ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रू. ४० करोड लगानीमा सेट–टप बक्सको उत्पादन शुरू

पहिलो चरणमा ६५ हजार उत्पादन गर्ने लक्ष्य

Nov 24, 2019  
समाचार
Image Not Found
author avatar युवराज बस्नेत

काठमाडौं । डिस मिडिया नेटवर्क प्रालिअन्तर्गतको डिजिटल होम इन्टरनेशनलले नेपालमै पहिलोपटक सेट–टप बक्स उत्पादन शुरू गरेको छ । सरकारले एनालग टेलिभिजन हटाएर २०७५ वैशाख १ देखि डिजिटलमा रूपान्तरण गरेको थियो । त्यसपछि नेपालमा सेटअप बक्सको अत्यधिक खपत बढेको भन्दै कम्पनीले नेपालमै ठूलो मात्रामा उत्पादन गर्ने भएको हो । 

कम्पनीका अनुसार अबको एक महीनाभित्र परीक्षणका रूपमा ६५ हजार ओटा सेट–टप बक्स उत्पादन गरिनेछ । डिजिटल होम इन्टरनेशनलका कार्यकारी अधिकृत केशव पौडेलले सेट–टप बक्स उत्पादन गर्न शुरूआती चरणमा रू. ४० करोड लगानी गरे पनि केही समयभित्र रू. १ अर्ब लगानी गर्ने योजना रहेको बताए । 

उनका अनुसार सेट–टप बक्स लगायतका प्राविधिक वस्तु एसेम्बल उत्पादन गर्न कम्पनीले छुट्टै डिजिटल होम इन्टरनेशनल नामक कम्पनी स्थापना गरेको छ । पहिलो चरणमा उत्पादन हुने सेट–टप बक्सका लागि सूचना तथा प्रसारण विभागबाट स्वीकृति लिइसकेको र बढी मात्रामा उत्पादन गर्न अझै प्रक्रियामा रहेको पौडेलको भनाइ छ ।

कम्पनीले सेट–टप बक्स उत्पादनका लागि चीनबाट सामान आयात गरिरहेको छ । कम्पनीका अनुसार सेट–टप बक्स उत्पादन गर्न गोदावरीमा भवन निर्माण गरिसकिएको छ । गत साउनदेखि नै  सेटअप बक्सको निर्माण शुरू गर्ने भनिए पनि प्राविधिक समस्याले काम पछाडि धकेलिएको कम्पनीले बताएको छ । 

सेट–टप बक्स उत्पादनको प्रविधि बाहिरकै भए पनि सामग्रीको डिजाइन नेपालमै हुनेछ । कार्यकारी अधिकृत पौडेलका अनुसार वार्षिक १० लाख युनिट सेट–टप बक्स उत्पादन गर्ने तयारी छ । 

नेपालमा कुल ८० लाख सेट–टप बक्सको माग छ । हाल नेपालमा ३० देखि ३५ लाख ग्राहकमा डिजिटल टेलिभिजनको पहुँच पुगिसकेको छ । डिजिटल टेलिभिजन पुग्नुपर्ने सबै स्थानमा सेट–टप बक्सको माग परिपूर्ति गर्न कम्पनीले उत्पादन थालेको हो । कम्पनीले उत्पादन, वितरण र रोजगारी पनि दिने भएकाले सेट–टप बक्स उत्पादन सबै दृष्टिबाट महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ । 

डिसहोमका कार्यकारी निर्देशक सुदीप आचार्यले सेट–टप बक्स उत्पादनको लागि पूँजी वृद्धि गर्दै उत्पादन क्षमता र उत्पादनको मात्रा पनि बढाउने जानकारी दिए । उनका अनुसार एसेम्बलका लागि दुई जना विदेशी साझेदार र पाँच जनाको सहकार्य छ । 

नेपालमा सेट–टप बक्स आयातको आँकडा सूचना विभागसँग भए पनि सार्वजनिक गर्न नमिल्ने बताइएको छ । कम्पनीले सेट–टप बक्सको उत्पादन गरेपछि यसको आयात घट्ने दाबी गरेको छ । यो उद्योग नेपालमै पहिलोपटक शुरू भएको हो । यसभन्दा अघि अन्य सेवाप्रदायक कम्पनीले अन्य मुलुकबाटै आयात गर्ने गरेका छन् । 

अहिले नेपालमा सेट–टप बक्स शतप्रतिशत विदेशबाट आयात भइरहेको छ । विशेषगरी नेपालमा विभिन्न डिजिटल टेलिभिजन सेवाप्रदायकले वार्षिक ६ लाख सेट–टप बक्स आयात गर्ने गरेका छन् । नेपालमा भारत र कोरियाबाट सेट–टप बक्स आयात हुँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्