arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न

Nov 27, 2019  
विकास
NA

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कदेखि हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र गरिएको हो ।

एडीबीको रू. ४६ करोड ८९ लाख ९२ हजारको लगानीमा साढे ६ मिटर फराकिलो पारिएको सो दिक्तेल–हलेसी सडकमा साढे ५ मिटर चौडाइ कालोपत्र गरिएको आयोजना प्रमुख विजयकुमार थापाले बताए । उनका अनुसार तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको हो ।

३ वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७१ जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भए पनि २ वर्ष ढिलो गरेर ५ वर्षमा मात्र कालोपत्र सम्पन्न भएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्प, भारतीय नाकाबन्दी लगायत कारण तोकिएको अवधिमा काम सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले बताएको छ ।

राजधानी काठमाडौं लगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रयोग गरिने दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएपछि जिल्लावासी समेत हर्षित भएका छन् । विसं २०६४ देखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडक हिउँदभर सञ्चालन हुने र वर्षा लागेपछि करीब ६ महीना बन्द हुने गरेको थियो ।

हिउँदमा धूलो र बर्खायाममा हिलोका कारण सास्ती खेप्ने पैदलयात्रीलाई सडक कालोपत्र भएपछि यात्रामा सहज भएको छ । कच्ची अवस्थामा सञ्चालन भएको लामो समयपछि सडक कालोपत्र भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत केही मात्रामा घटेको उपभोक्ताले बताएका छन् ।

छिमेकी जिल्ला भोजपुर हुँदै किमाथांका जोड्ने सो सडक समयमा सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत अनुगमनका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिलाई भेला गरेर चाँडो सम्पन्न गर्न निर्देशन दिएका थिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्