arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माथिल्लो त्रिशूली थ्री ए आयोजनाको उद्घाटन : राष्ट्रिय प्रसारण लाइनमा थपियो ६० मेवा विद्युत्

Nov 19, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । भूकम्प, नाकाबन्दी, बाढीपहिरो तथा ठेकेदारको झमेला खेप्दै ९ वर्ष लगाएर पूरा भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना (६० मेवा) को सोमवार उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिम्लेमा रहेको आयोजनाको उद्घाटन गर्नुभएको हो ।  

इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा निर्माण गर्न १४ जेठ २०६७ मा चाइना कचौपा ग्रूप अफ कम्पनिज (सिजिजिसी) स“ग यो आयोजना निर्माणको ठेक्का सम्झौता भएको थियो । सम्भmौताअनुसार १७ जेठ २०७१ मै आयोजना सम्पन्न हुन पर्ने थियो । तर विद्युत् गृह भूमिगत बनाउने कि सतहमा बनाउने, आयोजनाको क्षमता ६० मेगावाट हुने कि बढाएर ९० मेगावाट बनाउने जस्ता विवादका कारण ढिलाइ हुँदा आयोजनाको सम्पन्न गर्ने मिति १६ असार २०७३ राखिएको थियो । त्यसपछि आयोजनाले खेपेका भूकम्प, नाकाबन्दी तथा बाढी पहिरोका कारण म्याद थप गरी १७ वैशाख २०७६ पुर्‍याइएको थियो । 

निर्धारित मितिभन्दा करीब आधा महीना ढिलो गरी आयोजनाको पहिलो यूनिट (३० मेवा) ले गएको जेठ ३ गते परीक्षण उत्पादन थालेको थियो । त्यसैगरी, दोस्रो यूनिट (३० मेवा) ले साउन १७ बाट परीक्षण उत्पादन थालेको हो । 

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड रुपैयाँ ब्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनामा चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी भएको छ । 

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ–५, सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाले स्विचयार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्रि बी’ हब सबस्टेशनसम्म १ दशमलव ३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेशनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८ दशमलव ६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४ दशमलव ८ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १ दशमलव ४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ । 

आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मस्र्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ ।  प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लूई) सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

आयोजना राष्ट्रिय विद्युत् प्रणाली र त्यसमा पनि मुख्य रूपमा ‘लोडसेन्टर’ अर्थात् काठमाडौं उपत्यकाको विद्युत् माग र आपूर्तिको व्यवस्थापनको लागि भरपर्दो आधार तयार भएको छ । आयोजनाबाट वार्षिक रूपमा करीब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ । 

आयोजना वर्षको करीब ९ महीना पूर्ण क्षमता (६० मेगावाट) मा चल्नेछ । त्यस्तै हिउँदमा समेत करीब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट देशको विद्युत् आपूर्ति प्रणाली सन्तुलित र विश्वसनीय बनाउन थप बल पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो आयोजनाले मुलुकभित्र खपत हुने ऊर्जामा करीब ७ प्रतिशतको योगदान दिनेछ ।  यसबाट कुलेखानी जलाशयको पानी बचत गर्न र आयातित विद्युत्को परिमाण घटाउन सहयोग पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्