ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग र बल्क कार्गो समावेश

नेपाल–भारत पारवहन सन्धि ७ वर्षका लागि स्वतः नवीकरण

Nov 28, 2019  
समाचार
Image Not Found
author avatar निकेश खत्री

काठमाडौं । तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाललाई भारतीय जलमार्गको प्रयोग गर्न दिन तथा नेपालका थप दुई नाकामा बल्क कार्गो सुविधा दिन नेपाल र भारतबीच सहमति भएको छ । 

बुधवार काठमाडौंमा सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन सम्बन्धी प्राविधिक समितिको बैठकमा नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न जलमार्ग तथा बहुविधिक ढुवानी रूटहरू, ढुवानीका प्रक्रियाहरू, भन्सार सहजीकरण र नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका व्यवस्थाहरू नेपाल भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदा समावेश गर्न दुवै मुलुक सहमत भएका हुन् ।

तर, भारतका थप दुई बन्दरगाह धाम्रा र मुन्द्राको प्रयोग गर्ने बारेमा सहमति हुन सकेन । नेपाली पक्षले यसै बैठकमा भारतका थप दुई बन्दरगाह धाम्रा र मुन्द्राको प्रयोगका बारेमा भारतले सहमति दिने बताए भए पनि भारतीय पक्षले त्यसका लागि आन्तरिक छलफल भइरहेको र त्यसबारे आप्mनो सुझाव चाडै पठाउने मात्रै बतायो । 

बुधवारको सहमतिपछि तेस्रो मुलुकसँगको व्यापारमा नेपालले तीन भारतीय जलमार्ग, कोलकाता–साहेबगञ्ज, कोलकाता–कालुघाट र कलकत्ता–बनारस प्रयोग गर्न पाउनेछ । 
दुईदिने बैठकमा जलमार्ग प्रयोग र बल्क कार्गोका विषयमा ठोस सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा नेपाली टोलीका संयोजक नवराज ढकालले बताए । ‘यी व्यवस्था सन्धिमा हस्ताक्षर भएलगत्तै कार्यान्वयनमा आउनेछन्,’ उनले बताए । ‘जलपारवहन प्रणालीको सन्दर्भमा यो कोसेढुगां हो, जसले नेपाली झन्डा भएको पानीजहाज चलाउने नेपालको सपना पूरा गर्नेछ । साथै, ढुवानी खर्चमा कमी ल्याउनेछ ।’

ढकालका अनुसार जलपारवहनका बारेमा विस्तृत कार्यविधि नै तयार भएको छ । यसअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘नेपाल–भारत वाणिज्य बैठक’मा तीन भारतीय जलमार्ग प्रयोग सम्बन्धी सहमति भएको थियो । यसअनुसार गंगा जलमार्गमा नेपाली पानीजहाज चलाउनेसम्बन्धी लेटर अफ एक्सचेन्ज (एलओई)मा भारतीय पक्षले सहमति जनाइसके पनि आवश्यक मोडालिटी तयार भइसकेको थिएन । यस बैठकले पानीजहाज चलाउन आवश्यक पर्ने मोडालिटी समेत तयार पारेको नेपाली अधिकारीहरूले बताएका छन् ।

बैठकमा भारत नेपाललाई तेस्रो मुलुकसँगको व्यापारमा थप दुई नाकाबाट बल्क कार्गो सुविधा दिन सहमत भएको छ । यो सहमतिपछि तेस्रो मुलुकसँगको व्यापारलाई सहजीकरणका लागि थप दुई नाका, विराटनगर तथा भैरहवामा पनि वीरगञ्जमा झैं तेस्रो मुलुकको बल्क कार्गो सीधै रेलमार्गबाट ढुवानी हुनेछ । हाल बल्क कार्गोको सुविधा वीरगञ्जमा मात्रै उपलब्ध छ ।

थप दुई नाकाबाट बल्क कार्गो प्रयोग गर्न पाएपछि औद्योगिक कोरिडोरमा प्रयोग हुने वस्तुहरूको आयात गर्न सहज हुने मन्त्रालयका सहसचिव तथा वार्तामा नेपाली प्रतिनिधिमण्डलका संयोजक नवराज ढकालले बताए । ‘नेपाली उद्योगी÷व्यवसायीहरूले बल्क कार्गोका लागि जोगवनी र नौतनहवा नाका खोल्ने व्यवस्थाको माग लामो समयदेखि गरिरहेका थिए । त्यसमा हामीले सहमति गरेका छौं । थप दुई भन्सार नाकाबाट बल्क कार्गो प्रयोग गर्न पाउँदा आयातलाई मात्र फाइदा नभई निर्यातमा पनि फाइदा हुन्छ ।’ 

तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरूमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्ने विषयमा पनि भारतले आन्तरिक छलफल गरी धारणा पठाउने सहमति भएको छ ।

सहसचिव ढकालका अनुसार विद्यमान पारवहन सन्धि सन् २०२० जनवरी ५ देखि लागू हुने गरी ७ वर्षका लागि स्वतः नवीकरण हुने भएको छ । वैठकले सन्धिको पुनर्लेखन गरेको ढकालले बताए । ‘यसअघि सन् १९९९ मा पारवहन सन्धि पुनर्लेखन भएको थियो । त्यस्तै पुनर्लेखन २०१९ मा गरी ड्राफ्ट टेक्स्ट तयार भएको छ,’ उनले बताए । 

‘दुवै मुलुकले १९९९ देखि २०१९ सम्म भएका विभिन्न लेटर अफ एक्सचेन्जलाई सन्धिको पुनर्लेखनमा हामीले दस्तावेजीकरण गरेका छौं । दुवै मुलुकका उच्चस्तरीय नेतृत्वले सन्धिमा हस्ताक्षर गरेपछि यो नयाँ ड्राफ्टले पुरानो सन्धिलाई प्रतिस्थापन गर्नेछ ।’ 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्