ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक : थप दुई भारतीय बन्दरगाहमा नेपालको पहुँच

Nov 27, 2019  
समाचार
Image Not Found
author avatar निकेश खत्री

काठमाडौं । तेस्रो मुलुकसँगको व्यापारमा नेपालले थप दुई भारतीय बन्दरगाह –उडीसास्थित धाम्रा तथा गुजरातको मुन्द्रा – प्रयोग गर्न पाउने भएको छ । नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन सम्बन्धी प्राविधिक समितिको मंगलवारदेखि काठमाडौंमा शुरू भएको दुईदिने बैठकमा यसबारेमा सहमति हुने नेपाली पक्षले बताएको छ । 

‘बैठकबाट दुई नयाँ बन्दरगाह प्रयोग गर्न दिने विषयमा भारतीय टोली सकारात्मक रहेको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए । उनका अनुसार बैठकको अन्तिमसम्म कुनै प्राविधिक समस्या नभए बुधवार दुई नयाँ बन्दरगाह प्रयोग सम्बन्धमा सहमतिमा हस्ताक्षर हुनेछ ।

बुधवारसम्म चल्ने बैठक तेस्रो मुलुकसँगको व्यापार सहजीकरणमा केन्द्रित भएको नेपाली पक्षले बताएको छ । यसअघि नेपालले पश्चिम बंगालको कोलकाता र हल्दिया तथा आन्ध्रप्रदेशको विशाखापत्तनम् बन्दरगाहको प्रयोग गर्दै आएको थियो । थप दुई नयाँ समुद्री बन्दरगाहको प्रयोग गर्न पाएमा भारतबाहेक अन्य मुलुकसँगको आयात/ निर्यातमा सहजीकरण हुने पूर्ववाणिज्य सहसचिव रविशंकर सैंजूले बताए ।

धाम्रा नहरमा आधारित कोलकाताको कमजोर पूर्वाधार र विशाखापत्तनम् बन्दरगाहको लामो दूरीको निकास बन्न सक्ने उनको भनाइ छ । उनले भने ‘नेपालको कृष्णनगर नाकाबाट धाम्रा बन्दरगाहसम्मको दूरी १ हजार ८०६ किलोमीटर छ, जुन विशाखापत्तनम्भन्दा ४ सय किलोमीटर र कोलकाताभन्दा ३ सय किलोमीटर नजीक हो ।’ 

निजीक्षेत्रबाट सञ्चालित धाम्रा आधुनिक बन्दरगाह जसमा २५ देखि हजार मेट्रिक टनसम्मको सामान बोकेर ठूला जहाज आउन सक्छन् । 

नेपालका लागि तेस्रो मुलुकबाट आउने बल्क र कन्टेनर दुवै कार्गोका लागि यो बन्दरगाह अन्य बन्दरगाहको तुलनामा सहज हुने विज्ञहरूको भनाइ छ ।

धाम्रा बन्दरगाह सञ्चालनमा आएको २ वर्षभित्रै नेपाली आयातकर्ताले कोलकाता बन्दरगाह छोड्ने सम्भावना रहेको सैंजू बताउँछन् । दक्षिण अफ्रिकाबाट हल्दिया हुँदै आउने बल्क कार्गोमा नेपाली आयातकर्ताले समस्या बेहोर्नु परेको छ । यस्तै, कोलकातामा अनावश्यक दुःख तथा अतिरिक्त शुल्कबाट आजित नेपाली आयात÷निर्यातकर्ता विकल्पको खोजीमा रहेको उनको भनाइ छ ।

धाम्रा र मुन्द्रा बन्दरगाह निजीक्षेत्रबाट सञ्चालीत भएकाले आक्रामक तरीकाले अगाडी बढेका छन् । मुन्द्रा बन्दरगाहबाट सामात आयात गर्दा नेपाललाई फाइदा हुने संैजू बताउँछन् । कृष्णनगरबाट केही किलोमीटर पारी गएपछि ‘ब्रोडगेज’ रेलवे आउँछ । यसबाट नेपाललाई सामान आयात गर्न र निर्यात गर्न पनि सहज हुने उनले बताए । यसअघि नेपालले लामो समयदेखि कोलकाता बन्दरगाहबाट समुन्द्रपार व्यापार गर्दै आएको थियो ।

नेपालले २०७३ असार १० देखि विशाखापत्तनम् बन्दरगाह पनि प्रयोग गर्न थालेको हो । सीमावर्ती भारतीय बजार रक्सौलबाट विशाखापत्तनम् १ हजार ४ सय ३० दशमलव ५ किमी टाढा पर्छ । धाम्रा बन्दरगाहको दूरी भने ९ सय २६ दशमलव ६ किलोमीटर रहेको छ ।

बुधवारसम्म चल्ने बैठकमा यसअघि भारतले सहमति जनाएको जलमार्ग कोलकाता–सहेबगञ्ज, कोलकाता–कालघाट र कोलकाता–बनारसको विषयमा पनि छलफल हुनेछ । त्यसैगरी, विशाखापट्टनम्बाट जोगबनी (विराटनगर) रक्सौल (वीरगञ्ज) र सुनवल (भैरहवा) सम्म बल्क कार्गाे सञ्चालन सम्बन्धी पनि सहमति जुट्ने नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा नेपाली वार्ताटोलीका संयोजक नवराज ढकाललले जानकारी दिएका छन् ।

यस्तै विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) सम्बन्धमा पारवहन सन्धिमा आवश्यक व्यवस्था गर्ने विषयमा पनि बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले जानकारी दिए ।

झन्डै १० सदस्यीय नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित यातायात, परराष्ट्र, कानून मन्त्रालयका सहसचिव पनि सहभागी हुनेछ । उस्तै संख्यामा भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लाले गर्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्