arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विकासमा विलम्ब

Nov 29, 2019  
पाठक विचार
NA


हामी धेरैजसो नकारात्मक सोच राख्छौं । देश विकास भएन भनेर नेतालाई गाली गर्छौं । यसले न नेताहरू बदलिन्छन् न त मुलुक द्रुत विकासमा जान्छ । राजतन्त्रपछि अहिलेसम्मको अवस्थालाई हेर्दा देशमा विकास नभएको होइन । जति हुनुपर्ने हो त्यतिचाहिँ भएको छैन । 

जनताले धेरै कुरा सस्तोमा उपभोग गर्न पाइराखेको छैन । न्याय, निशाफ राम्ररी पाइराखेको छैन र सुरक्षाको अवस्था पनि चित्त बुझ्दो छैन । प्रदूषित वातावरणमा सुधार आएको छैन । राजमार्गहरू असुरक्षित छन् । दुर्घटनामा अकालमा मानिसहरूको ज्यान गइरहेको छ । हेलो सरकार, अनुगमन कार्यालयहरू, अख्तियार दुरुपयोग आयोग आदि निकायहरू पर्याप्त सक्रिय छैनन् । मुलुक हाँक्नेहरू गफ र सोच ठूलो राख्छन् तर जनताका आधारभूत आवश्यकता पूरा भएका छैनन् । सानातिना समस्या पनि समाधान भएका छैनन् । 

कुनै पनि सरकारले सर्वसाधारण जनताका सानातिना समस्याहरू सुल्झाउँदै जानुपर्छ । पूर्वाधार विकासहरू सरकारले गर्नुपर्छ । अरू काम त जनता आफैले पनि गर्छन् । हो, नियम कार्यान्वयनमा सरकार मात्र कडा बन्नु आवश्यक छ । सरकारले जनताको समस्या समाधानमा ध्यान दिंदैन र बेवास्ता गर्छ भने जनताले खबरदारी गर्नुपर्छ । अहिलेको अवस्था हेर्दा जनता आवश्यक मात्रामा जागरूक भएको देखिँदैन । मुलुकमा लोकतन्त्र आएको ३ दशक भइसक्यो । तर, विडम्बना के छ भने मुलुकले द्रुत विकाशको काँचुली फेर्न पाएको छैन । स्पष्ट नीति र त्यसको कार्यान्वयन नहुँदा नै उद्योग व्यवसायहरू धराशयी हुँदै गएका छन् । यस्तो बेला उद्योग तथा अर्थ मन्त्रालयले गम्भीर भएर नयाँ सोचका साथ नयाँ कार्यक्रम ल्याउनुपर्ने हो । तर, सरकार आफै अन्यालेमा परेको जस्तो देखिन्छ । 

देशको विकास नहुनुमा सरकारको मात्रै दोष छ भन्न मिल्दैन । मुलुकको भौगोलिक अवस्थाले पनि विकास कार्यलाई प्रभावित पारेको छ । हिमाली र पहाडी भूभागमा सडक निर्माण, उद्योग सञ्चालन वा अन्य कार्यहरू गर्न अलि गाह्रै हुन्छ । त्यसमा पनि शिक्षाको कमी, लगानी गर्न पैसाको अभाव तथा उद्यमशीलताको सोच नहुँदा विकास बढी चुनौतीपूर्ण नै देखिन्छ । भूपरिवेष्टितता पनि हाम्रा लागि ठूलो अवरोध बनेको छ । विदेशबाट सामान ल्याउन र निर्यात गर्न समेत यसले हामीलाई गाह्रो भएको छ । त्यसमा पनि ठूलो व्यावसायिक घरानाहरू उद्योग खोल्नभन्दा व्यापार गर्न बढी संलग्न हुँदा उद्योग कलकारखाना पर्याप्त खुल्न सकेका छैनन् । 

नेतृत्वमा बलियो अठोट र स्पष्ट तथा दूरदर्शी सोच हुने हो भने माथिका समस्या ठूला समस्या भने होइनन् । हामीकहाँ भन्दा बढी समस्या भएका मुलुक समेत अहिले विकासको गतिमा हामीभन्दा अघि छन् । भन्ने हो भने हाम्रो भौगोलिक विकटता नै विकासका लागि बलियो आधार समेत बन्न सक्छन् । पर्यटक आकर्षित गर्न सके नेपालीको आय राम्रै बढ्नेछ । कृषि उत्पादन, पशुपालत वा फलफूल खेतीबाट पनि हाम्रो कायापलट हुन सक्छ । तर, यी सम्भावनाको दोहन गर्न देशले बलियो नेतृत्व खोजेको छ । तर, नेपालका राजनीतिज्ञमध्ये आशालाग्दो नेतृत्व देख्न सकिएको छैन । सानातिना कुरामा अल्झने तथा पार्टीलाई नै सर्वस्व ठान्ने प्रवृत्तिका कारण राजनीतिक नेतृत्व सफल हुन नसकेको हो । आफ्नो स्वार्थमा अल्झिने मन्त्री र नीतिनिर्माताका कारण पनि देश प्रगतिको बाटोमा अघि बढ्न नसकेको हो । 

कर्मचारीतन्त्रमा राम्रो भन्दा पनि हाम्रो भन्ने रोग छ । अन्यत्र पनि यस्तै प्रवृत्ति पाइन्छ । सरकारले पाल्नुपर्ने कर्मचारीको संख्या धेरै हो । युवा पुस्तालाई स्वदेशमा नै पढ्ने र काम गर्ने वातावरण बनाउन सकिएको छैन । त्यस्तै भ्रष्टाचारले गर्दा देशमा निराशा पैदा गरेको छ । 

देशमा सत्तापक्ष गलत छ, उसले राम्ररी काम गर्न सकेको छैन । तर, प्रतिपक्ष पनि उस्तै छ । सरकारका गलत काममाथि औंला ठड्याउनु र सरकारलाई सही काम गर्न बाध्य पार्नु प्रतिपक्षको काम हो । बलियो प्रतिपक्षले सरकारलाई सचेत पारिरहेको हुन्छ । तर, अहिले प्रतिपक्ष पनि कमजोर देखिएको छ । सत्तामा बस्दा एउटा कुरा र सत्ताबाट बाहिरिनासाथ अर्को कुरा गर्ने राजनीतिक दलको स्वभावका कारण जनता राजनीतिक दलप्रति नै अनास्था राख्न थालिसकेका छन् । प्रतिपक्षले सत्तापक्षलाई खण्डन तथा 

आचोचना गर्नैपर्ने तथा सत्तापक्षले प्रतिपक्षलाई पेलेरै जानुपर्ने सोच भएसम्म मुलुकको विकासमा समस्या आउन सक्छ । 

मुलुकको द्रुत विकासका लागि धेरै अवस्था सकारात्मक नभएको होइन । लगानी गर्न उपयुक्त कानून बनेका छन् । सरकारले केही सुविधा पनि दिएको छ । अब दृढ अठोटका साथ सरकारले केही हिम्मतिला नीतिगत निर्णय गर्ने हो र तिनको इमानदार कार्यान्वयन गर्ने हो भने देश विकासको बाटोमा द्रुत गतिमा अघि बढ्नेछ । 

रमेशकेशरी वैद्य 
काठमाडौं

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्