arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फ्रिज रकम भुक्तानीको माग

Nov 19, 2019  
प्रदेश ०२
NA
author avatar कमलेश ठाकुर

जनकपुर । प्रदेश नं २ सरकारसँग उच्चस्तरीय संसदीय छानबिन समितिले फ्रिज भएको रकम भुक्तानीको माग गरेको छ । प्रदेश नं २ को उच्चस्तरीय संसदीय समितिले शुक्रवार प्रदेश सभामा प्रतिवेदन बुझाउँदै गतवर्ष काम भएको योजनाको फ्रिज रकम भुक्तानी गर्न माग गरेको हो । प्राविधिक त्रुटिले भुक्तानी नभएका योजनाको रकम रोकिएपछि सरकारमाथिको जनविश्वास गुम्ने भन्दै समितिले ८ सय ४२ योजनाको ९४ करोड २२ लाख ९६ हजार ९१४ रुपैयाँ भुक्तानीको माग गरेको छ ।

बुझाएको प्रतिवेदनमा समयको अभाव, सूचना तथा सञ्चारको कमी, जनशक्तिको अभाव, बढी संख्यामा गएका योजनाहरू, अविरल वर्षा तथा बाढीले गर्दा असार मसान्तमा भुक्तानी रोकिएको उल्लेख छ । अन्तिम समयमा योजनाको सम्झौता हुनु, मन्त्रालयहरूले मातहतका कार्यालयलाई योजना मात्र थपेर भुक्तानीमा ध्यान नदिएको समेत प्रतिवेदनले ठहर गरेको छ ।

समितिले प्रदेश सरकारसँग बाँकी रहेको भुक्तानीको माग गरे पनि आगामी समयमा यसलाई नजीरको रूपमा नलिई निर्धारित आर्थिक वर्षभित्रै काम सम्पन्न गराउन प्रतिवेदन मार्फत सुझाएको छ । नेपाली कांग्रेसका सांसद एवं मूल्यांकन समितिका सदस्य शिवचन्द्र चौधरीले योजना अनुगमन र मूल्यांकनको क्रममा एउटै कामका लागि दुई÷दुईओटा योजना फेला परेको बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कन्सल्टेन्टलाई करारमा समेत नराखी योजनाको मूल्यांकन गरेको पाइएको उनको भनाइ छ । 

प्रमुख प्रतिपक्ष नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने उच्चस्तरीय समितिको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेका छन् । ऐनमा व्यवस्था र अधिकार नै नभएको संसदीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनको औचित्य नभएको उनले टिप्पणी गरे । समितिले भुक्तानीका लागि अपनाएको प्रक्रियाको सत्तापक्षकै सांसदले समेत विरोध गरेका छन् । समाजवादी पार्टीका सांसद अशोक यादवले भुक्तानी हुन बाँकी रहेका योजना अनुगमन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयनले प्रदेशमा गलत संस्कारको विकास हुने औंल्याए । प्रतिवेदनमाथि शुक्रवार साँझ बसेको दोस्रो बैठकमा छलफल भएको थियो । प्रदेश सांसदले गतवर्षको भुक्तानी माग गर्दै प्रदेशसभा अवरुद्ध गरेपछि गत भदौ ५ गते सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १० सदस्यीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्