arthik abhiyan
ad banner

जनताकोे जीवनस्तर उकास्न लागिपरेका छौं

Nov 11, 2019 
अन्तरवार्ता
Image Not Found

दैलेखको उत्तरी क्षेत्रमा पर्ने विकट गाउँपालिका हो महावु । जिल्ला सदरमुकामसँग जोडिएको भए तापनि महावु गाउँपालिका विकासमा पछि परेको छ । साविकका काँसिकाँध, रानीवन, गैंडाबाज, बडाखोला र खरीगैरा गाविस मिलेर बनेको यो गाउँपालिकाका ९२ प्रतिशत नागरिक कृषि पेशामा संलग्न छन् । स्थानीय तहको निर्वाचनपछि आफूहरूले विकास र परिवर्तनका थुप्रै काम अघि बढाएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही बताउँछन् । जनताको आवश्यकतालाई ध्यानमा राखेर आर्थिक सामाजिक रूपान्तरणमा गाउँपालिका लागिपरेको उनको दाबी छ । स्थानीय सरकार स्थापना भएपछि २ आर्थिक वर्ष समेत सकिएको छ । प्रस्तुत छ, अहिलेसम्म गाउँपालिकामा भएका विकास निर्माण, कामकारबाही, बजेट कार्यान्वयनका चुनौती लगायत विषयमा अध्यक्ष शाहीसँग आर्थिक अभियानका दैलेख संवाददाता पंखबहादुर शाहीले गरेको कुराकानीको सार :

तपाईं गाउँपालिकाको अध्यक्ष भएर आएपछि यहाँका जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
गाउँपालिकामा निर्वाचित भएर आएपछि हामीले आफ्नै भवन स्थापना गरेर कार्यसम्पदान गर्दै आएका छौं । भौगोलिक हिसाबले निकै पछि परेको यो गाउँपालिकामा भरपर्दो सडक थिएन । अहिले जिल्ला सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने फराकिलो र बाह्रै महीना सञ्चालन हुने सडक बनाएका छौं । प्रत्येक वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक निर्माण गरिएको छ । 

यस्तै खोलीबजार–बाँसी–काँसिकाँध हुँदै कालीकोट जोड्ने सडकको काम पनि सम्पन्न गरेका छौं । गाउँपालिका स्वास्थ्य क्षेत्रमा पनि धेरै पछि परेको थियो । गाउँपालिकामा चारओटा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेका छौं । यसबाट अधिकांश नगरवासी स्वास्थ्यको पहुँचमा पुगेका छन् । पहिले यहाँ खानेपानीको राम्रो सुविधा थिएन । अहिले ‘एक घर एक धारा’ निर्माणमा अघि बढिरहेका छौं । ४० प्रतिशत नागरिकको घरमा खानेपानी पुर्‍याइसकिएको छ । कृषिक्षेत्रमा पनि उल्लेख्य काम गरेका छौं । गत २ आर्थिक वर्षमा १८ ओटा सिँचाइ आयोजना सम्पन्न भएका छन् । यस्तै १० ओटा निर्माणको क्रममा छन् भने ९५ ओटा पोखरीहरू निर्माण भइसकेका छन् । वातावरण सन्तुलन राख्न सामुदायिक वन व्यवस्थापन, आधुनिक चूलोहरू वितरण गर्ने कार्य पनि भएको छ । हालसम्म ७०० घरधुरीलाई आधुनिक चूलो वितरण गरिएको छ । 

गत आवमा पूर्वाधार विकासका के कस्ता काम भए ?
आर्थिक वर्ष २०७५/७६ मा विकास धेरै काम भएका छन् । यो गाउँपालिकामा पर्यटनको निकै ठूलो सम्भावना छ । पर्यटन विकासका लागि यहाँको उत्तरतर्फ पर्ने महावु गाथा (धाम)मा  १ हजार ११० मिटर पदमार्ग बनाएका छौं । यस्तै धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न देवताको ३० ओटा मन्दिर निर्माण गरिएको छ । शैक्षिक अवस्थामा सुधार गरिएको छ । विभिन्न विद्यालयमा ४८ कक्षाकोठाको निर्माण सम्पन्न भएको छ ।  गाउँपालिकाका प्रत्येक विद्यालयमा भौतिक अवस्था परिवर्तन गर्न १६ कोठे भवनहरूको काम भएको छ भने केहीको निर्माण अहिले पनि भइरहेको छ । गाउँपालिकाका सबै वडाहरूको विद्युतीकरणमा पनि ध्यान दिएका छौं । गाउँपालिकाको २ नं वडामा प्राधिकरणसँग मिलेर रू. ७५ लाख लागतमा  विद्युत् पु¥याउँदै छौं । गाउँपालिकाको १० प्रतिशत र सामुदायिक ग्रामीण विद्युतीकरण काठमाडौंको ९० प्रतिशत लगानी साझेदारीमा विद्युत् विस्तार गर्न लागेका हौं । केही वर्षमै प्रत्येक नागरिकको घरघरमा विद्युत् बाल्ने लक्ष्य छ ।

विद्युतीकरण लागि अहिले लाइन विस्तार गर्ने कार्य तीव्रगतिमा भइरहेको छ । कृषिक्षेत्रमा किवी, अलैंची, ओखर, टिमुरको पकेट क्षेत्र निर्धारण गरी खेती शुरू गरिसकिएको छ । यो गाउँपालिका पशुपालनका लागि उपयुक्त छ । त्यसैले पशु शाखामार्फत पशुपालक कृषकको समूह गठन गरी उन्नत जातका बाख्रा, राँगा र कुखुरा वितरण गरेका छौं । पशुपालनबाट दूध, घीउ र मासुमा आत्मनिर्भर उन्मुख भएका छौं । साथै उत्पादित कृषि वस्तुको निकासी मार्पmत नगरपालिकाको आन्तरिक आम्दानी समेत बढेको छ ।

विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के छन् ?
बजेट कार्यान्वयनमा मुख्य चुनौती भनेको हामीसँग कर्मचारी र  प्राविधिकको अभाव छ । भीरपाखा र पहाडी भू–भाग धेरै भएकाले विकास निर्माण अघि बढाउन चुनौती हुने गरेको छ । भौगोलिक हिसाबले दुर्गम ठाउँ भएकै कारण कर्मचारीहरू पनि यहाँ बस्न रुचाउँदैनन् । उचित स्रोत साधनको अभाव, दक्ष जनशक्तिको कमी, मौसम तथा वातावरण अनुकूल नहुनु (बाढी, पहिरो, हिउँ, असिना) आदि कारणले पनि यहाँ विकास बजेट कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि गाउँपालिकाले कसरी काम गर्दै छ ?
महावु एकदमै दुर्गम गाउँपालिका हो । यहाँ स्वास्थ्य क्षेत्रको अवस्था हेर्ने हो भने पहिलेभन्दा त केही परिवर्तन भएको छ । तर सन्तोषजनक भने छैन । हामीले चालू आवमा गैंडाबाजमा १५ शैय्याको हस्पिटल निर्माणको योजना अघि सारेका छौं, जसका लागि गाउँपालिकाको चौथो गाउँसभाबाट रू. १ करोड बजेट विनियोजन समेत गरिसकेका छौं ।

शिक्षाक्षेत्रमा भौतिक संरचनाहरू निर्माण गर्दै छौं । केही काम सम्पन्न गरिसकेका छन् । शैक्षिक स्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न गाउँपालिकाले शिक्षामा अनुदानको व्यवस्था पनि गरेको छ । शिक्षाक्षेत्रको विकाससँग खेलकुद पनि जोडिन्छ । त्यसैले दैलेख जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान समेत निर्माण गरेका छौं । प्रत्येक विद्यालयमा शौचालय, खानेपानी र पुस्तकालयको उचित व्यवस्थापन गरिएको छ ।

यहाँका जनताले आर्थिक समस्या झेल्दै आएका छन् । अधिकांश युवा रोजगारीका लागि विभिन्न मुलुक जाने गर्दछन् । त्यसैले नगरवासीको आर्थिक अवस्था सुधार्न हामी लागिपरेका छौं । युवालाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न कृषिक्षेत्रको व्यावसायिकता विकासमा जोड दिएका छौं । जस्तै– परम्परागत  खेती प्रणाली विस्थापित गर्दै व्यावसायिक खेती प्रणालीतर्फ कृषकलाई उन्मुख गराउने र पकेट क्षेत्रहरू निर्धारण गर्ने काम अघि बढाएका छौं । यसो गर्दा विभिन्न बाली, फलपूmल र तरकारीको उत्पादन बढाउन सकिने विश्वास छ । युवाहरू गाउँमै बसेर काम गरून्, उत्पादित कृषिउपज विक्रीबाट आर्थिक उपार्जनका टेवा पुगोस् भन्ने उद्देश्यले प्रत्येक घरमा करेसाबारीको व्यवस्था गरेका छौं । भौगोलिक बनावटको आधारमा सम्भावित बाली छनोट गरी अलैंची, मकै र आलुको पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेका छौं । यसबाट स्थानीय स्तरमै उद्यम र रोजगारी सृजनामा टेवा पुगेको छ । नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७५/७६ देखि शुरू भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरेका छौं । गाउँपालिकाका ६ ओटै वडामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । बेरोजगार युवालाई लक्षित गरी थप कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको छ ।

बजार क्षेत्रको विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
महावु गाउँपालिकाको शहरीकरण नभए तापनि मुख्यतया खरीगैरा, गैंडावाज, बाँसी, काँसिकाँध जस्ता साना बजार व्यवस्थित बनाउँदै छौं । यी क्षेत्रमा भौतिक पूर्वाधारको विस्तार तथा अनिवार्य आवश्यकता पूरा गर्नेतर्फ ध्यान दिएका छौं । बाटोको स्तरोन्नति तथा ग्राभेल गर्ने काम भइरहेको छ । आगामी दिनमा स्वास्थ्य र शिक्षाको विकासलाई पनि प्राथमिकता दिनेछौं ।

तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
विकास निर्माणका काम तोकिएको अवधिमै सम्पन्न गर्न मापदण्ड तयार गरेका छौं । सोही अनुसार काम अघि बढाएका छौं । ‘एक घर, एक उपभोक्ता नीति’ अवलम्बन गर्नुका साथै  प्रत्येक घरपरिवारका सदस्यलाई विकास निर्माणमा संलग्न गराएका छौं । यसबाट रोजगारीको अवसर सृजना समेत भएको छ । योजना निर्माणको अवधिभर तीनपटक सार्वजनिक परीक्षण गर्ने गरेका छौं । 

गाउँपालिकामा करसम्बन्धी गुनासो कत्तिको आउने गरेको छ ?
कर सम्बन्धी गुनासो आउनु स्वाभाविक नै हो । तर नागरिकमा विस्तारै करबारे जानकारी बढ्दै गएको छ । गाउँपालिकाले सिफारिश दस्तुर, मालपोत कर, नाता प्रमाणित कर, घटना अभिलेख कर, सर्जमिन दस्तुर, विवेदन दस्तुर, नामसारी दस्तुर, ठेक्कापट्टा कर लगायत शीर्षकमा कर उठाउँदै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्