arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घट्यो औद्योगिक कच्चा पदार्थको आयात

पहिलो ४ महीनामा स्टील, फलाम र कोइलाको आयात ह्वात्तै घटेको भन्सार विभागको तथ्यांक

Dec 1, 2019  
समाचार
Image Not Found
author avatar निकेश खत्री

काठमाडौं । पछिल्ला वर्षमा अर्थतन्त्र चलायमान बनाउने निर्माण क्षेत्रमा शिथिलता आउँदा प्रमुख औद्योगिक कच्चा पदार्थको आयात खुम्चिन पुगेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा स्टील तथा फलाम र कोइलाको आयात ह्वात्तै घटेको छ । पछिल्लो समय स्टील, छड र सिमेन्टको बजार अपेक्षाकृत विस्तार नहुँदा त्यसको असर यी वस्तुको उत्पादनमा परेको यी वस्तुको कच्चा पदार्थमा आयातमा आएको कमीले देखाउँछ । पहिलो ४ महीनामा स्टील तथा फलामको आयात ३३ प्रतिशत र कोइलाको आयात ३७ दशमलव ५ प्रतिशतले घटेको छ । 

तथ्यांकअनुसार अघिल्लो आवको ४ महीनामा रू. ५२ अर्ब ६५ करोडको स्टील र फलाम आयात भएको थियो, जुन यस आवमा घटेर रू. ३५ अर्ब १४ करोडमा सीमित भएको छ । त्यस्तै, अघिल्लो आवमा रू. ५ अर्ब ९३ करोड रहेको कोइलाको आयात यस वर्ष रू. ३ अर्ब ७१ करोडमा झरेको छ ।

नेपालमा स्टील, फलाम र कोइलाको माग अघिल्ला वर्षहरूको तुलनामा घटेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । ‘प्रमुख औद्योगिक कच्चा पदार्थको आयातमा आएको कमीले नेपाली अर्थतन्त्र ‘स्लो डाउन’तिर उन्मुख भएको संकेत गर्छ,’ उनले बताए । 

सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाले बजारमा सिमेन्टको माग घट्दा त्यसको प्रत्यक्ष प्रभाव कोइला आयातमा परेको बताए । ‘सिमेन्टको माग घट्दा उत्पादन कम भएको छ । त्यही भएर सिमेन्टको कच्चा पदार्थका रूपमा प्रयोग हुने कोइलाको आयात घटेको हो,’ उनले बताए ।

स्टील उद्यमीहरू बजारमा प्रतिस्पर्धा बढेको तर माग स्थिर रहँदा स्टीलको बजार समग्र प्रभावित हुनपुगेको बताउँछन् । पञ्चकन्या स्टीलका वरिष्ठ उत्पादन अधिकृत मिलन थापाले बजारमा स्टील र फलामको माग ४० प्रतिशतले घट्दा कच्चा पदार्थको आयात पनि घटेको बताए । उनले भने, 

‘रियल इस्टेट र निर्माण कार्य सुस्ताएकाले पनि स्टीलको माग घटेको छ । अधिकांश स्टील उद्योग अहिले घाटामा छन् । 

इस्टर्न कसमस सिमेन्टका कार्यकारी निर्देशक प्रबलजंग पाण्डेले आयात मात्र नभई अर्थतन्त्रका सबै क्षेत्र नै ओरालो लागेको बताए । ‘सिमेन्ट उद्योग, स्टील र फलाम उद्योग, इँटा उद्योग सबै घाटामा सञ्चालन भइरहेका छन् । शेयरबजार विगत २ वर्षदेखि ओरालो लाग्दो अवस्थामा छ भने रियल इस्टेट व्यवसाय पनि खुम्चिएको छ,’ उनले बताए ।

उद्यमी/व्यवसायीहरू सरकारले पूँजीगत खर्चलाई गति दिन नसक्दा निर्माण सामग्रीको बजार खुम्चिन पुगेको बताउँछन् । सरकारी खर्चको आँकडा राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार  पहिलो ४ महीनामा पूँजीगततर्पm ६ दशमलव ७६ प्रतिशत मात्रै खर्च भएको छ ।

मुलुकको विकास खर्चमा ठूलो अंश राख्ने मन्त्रालयहरूको पूँजीगत खर्चको अवस्था झनै निराशाजनक छ । मुख्य विकासे अड्डा मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगततर्फ २ दशमलव १० प्रतिशत मात्र बजेट खर्च गरेको छ भने पर्यटन मन्त्रालय तथा ऊर्जा मन्त्रालयको पूँजीगत खर्च क्रमशः  ६ दशमलव ५ तथा ५ दशमलव ८ प्रतिशतमा सीमित छ ।

बजार शिथिल हुँदा व्यवसायको समग्र चक्र नै प्रभावित भएको व्यवसायी पाण्डे बताउँछन् । ‘कुनै क्षेत्रमा थप लगानी आउने वातावरण छैन’, पाण्डेले भने । पहिलो चौमासिकमा विकास खर्च अत्यन्त न्यून भएकाले बजारमा पैसा छैन, जसले गर्दा बजारबाट सामानको पैसा फिर्ता हुने समय पनि लम्बिएको छ ।’

निर्यात २३.९ ले बढ्यो 
मुलुकको निर्यातमा आएको सुधारले पहिलो ४ महीनामा निरन्तरता पाएको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालबाट रू. ३६ अर्ब २७ करोड बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो आवको यसै अवधिको तुलनामा रू. ७ अर्बले बढी हो । 

निर्यात दोहोरो अंकमा बढ्दा तथा आयात करीब ७ प्रतिशतले घट्दा मुलुकको समग्र व्यापारघाटा करीब ९ प्रतिशतले कम भएको छ । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा समग्र निर्यात बढे पनि त्यसबाट खुशी भइहाल्न पर्ने अवस्था नआएको बताउँछन् । आयातित पाम आयल र भटमास आयलले बढाएको निर्यात वृद्धि दीर्घकालीन नहुने उनको तर्क छ । 

यस अवधिमा नेपालबाट रू. ८ अर्ब ३६ करोडको पाम आयल, रू. २ अर्ब ७९ करोड रुपैयाँको धागो, रू. २ अर्ब ६२ करोडका गलैंचा र कार्पेट, रू. २ अर्ब १६ करोडका तयारी कपडा र रू. २ अर्ब २ करोडको प्रशोधित भटमासको निर्यात भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्