कात्तिक २६, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको पहिलो तीन महीनामा रू. ४० करोड १९ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा रू. ३० करोड ३० लाख नाफा कमाएको थियो । बैंकले गत आवको तुलनामा नाफा ३२ प्रतिशत बढाएको हो । बैंकको यस आवमा वितरण योग्य नाफा रू. १९ करोड ९० लाख ६७ हजार रहेको छ ।
चालू आवको पहिलो त्रैमासमा बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९२ करोड छ । बैंकले एक आवमा कुनैपनि लाभांश वितरण नगरेकाले चुक्तापूँजीमा वृद्धि नभएको हो । बैंकले हाल डिवेन्चर विक्री गरिरहेको छ भने गत आवको वितरण योग्य नाफाबाट यस वर्षको लागि शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हालसम्म साधारण सभा बोलाएको छैन । सभाले लाभांश पारित गरेपछि चुक्तापूँजी वृद्धि हुनेछ । बैंकले जगेडा कोषमा रू. २ अर्ब २४ करोडभन्दा बढी राखेको छ ।
पहिलो तीन महीनामा बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा १७ प्रतिशत बढेर रू. ८६ करोड ५७ लाख ९२ हजार पुगेको छ । सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भई रू. ५८ करोड ९६ लाख ७८ हजार पुगेको छ । बैंकले तीन महीनामा रू. ८२ अर्ब २० करोड ६७ लाख निक्षेप संकलन गरेको छ । सोही तीन महीनामा बैंकले रू. ७८ अर्ब १९ करोड ६४ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा १ दशमलव ५० प्रतिशतबाट घटेर १ दशलमव ४ प्रतिशतमा आएकाले बैंकले खराब कर्जा उठाएको बुझिन्छ । बैंकको प्रतिशेयर आम्दानी रू. १८ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९४ रहेको छ ।