arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थतन्त्र सकारात्मक भएकै हो ?

Nov 15, 2019  
पाठक विचार
NA


पछिल्ला आर्थिक सूचकहरूले नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढेको देखाउँछ । आयातको वृद्धिदरमा कमी आएको छ भने निर्यात बढेको छ । आर्थिक वृद्धिदर पनि यसपालि राम्रै रहने आकलन गरिएको छ । त्यस्तै व्यवसायमैत्री वातावरणमा पनि सुधार आएको छ । वैदेशिक लगानी पनि केही मात्रामा बढिरहेको छ । यी सबै सूचकले हाम्रो अर्थनीति सकारात्मक रहेको संकेत गर्छ । तर, मूल्यवृद्धि लगायतका केही पक्षबारे सकारात्मक छैनन् । त्यसैले मूल्यवृद्धि कम गर्न भने सरकारले विशेष अभियान चलाउनुपर्ने देखिन्छ । बजारमा हुने ठगी, मिसावट, चुहावट र नक्कली बस्तुवाट उपभोक्ताको स्वास्थ्यलाई समेत जोगाउने गरी अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ । 

आयातमा निर्भर हाम्रो जस्तो मुलुकमा आयात न्यूनीकरण गर्न सक्ने हो भने देशको विकास सहज बन्न सक्छ । यसको लागि कृषिक्षेत्रको आधुनिकीकरण र औद्योगिक विकासमा विशेष जोड दिनुपर्ने देखिन्छ । निर्यातमुखी व्यवसाय र उद्योगलाई प्रोत्साहन गर्ने रणनीतिको प्रभावकारी कार्यान्वयन आवश्यक छ । 

नेपालको अर्थतन्त्र विप्रेषणको टेकोमा उभिएको छ । यसमा केही कमी आउनेबित्तिकै अर्थतन्त्रमा ठूलै असर गर्छ । विप्रेषणको वृद्धिदरमा केही कमी आउन थालेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या पनि घट्दै छ । युवाले नेपालमै काम गर्न थालेर यसो भएको हो भने सकारात्मक मान्नुपर्छ । वैदेशिक रोजगारीमा अर्धदक्ष तथा दक्ष श्रमिकलाई पठाउनुपर्छ । उच्च पारिश्रमिक आउने क्षेत्रमा मात्रै श्रमस्वीकृति दिनुिपर्छ । बचत वृद्धि गर्न र त्यसलाई लगानी गर्न प्रोत्साहित गरिनु आवश्यक छ । अर्थतन्त्र बलियो हुन विदेशी विनिमय सञ्चिति पनि राम्रो हुन्छ । अहिले यस्ता सञ्चिति बढेको छ । यसबाट अर्थतन्त्र सुधारोन्मुख भएको छ भन्न सकिन्छ । 

बैंकहरूमा लगानीयोग्य रकमको भने अहिले पनि कमी नै छ । यसले बैंकहरूले लगानी बढाइरहेका छन् भन्ने देखाउँछ । बैंकहरूले गरेको लगानीले पक्कै पनि अर्थतन्त्रलाई थप विस्तार गर्नेछ । ब्याजदर घट्नज नसक्दा समस्या देखिनेछ । विकास खर्चका अवस्था भने अझै उस्तै छ । आर्थिक वर्षको पहिलो चरणमै बजेट खर्च हुन सकेन भने अघिल्ला वर्षहरूकै जस्तो नियति पुनरावृत्ति हुन सक्छ । यही भएर तरलताको अभाव चर्किइरहेको छ । यसले अर्थतन्त्रको विस्तारमा अवरोध ल्याएको छ । सार्वजनिक खरीद ऐनमा सुधार नगरी विकास बजेट खर्चको मात्रा बढी हुने छाँटकाँट देखिँदैन । अर्को, कर्मचारीको मानसिकतामा पनि परिवर्तन हुनु आवश्यक छ । समग्र देशको आर्थिक तथा वित्तीय स्थितिको सूचकाङ्क हेर्दा आशा गर्न सकिने अवस्था छ । तर, यसैको भरमा मात्र विश्वास गर्ने अवस्था छैन । 

राजन मिश्र
सानोगौचरण, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्