arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई दिने बैंकिङ बीमा र पूँजीबजार प्रदर्शनी काठमाडौंमा शुरु

Nov 17, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइतवारदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजार सम्बन्धी वृहत प्रदर्शनी मेला (बैंकिङ एक्सपो) शुरु भएको छ । 

दुई दिनसम्म चल्ने एक्स्पोको आइतवार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । एक्स्पोमा बैंक, बीमा, पूँजीबजारसँग सम्बन्धीत ४८ ओटा स्टलहरु प्रदर्शनमा राखिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले ७४१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसेकेको बताए ।

बैंकबारे जनचेतना सबैमा पुर्‍याउन नसकेकै कारण आफ्नो घरगाउँमै पुगेको पैसालाई सदुपयोग गर्न नजानेको भनाइ उनकोे थियो । उनले बैंकिङ एक्स्पोमा सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागी नभएकोमा गुनासो समेत गरे । 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पूँजी बजारको विकासका लागि बोर्ड लगायत सम्बद्ध निकायले तीव्र रुपमा कार्य गरिरहेको बताए ।

बोर्डकै आयोजनामा यसअघि काठमाडौं र प्रदेश नम्बर एकको राजधानी विराटनगरमा पूँजीबजार प्रदर्शनी गरिएको जानकारी गराउँदै उनले यस्ता  प्रदर्शनीले शेयर बजारबारे जानकारी लिन महत्वपूर्ण भूमिका खेल्ने बताए । 

एक्स्पो कार्यक्रमका संयोजक माधव निर्दोषले बैंकिङ एक्स्पो कार्यक्रम वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गत संचालन गरिएको भन्दै एक्स्पोले विद्यार्थी वर्ग, उद्यमशील युवा र स्वरोजगार बन्न चाहने युवाहरुका लागि अत्यावश्यकीय जानकारी प्रदान गर्ने जानकारी दिए । 

उनले एक्स्पोमा संचालन गरिएका स्टलहरुको अवलोकन गरि आफूले बैंक वित्तबारे चाहेको जानकारी लिन अनुरोधसमेत गरे । 

मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्