arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंकमा बढ्दो सञ्चालन जोखिम 

Dec 1, 2019  
लेख | दृष्टिकोण
NA
author avatar डा. दिवाकर बशिष्ठ

सूचना र प्रविधिको अधिकतम प्रयोग तथा कारोबारको विस्तारले बैंकिङ क्षेत्रमा आन्तरिक जोखिम बढिरहेको छ । सञ्चालन जोखिम सामान्यतः व्यवसायको सञ्चालनसँग प्रत्यक्ष संलग्नता भएको क्षेत्रबाट उत्पन्न हुन सक्ने भएकाले व्यवसायमा संलग्न जनशक्ति, प्रक्रिया, प्रविधि तथा प्रणालीबाट सञ्चालन जोखिम उत्पन्न हुने गर्छ । हालै फर्जी कागज बनाएर १९ बैंकबाट रकम निकालिएको घटनाले त झन् नेपालको बैंकिङ क्षेत्रलाई कठिन मोडमा पुर्‍याएको छ । संस्थाको कमजोर आन्तरिक नियन्त्रणले सञ्चालन जोखिमलाई निम्त्याइरहेको हुन्छ । सञ्चालन जोखिम व्यवस्थापन सम्बन्धी दायित्व सम्बद्ध संस्थाको व्यवस्थापन र कर्मचारी र सञ्चालक समितिमा समेत हुन्छ । बैंकिङ क्षेत्रको जोखिम प्रहरी र प्रशासनले मात्र नियन्त्रण गर्न सक्दैन तर पनि प्रहरीको सक्रियता र कार्यान्वयन प्रंशसनीय छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको इ.प्रा.निर्देशन नं. ५/०७४ अनुसार इजाजतपत्रप्राप्त संस्थाहरूले आफ्नो कारोबारसँग सम्बद्ध सञ्चालन जोखिमलाई व्यवस्थापन गर्न प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा सूचना प्रणालीको विकास गर्नुपर्नेछ । साथै, आन्तरिक लेखापरीक्षकले प्रत्येक शाखा÷विभाग÷कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा सञ्चालन जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न अवलम्बन भएका उपायहरूको पर्याप्तताको सम्बन्धमा समेत टिप्पणी गरेको हुनुपर्नेछ । सूचना प्रविधिबाट हुन सक्ने सञ्चालन जोखिमलाई न्यूनीकरण गर्ने व्यवस्थालाई बढी प्रभावकारी बनाई सोको निरीक्षण तथा सुपरिवेक्षणलाई व्यवस्थित गर्न सूचनाप्रविधि सम्बन्धी मार्गदर्शन जारी गरिएको छ । त्यस्तै तरलता व्यवस्थापन, कर्जा व्यवस्थापनमा, मर्जर र एक्वीजिशनमा समेत केन्द्रीय बंैकबाट कडा निर्देशन छ तापनि कार्यान्वयन प्रभावकारी देखिँदैन । 

बैंक तथा वित्तीय संस्थाहरूमा सञ्चालन जोखिम बढ्दै जाने प्रमुख कारण आन्तरिक नियन्त्रण प्रणाली चुस्त र दुरुस्त नहुनु हो । सुशासन पनि कमजोर हुँदै जानु हो । त्यस्तै वित्तीय विवरण, शाखा तथा केन्द्रीय व्यवस्थापन पक्षको जोखिमप्रति राम्रो विश्लेषण र निगरानी नहुनु, नियामक निकायको कमजोर नियन्त्रण प्रणाली पनि कारक मानिन्छ । लेखापरीक्षणमा दक्ष जनशक्तिको अभाव, जोखिम भारित सम्पत्तिको आधारमा पूँजी पर्याप्तताको अभाव, कम्पनीमा कार्यरत जनशक्ति दक्ष नहुनु, आपराधिक गतिविधिमा बैंक कर्मचारीको संलग्नताले पनि जोखिम बढको छ । यसले बैंकको उत्पादकत्व, बजार शाख र नाफामा समेत असर गर्छ । पूँजी वृद्धि, आन्तरिक तथा बा≈य लेखापरीक्षण सञ्चालन जोखिम कम गर्न अपनाइएका विधिहरू हुन् । आन्तरिक र बा≈य जालसाजी, पदीय दुरुपयोग, भौतिक सम्पत्तिको नोक्सानी, कार्यान्वयन, वितरण र प्रक्रियागत व्यवस्थापनमा फितलोपना आदिबाट आन्तरिक जोखिम वढ्छ । जोखिम वहन गर्ने नाममा हालका दिनहरूमा जथाभावी लगानी गरी नाफा कमाउनेमात्र बढी संलग्नता हुँदा बैंकलाई झनै नोक्सानी र बजार शाख कमजोर गराएको देखिन्छ । 

बैंकभित्रका सञ्चालन जोखिमहरूलाई कम गर्न कम्प्लायन्स विभाग, जोखिम व्यवस्थापन विभाग समेत स्थापना गरिएको पाइन्छ । सञ्चालन जोखिमलाई स्वीकार्य तहसम्म कायम गर्न न्यून लागतका उपायहरू अवलम्बन गरिनुपर्छ । आचार संहिता निर्माण, अधिकार प्रत्यायोजन, कार्यविभाजन, लेखापरीक्षण, कम्प्लायन्स, ग्राहक गुनासो जस्ता पक्षमा ध्यान दिए जोखिम न्यूनीकरण हुन सक्छ । तर, नेपालको बैंकिङमा सहभागितामूलक व्यवस्थापन, जिम्मेवारी र प्रभावकारिताको अवस्था कमजोर छ । बैंक तथा वित्तीय संस्थाको पूँजी एव बजार शाखमा समेत यसखालको जोखिमले गम्भीर असर पु¥याउँछ । आन्तरिक जालसाजी, बाह्य जालसाजी, कर्मचारीको अनुशासनहीनता, गोपनीयता एवम् सूचनाको दुरुपयोग, कर्मचारीको आन्तरिक कमीकमजोरी जस्ता पक्षले संस्थाको शाखलाई कमजोर बनाउँछ । 

नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिको समीक्षा अनुसार केन्द्रीय बैंकले बैंकिङ क्षेत्रमा देखिएको आन्तरिक जोखिमलाई कम गर्न चालेका कदमहरूको मूल्यांकन गर्दा सुधारोन्मुख रहेको देखिन्छ । सुशासनको मात्रामा समेत सुधार देखिन्छ जसले सञ्चालन जोखिमलाई कम गर्छ । तर, अपेक्षित सुधार भने छैन । नीति निर्माण र निर्देशनबाट मात्र जोखिम कम गर्न सकिँदैन । नियमित निरीक्षण र अनुगमन एवम् कर्मचारीसँग सामूहिक छलफल आवश्यक हुन्छ । । कर्मचारीहरूको मनोबल उच्च राख्ने काममा समेत ध्यान दिनुपर्छ । आन्तरिक जोखिम कम गर्ने बैंकहरूले प्रविधिको प्रयोग बढाउनुपर्छ । यी विविध पक्षको कार्यान्वयन पक्ष अति कमजोर रहेको हुँदा विभिन्न चोरी, बैंकिङ ठगी, एटीएम ह्याकिङजस्ता कार्य बेलाबेलामा भइरहेका देखिन्छन् । नियमित कारोबारको भेरिफिकेशन, प्रविधिको मर्मत सम्भार, कर्मचारीसँग नियमित बैठक, निरीक्षण एवम् अनुगमनको अवस्था पनि कमजोर देखिन्छ । 

आकर्षक ब्याज र पुरस्कारको लोभ देखाएर हामी निक्षेप त संकलन गर्छौं । तर, ग्राहक वर्गलाई भने बैंकमा रकम राखेपछि पनि शतप्रतिशत ढुक्क हुने अवस्था छैन । कहिले सम्पत्ति शुद्धीकरणको नाममा रकम रोक्का हुन्छ त कहिले एटीएमबाट चोरी हुन्छ । कहिले कर्मचारीको गलत रकम इन्ट्रीले अर्कैको खातामा जान्छ त कहिले फर्जी कागज बनाएर नक्कली हस्ताक्षर गरी रकम बाहिरिन्छ । ग्राहकले उक्त रकम शोधभर्ना पाउन भने महीनौं बैक धाउनुपर्ने अवस्था छ । यी समस्या आउनुमा आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापनकै कमजोरी हो भन्नु असान्र्दभिक नहोला । 

आन्तरिक जोखिममा बाह्य कारणभन्दा पनि सम्बद्ध बैंकको सञ्चालक समिति, व्यवस्थापन, कार्यरत कर्मचारीको कमजोरी देखिन्छ । कर्मचारीहरूले नैतिक आचरण र जडान गरिको प्रविधिको प्रभावकारिता एवम् नियमितता नहुँदा पनि जोखिम बढ्छ । सञ्चालन जोखिम बैंकको दैनिक कारोबारको सिलसिलामा सृजना हुनसक्ने आन्तरिक जोखिम हो । यसले बैंकको तरलता, सञ्चालन मुनाफा र पूँजी पर्याप्ततामा समेत नकारात्मक असर पर्न सक्छ । सम्भावित सञ्चालन जोखिमको मात्रा तथा असरको आधारमा कठिनभन्दा कठिन परिस्थितिको सामना कसरी गर्ने भन्ने सन्दर्भमा स्पष्ट रणनीतिक योजना आवश्यक हुन्छ । केन्द्रीय बैंक तथा सम्बद्ध बैंक तथा वित्तीय संस्थाले यस्तो योजना बनाउनुपर्ने हुन्छ । तसर्थ कारोबारको परिमाण र वित्तीय संस्थाहरूको संख्यात्मक विस्तार मात्र होइन, सूचना र प्रविधिको क्षेत्रमा भएको चामत्कारिक परिणामको कारण बैंकहरूले ग्राहकहरूलाई अफर गर्ने सेवा र कारोबारको आधुनिकीकरण सँगै जोखिमको प्रकृति र मात्रा पनि बढ्दै गएको छ । त्यसैले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सुपरिवेक्षकीय क्षमतालाई अझ विस्तार गर्नु जरुरी भइसकेको छ । 

लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी विज्ञ हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्