arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयर बजारले नपत्याएका अर्थमन्त्री

Nov 22, 2019  
पाठक विचार
NA

प्रधानमन्त्री ओलीले केही मन्त्रीहरू परिवर्तन गरे पनि अर्थमन्त्री डा. युवराज खडिवडालाई भने निरन्तरता दिएका छन् । ओलीले खतिवडालाई निकै विश्वास गरेको र अर्थतन्त्रमा सुधार ल्याउन सक्ने भनी पत्याएको देखिन्छ । प्रधानमन्त्रीको विश्वासपात्र भए पनि शेयर लगानीकर्ताका लागि भने उनी खलनायक जस्तै बनेका छन् । उनी शेयरबजारप्रति नकारात्मक भएको सबैजसो लगानीकर्ताको विश्वास छ । मन्त्रिपरिषद्मा हेरफेर हुने हल्लासँगै बुधवार शेयरबजारमा शुरूमा केही बेर सकारात्मक सन्देश प्रवाहित भएको थियो । तर, अर्थमन्त्री परिवर्तन नभए पनि बिहीवार शेयरबजार ओरालो लाग्यो । अब यो बजार निकै तल जान सक्ने भनी लगानीकर्ता निराश भएका छन् । उनी शेयरबजारकै विरोधी त होइनन् तर उनले विभिन्न बखडा झिकेर बजारलाई हतोत्साही भने बनाएका हुन् । उनले केही समयअघि सार्वजनिक कार्यक्रममा शेयर लगानीकर्तालाई बुझेर मात्र शेयरबजारमा लगानी गर्न सुझाव दिएका थिए । त्यसको भोलिपल्टै शेयरबजारमा निकै तल झ¥यो । शेयरबजारले अर्थमन्त्री डा. युवराज खतिवडालाई रुचाएको छैन । 

शेयरबजार घट्नुमा अर्थमन्त्री जिम्मेवार छन् नै भन्नचाहिँ सकिँदैन तर अर्थमन्त्री वा सरकारलाई दोष दिने ठाउँ भने छ । शेयर घटनुको एउटा कारण बैंकको ब्याजदर बढ्नु पनि हो । तर, ब्याजदर बढ्नुचाहिँ अर्थतन्त्रका लागि खराब कि राम्रो भन्नेमा विवाद नै छ । अर्थमन्त्री लगानी बढेको हुँदा यसलाई सकारात्मक मान्छन् तर बजारको पैसा कहाँ गइरहेको छ भन्नेचाहिँ राम्ररी अध्ययन नभएको देखिन्छ । 

बुझेर लगानी गर्न सुझाव दिएका अर्थमन्त्री नेप्से घट्नुबाट तर्सिएका छैनन् । पूँजीबजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी भएको उनको भनाइ पाइन्छ । अहिलेको सरकारले उदार अर्थतन्त्रलाई छाड्छ कि भन्ने आशंका धेरैमा छ । उसका कतिपय काम त्यस्तै खालका छन् । त्यही भएर निजीक्षेत्र लगानी गर्न डराइरहेको छ । यस्तोमा उनीसँग शेयरबजार डराउनु स्वाभाविकै हो ।

दिनेश श्रेष्ठ
नयाँ बजार, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्