arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सन्दर्भ कर दिवस : ‘ करले होइन, स्वेच्छाले कर तिर्न पाउँ ’

Nov 19, 2019  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, विराटनगर । सरकारलाई तिर्नु पर्ने कर करकापले होइन, नागरिकले आफ्नो कर्तव्य सम्झेर स्वेच्छाले तिर्ने वातावरण बनाउनु पर्ने धारणा आठौं कर दिवसका अवसरमा सहभागीहरूले राखेका छन् ।

 ‘स्वच्छ कर प्रशासन :  विकास र सुशासन’ भन्ने नाराका साथ शुरु भएको आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व कार्यालय, विराटनगरले आयोजना गरेको कर सप्ताहमा सहभागीहरूले त्यस्तो धारणा राखेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश  नं १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीले कर भन्ने बित्तिकै कर गरेर लिनु पर्छ भन्ने पुरानो धारणा रहेको बताउँदै सबै मिलेर उक्त धारणालाई हटाउँदै आर्थिक रूपमा जनताले पुर्‍याउने योगदान हो भन्ने भावना  जागृत हुनु आवश्यक भएको बताए ।

उनले राजस्वको ७५ प्रतिशत हिस्सा आन्तरिक राजस्वको रहेको बताउँदै हरेक व्यावसायी राजस्वको छायाँ अधिकृत भएकाले राजस्व संकलनका लागि व्यावसायीहरू इमान्दार हुनु पर्ने धारणा राखे ।

सरकारले करका नीति नियमहरूलाई सरल र सहज बनाउँदै ल्याएकाले कर तिर्नमा अब त्यस्तो करकाप नभए पनि कर प्रणालीभित्र केही मैलोपन रहेकै कारणले करमा स्वच्छताको कुरा उठाउनु परेको सचिव रेग्मीले बताए ।

उनले मुलुकमा तीन तहका सरकार रहेको र केही करका विषयमा अन्योल रहेकाले आपसी छलफल र समझदारीबाट त्यस्ता समस्याहरूलाई हटाउँदै लैजानु पर्ने बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कर अनुशासन सुशासनको महत्वपूर्ण पाटो भएकाले त्यसमा सहयोग पुरयाउन जिल्ला प्रशासन सधैं तत्पर रहेको बताए । 

विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले कर प्रशासन र व्यावसायीहरू बीच मैत्रीपूर्ण सम्बन्ध रहनु पर्ने कुरामा जोड दिदै पैठारीमा आधारित कर प्रणालीबाट मुलुकको अर्थतन्त्रमा सुधार नआउने हुँदा उद्योगमा लगानी बढाएर निकासी व्यापारलाई प्रवर्द्धन गर्नुपर्ने बताए । 

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले करले उद्योग व्यवसायलाई विस्थापित नभइ स्थापित गर्न सकेमात्र  व्यावसायीहरूमा पनि स्वतः स्फूर्त रूपमा कर तिर्ने वातावरण बन्ने बताए । 

अध्यक्ष मुन्दडाले यताको बजार सुक्दै र सीमाक्षेत्रको भारतीय बजार गुल्जार हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न आग्रह गरे । 

त्यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले करदाता र सरकारी निकाय बीच सुमधुर सम्बन्ध रहेको बताउँदै व्यापार घाटा कम गर्न र रोजगारीको अवसर वृद्धि गर्न अहिलेका नियम कानूनहरू बाधक रहेको बताए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्