arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मन्त्री परिवर्तन कि कार्यशैली 

Nov 22, 2019  
पाठक विचार
NA

प्रधानमन्त्री केपी ओलीले ९ जना मन्त्रीलाई बिदा गरेका छन् भने ९ जना नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा सामेल गरेका छन् । दुई तिहाइ बहुमत प्राप्त सरकार भए पनि जनअपेक्षा अनुरूप काम हुन सकेको छैन । मन्त्रीहरूको कार्यशैलीलाई धेरै मानिसले मन पराएका छैनन् । यस्तोमा मन्त्री परिवर्तन प्रधानमन्त्रीका लागि जनताको आलोचनाबाट केही समय बच्ने उपाय हुन सक्छ । तर, त्यसले तात्त्विक परिवर्तन ल्याउने भने अपेक्षा गर्न सकिँदैन । शेयरबजारका लगानीकर्ता अर्थमन्त्री युवराज खतिवडासँग असन्तुष्ट छन् । शेयरबजारका सुधारका लागि उनले चासो नदिएको उल्टै यसलाई बिगार्ने गरी प्रतिक्रिया दिएको आरोप छ । हुन पनि उनका कतिपय अभिव्यक्ति त्यस्तै देखिन्छन् । त्यस्तै बढी कर लगाएकोमा समेत उनको आलोचना भइरहेको छ । अझ श्वेतपत्र जारी गरेर अघिल्लो सरकारले देश टाट पल्टाएको सन्देश दिन खोजिएको भन्दै प्रतिपक्षले पनि उनको विरोध गरेको थियो । तर, उनले आफ्नो कार्यशैली सुधारेका छैनन् । विज्ञ भनिए पनि अर्थतन्त्रका समस्या सुधार गर्न उनी त्यति सक्षम देखिन्नन् । यद्यपि अर्थतन्त्रका केही सूचकहरू भने सकारात्मक नै देखिएका छन् । 

नयाँ संविधान जारी भएसँगै सकिएको राजनीतिक संक्रमणपछि गरिएको आर्थिक विकासको अपेक्षा अहिलेको सरकारले ठोस रूपमा शुरू गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले पानीजहाज, रेलदेखि स्याटलाइटका सपना र योजना सुनाउन छाडेका छैनन् तर त्यसलाई व्यावहारिक बनाउन भने ठोस काम भएको छैन । प्रचारबाजी भने प्रशस्त भएको छ । ओलीले रोजेका मन्त्रीहरू योजना निर्माण र त्यसलाई गति दिनेभन्दा पनि भएका योजनाबाट प्रगति खोज्ने र आर्थिक लाभ लिने प्रयत्नमा मात्रै तल्लीन भएको अनुभव जनताले गरेका छन् । उनीहरूमा विकास गरौं भन्ने सोच छैन अथवा काम गर्ने तरीका नै जान्दैनन् । झन्डै २ वर्ष हुन लाग्दा पनि मन्त्रीले मन्त्रालयमा एउटा पनि परिवर्तनकारी योजना ल्याएनन् । सस्तो प्रचारबाजीका काम भने धेरै भए । नतीजाभन्दा बढी नौटंकीमा रमाएका छन् प्रधानमन्त्री र मन्त्रीहरू । आफूले काम गर्न नसके पछि कर्मचारीले काम नगरेको वा काम गर्न नदिएको आरोप पनि लगाए । तर, काम नगर्ने कर्मचारीलाई कुनै पनि कारबाही गर्न भने सकेनन् । 

यस्तोमा नतीजा दिन सक्ने र परिणाममुखी भएर काम गर्न सक्ने मन्त्री आवश्यक देखिन्छ तर मन्त्री परिवर्तन मात्रै समस्याको समाधान होइन । प्रधानमन्त्रीकै कार्यशैलीमा परिवर्तन आवश्यक देखिन्छ । बहुमतको स्थायित्व भएको सरकार भनिए पनि गुटउपगुटको सन्तुलन मिलाउन मन्त्रीहरू बनाइने गरेको छ । अहिलेको मन्त्री परिवर्तन पनि यही हो । यस्ता मन्त्रीहरूबाट कार्य क्षमताको अपेक्षा गर्नु नै बेकार हो । 

दिनेश कायस्थ, 
सूर्यविनायक, भक्तपुर

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्