बढे पनि गुणस्तरहीन सेवाले पर्यटक आजित भएका छन् । जनकपुरधाममा पर्यटकलाई टिकाई राख्न होटल अभाव रहेको व्यवसायीहरूले नै बताउँदै आएका छन् ।

असोज १४ गते भ्रमण वर्षको शुभारम्भ गर्न जनकपुर आएका संघीय सरकारका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि यहाँ अतिथिलाई स्वागत, सत्कार गर्ने होटल अभाव रहेको बताएका थिए । 

‘हिन्दूहरूको आस्था केन्द्र जनकपुरधाममा सीमित होटल भएका कारण महोत्सवमा बस्न समस्या छ,’ काठमाडौंबाट आएका सुविन्द्र भट्टले भने, ‘हामी परिवारसँग आएको कारण गुणस्तरीय होटल खोजेका थियौं ।’ भ्रमण वर्षमा धेरै पर्यटक आउने भएकाले जनकपुरधामको होटलमा बास पाउनै गाह्रो भएको होटल व्यवसायी विजय झुनझुनवाला बताउँछन् ।

स्थानीय वेलकम होटल एक महीना अगावै नेपाल पर्यटन बोर्डले बुक गरेको छ । महोत्सवमा आउने अतिथिसहितलाई बन्दोबस्तका लागि एक सातादेखि रहेका अधिकरीहरू होटल वेलकममा अटाएका छन् । जानकी मन्दिरका दर्शन गर्नका लागि पछिल्लो समय पर्यटक आउने क्रममा बढेको छ । तर पर्याप्त होटल नहुँदा पर्यटकलाई समस्या परेको छ । प्रदेशको राजधानीका कारण एक वर्षयता होटलमा भीडभाड बढेको छ । होटल नथपिँदा पर्यटन व्यवसाय फस्टाउन सकेको छैन ।

जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष जितेन्द्र प्रसादले यहाँ स्तरीय होटल अभाव रहेको स्वीकार गरे । महँगो जग्गा र जग्गा अभावले यहाँ व्यवसायीहरूले पनि लगानी गर्न नमानेको उनले औंल्याए । ‘जनकपुरमा पर्याप्त गुणस्तरीय होटल छैनन्,’ उनले भने, ‘विवाह पञ्चमी वा कुनै महोत्सवमा निकै सास्ती हुन्छ, पर्यटकलाई ।’ होटल अभाव रहेको भन्दै सञ्चालित होटलले पनि गुणस्तरीय सेवा नदिँदा पर्यटक नटिक्ने गरेको उनको भनाइ छ । जनकपुरमा करीब १७ सय जना अटाउने सानाठूला होटल रहे पनि कुनै ठूलो कार्यक्रम वा महोत्सवको समयमा त्यति पर्याप्त नहुने उद्योग वाणिज्य संघ जनकपुरका महासचिव जितेन्द्र महासेठले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्