arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सोमवार उद्घाटन हुँदै ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना        

Nov 17, 2019  
समाचार
Image Not Found

मंसिर १, काठमाडौं । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन  औपचारिक रुपमा आगामी सोमवार हुने भएको छ ।
गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको उत्पादन क्षमता ६० मेगावाट  रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट आयोजनाको उद्घाटन गर्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ । आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करीब आठ प्रतिशतको योगदान रहने छ । 

अनुमानित लागत रू.१२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।  

  इञ्जिनीयरिङ, खरिद र निर्माण (ईपीसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग विसं २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणका अनुसार सो आयोजनाबाट करीब नौ महीना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । यस्तै हिउँदका तीन महीना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
आयोजनाले विद्युत् विक्रीबाट वार्षिक करीब रू.५ अर्ब आम्दानी गर्नेछ । 

आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली–काठमाडौं २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्