arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नैतिकताको गम्भीर पाठ

Nov 29, 2019  
तीतो मीठो
Image Not Found
author avatar मदन लम्साल

अस्ति एक हुल निर्माण व्यवसायीहरू अर्थात् ठेकेदारहरू सरकारी कतिपय नीतिको विरोधमा प्रधानमन्त्री (प्रम)को निवास घेर्न गएछन् । तर त्यहाँ पुगेपछि प्रम निवासको गमला, सोफा, फूटपाथ, ड्राइभवे, मेन गेट, बाउन्ड्री वाल आदिलाई हेरेर नतमस्तक नमस्कार शैलीमा धेरै बेरसम्म बसेछन् । घण्टौंपछि जसै प्रमले ठेकेदारहरूलाई दर्शन भेट दिएछन्, ठेकेदारहरू अक्क न बक्क भएछन् । किनकि प्रमको अनुहार अत्यन्त रातोपिरो थियो । कतिपय विकास निर्माणका काम समयमा फत्ते नगरेको भनेर प्रम ठेकेदारहरूसँग रिसाएछन् । ठेकेदारहरूले प्रमलाई भनेछन् कि समयमा काम नहुनुमा बढी भूमिका त सरकारी कर्मचारी र मन्त्रीको छ । त्यसैले विकास निर्माणका काम अघि बढाउन कुनै कडा प्रशासनिक कदम उठाउनु जरुरी पनि छ भनेछन् । ‘अर्थशास्त्रको नियम पनि त हुन्छ प्रमज्यू,’ उनीहरूले भनेछन् । 

प्रमले भनेछन्, ‘मिडियाले लेखेर हुन्छ ? मिडियाले देश चलाउने हो ? यो केवल हाम्रो दुई तिहाइको सरकार गिराउने पड्यन्त्र हो ।’ यसपछि प्रमका गाला अझ राता, रगत चुहिएला जस्ता भएछन् । त्यो देखेपछि ठेकदारहरू अब यहाँ बसिरहनुमा कल्याण छैन भन्दै प्रम निवासबाट कुलेलम ठोकेछन् ।

उसै त रातो प्रमको गाला झन् रातो भएछ । प्रमले भनेछन्, ‘मेरो विश्वास न अर्थशास्त्रमा छ, न प्रशासकीय कारबाहीमा । यो बुद्धको देश हो । यहाँ नीति परिवर्तन गरेर भन्दा हृदय परिवर्तन गरेर धेरै काम बन्छ । त्यसैले मैले काम नगर्ने मन्त्रीहरूलाई गलहत्याएको छु, काम गर्ने खालकालाई भित्र्याएको छु । अझ मेरा मन्त्री र सरकारी कर्मचारीका हृदयमा लोभको ठाउँमा ‘त्याग’ फिट गर्दिसकेको छु । त्यसैले अब व्यापारी, ठेकेदारले पनि नैतिकताको पालना गर्नु जरुरी छ । नत्र सबैलाई जेल पठाउने तयारी छ । विगत केही हप्ता प्रोफेशनल र उद्योगीलाई जेल पठाएको नमूना त देखिहाल्नु भो । अब कोही बच्नेवाला छैन ।’

प्रमको यस्तो उद्घोषपछि एकजना ठेकेदारले डराई डराई सानो स्वरमा प्रमलाई सोधेछन्, ‘कामचोर, अनैतिक ठेकेदार र व्यापारी त बालुवाटारकै भान्सा, सोफा मुन्तिर लुकेर बसेका छन् रे । तिनलाई चैं कारबाही हुँदैन, प्रमज्यू ?’

प्रम कड्किएछन्, ‘खोइ कहाँ छन् यहाँ ? कसले भन्यो ?’

‘मिडियाले लेखेको लेख्यै छन् त !,’ अर्को एकजनाले आँट गरेर बोले । 

प्रमले भनेछन्, ‘मिडियाले लेखेर हुन्छ ? मिडियाले देश चलाउने हो ? यो केवल हाम्रो दुई तिहाइको सरकार गिराउने पड्यन्त्र हो ।’ यसपछि प्रमका गाला अझ राता, रगत चुहिएला जस्ता भएछन् । त्यो देखेपछि ठेकदारहरू अब यहाँ बसिरहनुमा कल्याण छैन भन्दै प्रम निवासबाट कुलेलम ठोकेछन् ।

तर धेरै अघिदेखि नै प्रमलाई भेट्न अर्को हुल कुरेर बसिरहेको थियो । उनीहरू सर्वसाधारण उपभोक्ता रहेछन् । प्रमलाई देख्ने बित्तिकै तरकारी, खाद्यान्न, स्कूल फी लगायत प्रायः सबै चीजको भाउ बढेर बाँच्नै मुश्किल भएको भन्दै उनीहरूले बजार भाउ घटाइदिन प्रमसँग हार गुहार गरेछन् । प्रमले एकछिन गम खाएछन् र भनेछन्, ‘यो तपाईंहरू जस्ता गरीबहरूको सरकार हो । यो देशमा थुप्रै गरीब बस्छन् । अब आइन्दादेखि म जिउँदो रहेसम्म बजार भाउ घटाएरै छाड्छु । चिन्ता नलिनुहोस् ।’ उपभोक्ताहरू पनि ढुक्क भएर आ–आफ्नो घर, डेरातिर फर्किएछन् । नभन्दै साँझ रेडियो, टिभीबाट प्रमको सन्देश आएछ, जुन भोलिपल्ट सबै छापा मिडिया र बिजुलीका पोलपोलमा छाएछ । सन्देशको सार यस्तो थियो, ‘सबै उद्योगी, व्यापारीलाई नैतिकताका आधारमा आ–आफ्नो सामानको मूल्य घटाउन यो विशेष निर्देशन दिइन्छ । नत्र जेलभित्र हुलिन्छ ।’

भोलिपल्टदेखि बजारमा ठूलै हल्लाखल्ला भएछ । व्यापारीले साँच्चै आ–आफ्नो सामानको मूल्य ह्वात्तै घटाएछन् । पसलहरूको मूल्यसूचीमा प्याजको भाउ प्रतिकिलो २०, चिनी ३०, दाल २५ रुपैयाँ आदि लेखिएको थियो । ग्राहकहरूले विश्वास नलागेर आँखा मिचिमिची दोहोर्‍याएर, तेहर्‍याएर पढेछन् । हो, भाउ त त्यही नै लेख्या छ । 

अनि ग्राहकले पसलेलाई पो भन्न थालेछन्, ‘होइन हो साहूजी, यसो नगर्नुहोस् । यति पैसामा तपाईंको घर चैं कसरी चल्छ र ? सटरको भाडा कसरी बुझाउनुहुन्छ ? छोराछोरीको खर्च कसरी चलाउनुहुन्छ ? तपाईंहरू आफै भोकै पर्नुहोला नि ।’ 

साहूजीले भनेछन्, ‘चाहे जे जे होस्, बरु आफ्नो र परिवारको बलिदान गरौंला, तर भाउ चैं योभन्दा बढाइँदैन । नैतिकता पनि बेच्नु छैन, जेल पनि जानु छैन ।’

रुन्चे स्वरमा फेरि अर्को ग्राहकले भन्न थालेछ, ‘साहूजी, भाउ अलिकति त बढाउनुस् । यति पैसामा धेरै सामान लिएर गयौं भने त हाम्रा श्रीमतीहरूले पनि चोरेर ल्यायौ कि क्या हो भनेर शंका गर्न सक्छन् ।’

साहूजीले भनेछन्, ‘जेसुकै होस् सामानको भाउ बढाउन चैं सक्दै सक्दिनँ ।’

अर्काे एउटा ग्राहक आक्रोशमा आएर भाउ नबढाए ठीक हुँदैन भनेर कड्किन थालेछन् ।

साहूजीले फेरि जवाफ दिएछन्, ‘म कसैको धम्कीले डराउनेवाला छैन । मलाई मारे पनि सामानहरूको भाउ चैं बढ्दैन । नैतिकता र मानवीयता भन्ने कुरा पनि त हुन्छ नि ।’

एक अलि गरिब देखिने ग्राहकले साहूजीसँग बिन्ती गर्न थाले, ‘साहूजी, एक गते उधारो तिर्छु भनेकै थियौं त । हाम्ले तपाईंको के बिगार्‍या छौं र यति सस्तोमा सामान बेचेर बजारमा दिनदहाडै हाम्रो बेइज्जत गर्नुहुन्छ ?’ त्यसपछि साहूजी भन्छन्, ‘एक त प्रमको नैतिकताको निर्देशन छ । दोस्रो, तपाईंजस्ता गरिब उपभोक्ताको हित पनि हेर्नु छ । त्यसैले सामान चैं सस्तैमा बेच्छु । देशबाट कालाबजारी बन्द भैसक्यो । प्रमको सन्देश मात्र होइन, हाम्रा मन्त्रीज्यूहरूले हरेक दिन पढाउने गरेको नैतिकताको पाठको पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ ।’

साहूजीसँग केही नलागेपछि एक ग्राहकले भनेछन्, ‘ल त भैगो । त्यसोभए तपाईंले भनेकै दाममा १ किलो प्याज पाऊँ न त ।’ 

साहूजीले भनेछन्, ‘ए त्यो त छैन त ।’

अर्को ग्राहकले चिनी किन्न मागेछन् । साहूजीले त्यो पनि सिद्धिसकेको जवाफ दिएछन् । त्यसपछि आलु किन्न खोजेछन्, त्यो छैन, चाम किन्न खोेजेछन्, त्यो पनि छैन, अर्थात् बेच्न कुनै सामान नै छैन ।

अनि वाल्ल, जिल्ल परेर नैतिकताको गम्भीर पाठ सम्झँदै ग्राहकहरू आ–आफ्नो बाटो लागेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्