ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ऊर्जा सम्मेलन २०१९ : अन्तरदेशीय लाइन निर्माणबाट दक्षिण एशियाको अर्थतन्त्र उकासिने

Nov 22, 2019  
समाचार
Image Not Found
author avatar दुर्गा लामिछाने

काठमाडौं । दक्षिण एशियाका देशहरूबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणबाट यस क्षेत्रकै अर्थतन्त्र उकासिने विज्ञहरूले बताएका छन् । काठमाडौंमा बिहीवारदेखि शुरू भएको ऊर्जा सम्मेलन २०१९ मा विज्ञहरूले द्विदेशीय, त्रिदेशीय तथा बहुपक्षीय प्रसारण लाइन निर्माण भएमा त्यसले विद्युत् प्रणाली गुणस्तरीय र विश्वसनीय बनाउने तथा औद्योगिक विकासलाई टेवा दिने बताए । 

तर, यसका लागि पूरै दक्षिण एशिया तथा बंगलादेश, भुटान, भारत तथा नेपालको उपक्षेत्र बीबीआईएनको प्रसारण प्रणाली एकीकृत (सिंक्रोनाइज) गर्नु आवश्यक रहेको उनीहरूको धारणा छ । 

भारतबाट नेपाल, भुटान, बंगलादेशसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण भइसकेको छ । यसैगरी, भारत–श्रीलंका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि छलफल चलिरहेको छ भने माल्दिभ्ससँगको प्रसारण लाइन निर्माणको पनि योजना रहेको पावर ग्रीड कर्पोरेशन इन्डिया लिमिटेडका प्रमुख महाप्रबन्धक अशोक पालले बताए । 

भुटानसँग सिस्टम सिंक्रोनाइज छ भने नेपालसँग आगामी फेब्रुअरीसम्ममा सिंक्रोनाइज हुने पालले जानकारी दिए । हाल २२० केभीमा सञ्चालन भइरहेको ढल्केवर–मुजप्mफरपुर अन्तरदेशीय प्रसारण लाइन ४०० केभीमा स्तरोन्नति गरी सिंक्रोनाइज गर्ने तयारी रहेको उनको भनाइ छ । अहिले ६०० मेगावाटसम्मको विद्युत् प्रवाह क्षमता रहेको उक्त प्रसारण लाइन ४०० केभीमा स्तरोन्नति गरेपछि १ हजार केभीसम्म प्रसारण गर्न सकिन्छ ।

त्यसैगरी, नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा विकास गर्न लागिएको न्यू बुटवल–गोरखपुर (४०० केभी) पनि सिस्टम सिंक्रोनाइज हुनेछ । दुवै देशको प्रसारण लाइन सिंक्रोनाइजेशन भएपछि नेपाल र भारतबीचको विद्युत् प्रणाली एउटै ग्रीड बन्न गई विद्युत् प्रवाह गुणस्तरीय बन्छ । 

एउटा देशमा विद्युत् प्रवाहमा समस्या आउनासाथ अर्को देशबाट प्रवाह गरी विश्वसनीय ऊर्जा उपलब्ध गराउन सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नेपाल र भारतबीच साना–ठूला गरी हाल ११ ओटा प्रसारण लाइनबाट विद्युत् आदान–प्रदान भइरहेको छ भने आगामी दिनमा उक्त ठूलो क्षमताका अन्तरदेशीय प्रसारण लाइन थप्दै जाने योजना रहेको छ । 

हाल १ हजार १६० मेगावाट विद्युत् भारतबाट आयात गरिरहेको बंगलादेशले नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट गर्ने ५०० मेगावाट विद्युत् खरीद (पीपीए)को प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय प्रसारण लाइन निर्माण गरी बंगलादेशले नेपालबाट विद्युत् लैजाने चर्चा चलेको भए पनि त्यसो भने नहुने भएको छ । सो आयोजनाबाट भारतको बरेली सबस्टेशनमा ५०० मेगावाट विद्युत् जोडिने र सोही परिमाणमा बंगलादेशले भारतको पश्चिम बंगालस्थित सबस्टेशनबाट प्राप्त गर्ने बंगलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इन्जिनीयर मोहम्मद महबुबुर रहमानले बताए । 

भारतले पुस ३, २०७५ (डिसेम्बर १८, २०१८) मा जारी संशोधित ‘विद्युत् आयात/निर्यात (सीमापार) निर्देशिका–२०१८’ अनुसार नेपालले भारत तथा भारत हुँदै अन्य देशमा पनि सहजरूपमा विद्युत् व्यापार गर्न सक्ने व्यवस्था छ । त्यति विद्युत् लैजान अर्को (डेडिकेटेड) प्रसारण लाइन निर्माण गर्नु खर्चिलो र चुनौतीपूर्ण हुने भएकाले भारतकै प्रसारण प्रणालीबाट लैजान लागिएको बंगलादेश सरकारका उपसचिव मोहम्मद रोकोन उल हसनले बताए । भविष्यमा पनि नेपालबाट बंगलादेशले लैजाने विद्युत्का लागि डेडिकेटेड प्रसारण लाइन निर्माणको योजना हालसम्म नरहेको हसनले जानकारी दिए । 

‘भारतसँगको आयातबाट द्विदेशीय विद्युत् व्यापार धेरै नै सम्भव रहेको देखेका छौं,’ रहमानले भने, ‘द्विदेशीयबाट त्रिदेशीय हुँदै बहुपक्षीय विद्युत् आदान प्रदानको प्रक्रियामा जानु सबैका लागि हितकर छ ।’ 

नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हडाड जेरभोसले दक्षिण एशियाका देशहरूबीच बन्ने अन्तरदेशीय प्रसारण प्रणालीले यो क्षेत्रकै अर्थतन्त्र उकास्ने बताए । नेपालले आफ्नो देशमा उत्पादन हुने जलविद्युत् छिमेकी देशमा विक्री गरी उक्त कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै स्वयं नेपालले पनि ठूलो फाइदा लिन सक्ने धारणा उनले राखे । 

यस क्षेत्रका सबै देशसँग जोडिएको भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको योजनाकार रहेको छ । आफ्नो देशमा रहेको कम गुणस्तरीय विद्युत् प्रणालीलाई बलियो बनाउन छिमेकी देशहरूसँग भएका फरक स्रोतका विद्युत्मा जोड्ने अवधारणाबाट अन्तरदेशीय प्रसारण लाइन अघि बढाइएको इन्ट्रिगेटेड रिसर्च एन्ड एक्शन फर डेभेलपमेन्ट (सारी/ईआई) का परियोजना निर्देशक पंकज बत्राले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्